सत्तारुढ गठबन्धन बैठक : पर्सिसम्म मन्त्रिपरिषद् विस्तार – Nepal Press

सत्तारुढ गठबन्धन बैठक : पर्सिसम्म मन्त्रिपरिषद् विस्तार

 दार्चुला घटनाको प्रतिवेदन छिटो सार्वजनिक गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । पर्सिसम्म मन्त्रिपरिषद् विस्तार गरिने भएको छ । सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तय भएको हो । बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एक/दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको बताए ।

‘मन्त्रिपरिषद पूर्णतामा ढिलाइ भयो भन्ने कुरा भयो,’ श्रेष्ठले नेपाल प्रेससँग भने, ‘छिटो पूर्णता दिनुपर्‍ यो भन्नेमा सबैको जोड थियो । अब एक/दुई दिनमै पूर्णता दिने कुरा भएको छ ।’

उनले सत्तारुढ गठबन्धनलाई स्थायित्व दिने विषयमा पनि छलफल भएको बताए। त्यसका लागि कमिटी बनाइने उनको भनाइ छ । यसअघि माओवादीले उठाउँदै आएको राजनीतिक संयन्त्र हो भन्ने प्रश्नमा श्रेष्ठले सरकार संचालनका लागि नभइ गठबन्धन संचालनका लागि कमिटी बनाउन लागिएको जानकारी दिए ।

बैठकमा जयसिंह धामी बेपत्ताबारे अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति नेताहरूले असन्तुष्टी जनाएका थिए ।

श्रेष्ठले पनि बैठकमा यसबारे कुरा उठेको र छिट्टै प्रतिवदेन सार्वजनिक गरेर भारतसँग वार्ता गर्न भनेको जानकारी दिए । ‘जयसिंह धामीबारेको प्रतिवेदन सार्वजनिक छिटो गरेर नेपालले आफ्नो धारणा तय गर्नुपर्‍यो र भारतसँग वार्ता गर्नुपर्‍यो भन्ने कुरा उठेको छ,’ उनले भने ।

त्यस्तै बैठकमा केपी ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन विधेयक ल्याएर परिवर्तन गर्नेबारे पनि छलफल भएको श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर