पूर्वाधारमा हेपिएको पश्चिम सुर्खेत, नेतालाई भोट माग्ने भाँडोमात्र बन्यो सडक र विजुली – Nepal Press

पूर्वाधारमा हेपिएको पश्चिम सुर्खेत, नेतालाई भोट माग्ने भाँडोमात्र बन्यो सडक र विजुली

सुर्खेत । पश्चिम सुर्खेतमा तीनवटा गाउँपालिका छन् । यो विकट क्षेत्र सडक र विजुलीजस्ता अत्यावश्यक पूर्वाधार नै पर्याप्त हुन नसक्दा नागरिकको जीवनस्तर स्तरोन्नत्ति हुन सकेको छैन । यस क्षेत्रबाट निर्वाचित हुनेहरु प्रदेशका मन्त्रीसमेत भइसके तर उनीहरु आफ्नो चुनावी प्रतिवद्धता पूरा गर्न दत्तचित्त देखिएनन् ।

भौतिक पूर्वाधारमा सबैभन्दा महत्वपूर्ण मानिने सडक सञ्जाल वीसौं वर्ष पहिले निर्माण भए पनि स्तरोन्नति नहुँदा यसक्षेत्रका हजारौं नागरिकले सास्ती व्यहोर्दै आएका छन् ।

बराहताल गाउँपालिका, पन्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका नागरिकका लागि बड्डीचौर– चौकुने सडकखण्डका नाममा नेताहरुले बारम्बार मत माग्ने गरे पनि चुनाव जितेपछि बेवास्ता गर्ने गरेको स्थानीयको आरोप छ ।

२०४८ सालमा नेपाली कांग्रेसबाट सांसद बनेका शिवराज जोशी २०५६ सालसम्म सांसद रहे । यहीँका जनताको विश्वास जितेर मन्त्रीसमेत बनिसकेका छन् ।

२०६४ सालमा तत्कालीन नेकपा माओवादीका तर्फबाट नरबहादुर विष्ट सांसद बनेका थिए । २०७० सालमा कांग्रेसबाट उम्मेदवार भइ विजेता बनेका स्व. तप्तबहादुर विष्ट राज्यमन्त्रीसम्म भए ।

२०७४ सालमा एमालेबाट निर्वाचन लडेका नवराज रावत राज्य मन्त्री भएका थिए । सोही निर्वाचन क्षेत्रबाट माओवादीका नेता बिन्दमान विष्ट प्रदेश सभा सदस्य छन् । उनी प्रदेश सरकारको मन्त्रीका दावेदारका रुपमा छन् भने सोही क्षेत्रका यज्ञबहादुर बुढा क्षेत्री हाल कर्णाली प्रदेशको मन्त्री मण्डलमा सामाजिक विकास मन्त्रीको रुपमा रहेका छन् ।

कर्णाली प्रदेश सभामा उपसभामुखको रुपमा पुष्पा घर्ती रहेको समयमा पनि यस क्षेत्रको कुनै पनि विकास निर्माणमा देखिने खालको परिवर्तन हुन नसकेको स्थानीयको गुनासो रहेको छ ।

‘चुनावमा सडक बनाउँछौं, विजुली बाल्छौं भनेर प्रतिबद्धता गर्ने नेताहरु चुनावपछि वास्ता नै गर्दैनन् । यस क्षेत्रका लागि विकास र परिवर्तनको मेरुदण्डको रुपमा लिन सकिने सडक विकासमा कसैको पनि चासो देखिएको छैन । अलिकति पानी परेको खण्डमा सडक अवरुद्ध हुने गरेको छ । खोलामा बाढी आउने गरेको छ,’ चौकुनेका नन्दु खनालले नेपालप्रेससँग भने, ‘यति मात्रै होइन, वर्षौं देखि विजुली लिनका लागि पोल गाडिएका छन्, विजुली पुग्ने कुनै सम्भावना देखिएको छै । सुर्खेत, दैलेख हुँदै जुम्ला पुगेको प्रसारण लाईन बीरेन्द्रनगर देखि मुस्किलले २८ किलोमिटर टाढा रहेको बडडीचौरमा समेत पुर्‍याउन सकेका छैनन् ।’

तीनै पालिकामा विजुली नपुगेका कारण फोन सम्पर्क समेत हुन सक्दैन । चौकुने गाउँपालिकाका नागरिकले फोन गर्न पनि महाभारतको लडाई लडनुपर्ने अवस्था आइरहेको खनालको भनाई थियो ।


प्रतिक्रिया

One thought on “पूर्वाधारमा हेपिएको पश्चिम सुर्खेत, नेतालाई भोट माग्ने भाँडोमात्र बन्यो सडक र विजुली

  1. सबै भ्रस्ट चोरहरु मिलि जुलि आफ्नो झोली हेर्ने मात्र छ्न अनि कहाँ देखि बिकास हुन्छ जुन जोगि आयपनी कनै चिरेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर