सरसफाई अभियानको फिल्डमा महानगरका प्रमुख प्रशासकीय अधिृकत ज्ञवाली – Nepal Press

सरसफाई अभियानको फिल्डमा महानगरका प्रमुख प्रशासकीय अधिृकत ज्ञवाली

काठमाडौं । नयाँ बनेश्वर, विजुली बजार, माइतीघरलगायतका स्थानमा आज एकै खाले पोशाक लगाएर काठमाडौं महानगरपालिकाका नगर प्रहरीको हुल सरसफाई अभियानमा जुटिरहेको थियो ।

त्यहि हुलमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नगर प्रहरी प्रमुख धनपति सापकोटा र काठमाडौं महानगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल पनि सँगै भेटिए ।

उनीहरु सबै जना २९ औँ महानगर प्रहरी दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सरसफाई अभियानमा सहभागी भएका थिए ।

नगर प्रहरीहरुसँगसँगै तीनकुनेदेखि माइतीघर मण्डलासम्मको सडकको बिचका घरी आइल्याण्डको झार उखेल्दै त घरी बोट–विरुवा काँटछाट गर्दै अनि कुनै बेला नगर प्रहरीलाई निर्देशन दिदैँ ज्ञवालीले त्यहाँ करीब २ घण्टा विताए ।

अभियानकै सिलसिलामा ज्ञवालीले महानगर प्रहरी दिवसको आवसर पारेर हरियाली प्रवर्द्धनका लागि सरसफाई अभियान सञ्चालन गरी वातावरणीय सुधारका सन्देश दिने प्रयास गरेको जानकारी दिए ।

‘काठमाडौं महानगरपालिकाले लडकडाउनका समयमा सहर बढार्ने, फोहोर संकलन तथा अन्तिम व्यवस्थापन गर्ने, झार उखेल्ने जस्ता नियमित सरसफाइका काम गर्दै आएको थियो,’ ज्ञवालीले भने, ‘आज नगर प्रहरी दिवसको अवसर पारेर काठमाडौँको यो मुख्य सडकमा सहरी सौन्दर्यीकरण र हरियाली बढाएर वातावरणीय सुधार गर्ने प्रयास स्वरुप सरसफाइ गरेका हौँ ।’

गत वर्षदेखि माइतीघर मण्डलादेखि तीनकुनेसम्मका सडकका विचका आइल्याण्डमा बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसम अनुसारका फूलका बोट र विरुवाहरू लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह र रेखदेख गर्ने कार्य महानगरपालिकाले नै गर्दै आएको ज्ञवालीले जानकारी दिए ।
नगर प्रहरी प्रमुख सापकोटाले पनि महानगर दिवसको अवसर पारेर माइतीघर मण्डलादेखि तीनकुनेसम्म १ सय ६० जना नगर प्रहरी परिचालन गरेर सरसफाइ अभियान सञ्चालन गरेको जानकारी दिए ।

‘यस अघि पनि हरियाली प्रवर्द्धनका लागि महानगरले आइल्याण्ड मर्मतसम्भार तथा व्यवस्थापनको काम गर्दै आएको थियो,’ सापकोटाले भने, ‘आज २९ औँ नगर प्रहरी दिवसको अवसर पारेर हामीले यो इलाकामा सरसफाई अभियान चलाएका हौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *