एमालेका प्रमुख सचेतक भन्छन्- २२ जनासम्म मन्त्री बनाउँछौं, अष्टलक्ष्मीको सरकारमा राजेन्द्र पाण्डे बरिष्ठ मन्त्री – Nepal Press

एमालेका प्रमुख सचेतक भन्छन्- २२ जनासम्म मन्त्री बनाउँछौं, अष्टलक्ष्मीको सरकारमा राजेन्द्र पाण्डे बरिष्ठ मन्त्री

काठमाडौं । नेकपा एमालेले वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढल्न नदिन ठूलो आकारको मन्त्रिपरिषद बनाउने तयारी गरेको छ । प्रदेशसभा सदस्यहरुले विभाजित दल रोज्न पाउने अन्तिम दिन २२ गतेपछि मन्त्रिपरिषदले पूर्णता पाउने एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बताए ।

उनले संविधानले दिएको सिमाभित्र रहेर २२ सदस्यीयसम्मको मन्त्रिपरिषद बनाउन सकिने बताए । अहिले नै कति मन्त्रलाय बनाउने भन्ने टुंगो नलागे पनि २२ जनासम्मलाई मन्त्री बनाउन सकिने र त्यसकै सेरोफेरोमा हुने निरौलाले बताए ।

उनले भने, ‘हामी अहिले छलफलमै छौं, हाम्रो पार्टी विभाजित भएकाले अब संयुक्त सरकार बनाउनुपर्ने हुन्छ । प्रदेशसभाका हाम्रा सांसदहरुलाई पार्टीमै राख्ने प्रयास भइरहेको छ । अरु साना दलसँग पनि सहमति गरेर चाँडै मुख्यमन्त्रीले विश्वासको मत लिनुहुन्छ र २२ जनासम्म मन्त्री बनाएर भने पनि सरकार पूरै अवधि टिकाउँछौं ।’

विगतमा माधव नेपाल समूहमा एमालेका प्रदेशसभा सदस्यहरु धेरैले दुवैति मन्त्रीको बार्गेनिङ गरिरहेका छन् । राजेन्द्र पाण्डे, मुनु सिग्देल, वसन्त मानन्धर, बसुन्धरा हुमागाईं लगायत केही सांसदलेमात्र अहिलेसम्म नेकपा एस रोजेका छन् । अरु दुवैतिर छलफलमा छन् ।

निरौलाले भने केपी ओली र माधव नेपाल दुवैको समर्थनमा अष्टलक्ष्मी मुख्यमन्त्री बनेकाले नेकपा एसले उनलाई नै निरन्तरता दिने दावी गरे । शाक्यलाई मुख्मन्त्री बनाउने सहमति राजेन्द्र पाण्डे, अरुण नेपाल, केशव पाण्डे र आफूसहितको कार्यदलले गरेको हुनाले पाण्डे पनि सहमतिबाट पछि हट्न नमिल्ने उनले बताए ।

निरौलाले नेपाल प्रेससँग भने, ‘राजेन्द्र कमरेडलाई मुख्यमन्त्रीपछिको बरिष्ठतम मन्त्री बनाउने समझदारी छ । उहाँसहितको कार्यदलले सहमति गरेर अहिलेको मुख्यमन्त्री र तत्कालीन मुख्यमन्त्रीले हुन्छ भनेपछि हामीले शीर्ष नेतालाई मनाएका हौं । त्यसैले यो सरकार उहाँहरुको पनि हो ।’

राप्रपा, नेपाल मजदूर किसान पार्टी र विवेकशील साझा पार्टीसँग पनि सरकारलाई निरन्तरता दिनेबारेमा छलफल भइरहेको उनले बताए । वागमती प्रदेशसभामा एमालेका ५६, माओवादीका २३, कांग्रेसका २२, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाका एक सांसद छन् ।

एमालेका कति सांसदले नेकपा एस रोज्छन् भन्ने कुरा भदौ २२ गतेपछि मात्र प्रष्ट हुनेछ । पाण्डेले नेकपा एसमा ११ जना सांसद रहने दावी गरेका छन् । तर दुवै पक्षसँग कतिपय सांसदले मन्त्री पदको माग गरिरहेका छन् । शाक्य पहिलो महिला मुख्यमन्त्री र विगतमा प्रचण्ड–माधवको पक्षमा उभिएका कारण पनि उनलाई निरन्तरता दिन नैतिक रुपमा पनि बाध्य हुने तर्क उनको छ ।

एमालेले नेकपा एसमा ५ जना भन्दा बढी सांसद जान नदिने गरी एकातिर पहल गरिरहेको छ भने अर्कोतिर साना दलको समर्थन लिएर सरकार टिकाउन छलफल चलाइरहेको छ ।

यसैबीच माओवादी अध्यक्ष प्रचण्डलाई केही उनी निकटहरुले भेटेर तत्काल अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीबाट हटाउनेतर्फ नलाग्न सुझाव दिएका छन् । अमृत बोहोरासँग लामो समय नजिक रहेका एक माओवादी नेताले प्रचण्डलाई यस्तो सुझाव दिएको पुष्टि गरे ।

अर्कोतर्फ वागमतीको सरकार ढालेर नेकपा एसले नेतृत्व गर्ने कि कांग्रेसले भन्ने विवाद पनि निस्किएको छ । कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाले महाधिवेशनसम्म भने पनि आफूलाई मुख्यमन्त्री बनाउन आग्रह गरे पनि त्यसमा सहमति नभएकाले उनी आफैं पनि शाक्यको सरकार ढाल्न इच्छुक देखिएका छैनन् ।

बानिया एमाले नेताहरुसँग संवादमा छन् ।


प्रतिक्रिया

One thought on “एमालेका प्रमुख सचेतक भन्छन्- २२ जनासम्म मन्त्री बनाउँछौं, अष्टलक्ष्मीको सरकारमा राजेन्द्र पाण्डे बरिष्ठ मन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर