भरतमणि, विक्की अग्रवाल र सन्तोष पन्त – Nepal Press

भरतमणि, विक्की अग्रवाल र सन्तोष पन्त

टीभी रियालिटी शो कमेडी च्याम्पियनको दोस्रो सिजन टुंगोमा पुग्न लाग्दा यसको चर्चा र लोकप्रियता पनि उत्कर्षमा छ । शनिबारको एपिसोडले त सामाजिक सञ्जालमा नै एकप्रकारको तरंग ल्याइदियो र ट्रेन्डिङको शीर्षस्थानमा पुग्न सफल भयो ।

प्रतियोगितामा अन्तिम ४ प्रतियोगी बाँकी छँदा उपाधिका प्रमुख दावेदारका रुपमा हेरिएका छन्, भरतमणि पौडेल र विक्की अग्रवाल । अन्य दुई प्रतियोगी सन्तोष थापा र हिक्मत महरा उनीहरुको ओझेलमा परेका छन् । यसको अर्थ उनीहरु कमजोर छन् भन्ने चाहिँ होइन ।

भरतमणि टप–४ बाट उत्कृष्ट भएर फाइनलमा प्रवेश गरिसकेका छन् । अब बाँकी विक्की, सन्तोष र हिक्मतमध्ये दुईजना भरतमणिसँग फाइनलमा भिड्नका लागि जनताको भोटबाट छानिनेछन् । यदि त्यसमा विक्की छानिएन् भने आश्चर्य मानिनेछ ।

दोस्रो सिजनको सुरुवातदेखि नै भरतमणि र विक्की दर्शकको रोजाइमा थिए । अर्का चर्चित प्रतियोगी सुन्दर खनाल अनपेक्षितरुपमा छिट्टै आउट भएपछि दर्शकको आकर्षण यी दुईमा बढी केन्द्रित देखिएको छ ।

उनीहरु दुवै आ–आफ्ना विशेषताका कमेडियन हुन् र शैलीगतरुपमा धेरै भिन्नता बोकेका छन् । भरतमणि ठूलो समूहमा खपत हुने प्रस्तुति दिन्छन् भने विक्कीको प्रस्तुतिले खासगरि शहरी युवाहरुलाई आकर्षित गर्छ ।

विक्की अग्रवालः सिक्किमका हिरा

विक्की सिक्किमका युवा हुन् । उनीसँगै अरु केही नेपालीभाषी प्रतियोगीहरु भारतबाट आएका थिए । अरु बाहिरिए पनि विक्की अन्तिमसम्म लडिरहेका छन् ।

विक्कीको कमेडी च्याम्पियन यात्रा बाह्य कारणले पनि निकै महत्वपूर्ण छ । उनी नेपाली मूलका भारतीय हुन् । उनीसँग नेपाली नागरिकता छैन, तर नेपाली रगत छ । भारतका नेपालीभाषीलाई नेपालसँग भावनात्मकरुपमा नजिक्याउने सम्वन्धसेतु बन्न सक्छन् उनी । यस्ता कलाकारहरुबाट भोलीका दिनमा नेपाली बहुल भारतीय क्षेत्रमा नेपाली कलाकारीताको थप फैलावट हुनसक्ने अपेक्षा राख्न सकिन्छ ।

कमेडी च्याम्पियनकै लागि नेपाल आएका विक्कीका लागि प्रतियोगिता बढी चुनौतिपूर्ण किन थियो भने नेपालको जनजीवन र यहाँका विषयवस्तुमा उनी अभ्यस्त थिएनन् । तर, चाँडै नै उनले नेपाली विषयवस्तुहरु टपक्क टिपेर आफ्नो प्रस्तुतिमा ढाले जुन उनको सवल पक्ष हो ।

स्ट्यान्ड अप कमेडीमा विक्कीको टाइमिङ असाध्यै राम्रो छ । सानो-सानो कुरामा खेलेर उनले पञ्चलाइनहरु सिर्जना गर्न सक्छन् । उनी एउटा ‘मोर्डन डे’ कमेडियन हुन्, जो नयाँ-नयाँ प्रयोग गर्न रुचाउँछन् । मुख बङ्ग्याएर अनि आवाज विगारेर गरिने परम्परागत कमेडीमा उनको रुची छैन । विक्की स्टेजमा ‘कुल’ र ‘स्टाइलिस’ तवरले पेश हुन्छन् । साथै उनको सिक्कमे लवजले सुनमा सुगन्ध थपेको छ ।

विक्कीको ‘रोस्ट’ निकै शक्तिशाली हुने गर्छ । कमेडी च्याम्पियनका जजदेखि कार्यक्रममा आएका पाहुनाहरुलाई उनले ‘पानी छम्किनुपर्ने गरी’ रोस्ट गरेका छन् ।

जस्तै, वर्षा राउत र उनका श्रीमान सञ्जोग कोइरालालाई उनले यसरी रोस्ट गरेका थिएः

‘हेल्लो वर्षाजी, म तपाईंको इन्डियाको फ्यान । हेल्लो सञ्जोगजी, सरी मैले तपाईंलाई बाहिर भेट्दा चिन्न सकिनँ । र, अहिले भित्र भेट्दा पनि चिन्न सकिनँ ।’

भरतमणिलाई रोस्ट गर्दै विक्कीले भनेका थिए, ‘अगर मान्छेको ट्यालेन्ट भुत्लामा काउन्ट गर्ने हो भने उ ट्यालेन्टेड हो गाइज । यो मान्छेको यति धेरै भुत्ला छ कि भुत्लाको पनि भुत्ला छ ।’

कमेडी च्याम्पियनमा विक्कीको इन्ट्री नै बबाल भएको थियो । फिजिकल अडिसनमा उनले आफैंमाथि व्यंग्य गरेका थिए । उनका केही पञ्चलाइन यस्ता थिएः

‘मान्छेको नराम्रो दिन हुन्छ, नराम्रो समय हुन्छ, तर मेरो नराम्रो जन्म चल्दैछ ।’

‘कि मलाई पुरै नेपाली बनाउनुपर्थ्यो म ह्यान्डसम हुन्थेँ होला । कि मलाई पुरै मारवाडी बनाउनुपथ्र्यो, म धनी हुन्थेँ होला ।’

‘कुम्भकर्णपछि केही कुरा मज्जाले सुतेको छ भने त्यो मेरो किस्मत हो ।’

पहिलो प्रस्तुतिबाटै प्रभावित भएर निर्णायकहरुले विक्कीलाई सिधै टप २४ मा पुग्ने गरी ‘गोल्डेन की’ दिएका थिए ।

कमजोरीको कुरा गर्दा विक्कीको क्षमताको एउटा सीमा छ । कथाको मागअनुसार आफ्नो हाउभाउ र आवाज परिवर्तन गर्ने तथा अरुको नक्कल गर्ने खुबी उनमा देखिएको छैन । उनको संवाद सम्प्रेषण सँधै एकैप्रकारको हुनेगर्छ । उनी धेरै ठाउँमा मुसुमुसु हँसाउन सक्छन्, तर लगातार खित्का छोडेर हँसाउने प्रस्तुति उनका कम छन् ।

भरतमणिः कमेडीका फुल प्याकेज

भरतमणि ताप्लेजुङका प्रतिभा हुन्, जो कमेडी च्याम्पियनमा आउनुअघि यस क्षेत्रमा आफूलाई चिनाउन संघर्षरत थिए । युट्युवमा उनका केही भिडियो पहिल्यै हिट भइसकेका थिए । यद्यपि, कमेडी च्याम्पियनको मञ्च पाएपछि उनको पहिचान रातारात उचाइमा पुगेको छ ।

भरतमणिको फिजिकल अडिसन सामान्य थियो । तर, त्यसपछिका प्रस्तुतिहरुमा उनले आगो बाले । एपिसोड ६ मा उनले गरेको पुण्य गौतम र हिमेश पन्तको क्यारिकेचरले धुम मच्चाएको थियो । त्यहीँबाट उनी दर्शकको नोटिसमा पर्न थालेका हुन् ।

उक्त प्रस्तुतिमा कमेडी च्याम्पियनका पूर्वविजेता हिमेशलाई व्यंग्य गर्दै भरतमणिले भनेका थिए, ‘कमेडी च्याम्पियनले खासमा पुरस्कार नै गलत राखेको हो । कार होइन, ट्याक्टर राख्नुपर्थ्याे, हिमेशले कम्तिमा खेत जोतेर जीविका चलाउँथे ।’

१५ औं एपिसोडमा भरतमणिले आफ्नो बेस्ट दिए । त्यसमा उनले पूर्वराजा ज्ञानेन्द्रसहित विभिन्न नेताहरुको दुरुस्त क्यारिकेचर गरेका थिए । र, त्यसमा कन्टेन्ट पनि उत्तिकै बलियो थियो ।

भरतमणिले गरेको गोकुल बास्कोटाको क्यारिकेचर त स्वयम् गोकुल बास्कोटा नै झुक्किने खालको थियो ।

‘हेप्नी ? मान्छेलाई डिस हान्नी ? औडा अर्नि ? यस्तै-यस्तै कुरा गर्यौ भने भाइ, हामी मान्छेहरु नि कोल्याप्स गरिदिन्छाैं ।’

गोकुलको आवाजमा भरतमणिले बोलेको यो डाइलग टिकटकमा यति चल्यो कि धेरैको जिभ्रोमै झुण्डियो । सोही प्रहसनमा भरतले गरेको राजा ज्ञानेन्द्र, रामनारायण बिडारी, राजेन्द्र महतोलगायतको क्यारिकेचर पनि कम्ति टेसिलो थिएन । त्यसपछिका एपिसोडमा पनि उनले आफ्नो स्तर कहिल्यै तल झर्न दिएनन् ।

भरतमणिले गरेको पारसको क्यारिकेचरका बारेमा त धेरै चर्चा भइसकेको छ । यसमा उनले पारसको आवाज मात्र नभएर हाउभाउ पनि दुरुस्त उतारेका छन् । उनले पारसका हुलियामा गरेको डान्स स्टेप टिकटकमा भाइरल भएको छ ।

विक्कीभन्दा ठूलो दायरामा काम गर्छन् भरतमणि । खासमा उनी कमेडीका प्याकेज हुन् । त्यसमा पनि उनको सबैभन्दा बलियो पक्ष क्यारिकेचर हो । आजकाल क्यारिकेचर गर्ने कलाकारहरु धेरै जन्मेकाले यो विधालाई हल्का रुपमा पनि लिन थालिएको छ । तर, कमेडीमा यो एउटा कठिन विधा हो । एकछिन सोचेर अरुको बोली र हाउभाउको दुरुस्त नक्कल उतार्न सकिँदैन । यसका निम्ति कलाकारले खर्चेको समय र मिहिनेत दर्शकले देख्दैनन् ।

पूर्वराजा ज्ञानेन्द्र, केपी ओली, प्रचण्ड, देउवा, माधव नेपालजस्ता नेताहरुको क्यारिकेचर गर्ने धेरै कलाकार छन् । उनीहरुको क्यारिकेचर हेर्दाहेर्दा दर्शक नै बोर भइसके । भरतमणिले भने पूवयुवराज पारसदेखि रामनारायण विडारी, पुण्य गौतम मात्र नभएर हिमेस पन्तसम्मको क्यारिकेचर गरेर दर्शकलाई नयाँ स्वाद दिएका छन् ।

भरतमणि कमेडीको फुल डोज पस्किन सक्छन् । उनको प्रस्तुतिमा विविधता भेटिन्छ । कमेडी च्याम्पियन जिते पनि वा नजिते पनि उनी लामो रेसका घोडा हुन् । भोलीका दिन नेपाली रंगमञ्चमा छाउन सक्ने सम्भावना बोकेका कलाकार हुन् उनी ।

सन्तोष पन्तको ‘जजमेन्ट’

यो आलेखमा सन्तोष पन्तको चर्चा नगरेको भए पनि हुन्थ्यो । तर शनिबार विक्कीको प्रस्तुतिमाथि गरेको टिप्पणीलाई लिएर पन्तमाथि जसरी हमला गरिएको छ, त्यसले केही लेख्न कर लाग्यो ।

फाइनलका लागि भएको प्रतिस्पर्धामा विक्कीले केही फरक गर्ने प्रयास गरे । कमेडी च्याम्पियनको मञ्चमा उनले पहिलोपटक ‘पेन्टोमाइम’ ट्राइ गरे । आफ्नो कम्फर्ट जोनबाट निस्केर जोखिम मोल्न तयार हुनु उनको सह्राहनीय पक्ष थियो ।

तर, उनको प्रस्तुति कलात्मक हुँदाहुँदै पनि ‘ह्यूमरस’ हुन सकेन । त्यो ‘डार्क कमेडी’ पनि भएन । विश्वका थुप्रै हास्यकलाकारले माइम एक्टबाट पनि दर्शकलाई पेट मिचिमिची हँसाएका छन् । तर, विक्की हँसाउने सिक्वेन्स निर्माण गर्न चुके । कमेडीको कठिन प्रतिस्पर्धामा यस्तो अमूर्त कन्टेन्ट सान्दिर्भिक हुन्न ।

सन्तोष पन्तले पनि यही पक्षमा असन्तोष जनाएका थिए । तर, उनले बोलेका कुराहरुलाई लिएर धेरैले आलोचना गरेका छन् । उनको प्रतिक्रियाले प्रतियोगीलाई हतोत्साही गर्न खोजेको र उनले आधुनिक कमेडी नबुझेको टिप्पणी भइरहेको छ ।

पन्तको भन्ने शैली अलिकति ठाडो भयो होला । तर, रियालिटी शोमा निर्णायकको कुर्सीमा बस्नेहरुले आफूलाई लागेको भन्ने हो, बनावटी कुरा गरेर अनावश्यक प्रशंसाको पुल बाँध्ने होइन । भन्ने शैली सबैको आफ्नो-आफ्नो हुन्छ । हामीले भारतीय टेलिभिजनका रियालिटी शोहरुमा कतिपय निर्णायले प्रतियोगीलाई झपारेको पनि देखेका छौं । त्यस्तै गर्नुपर्छ भन्ने होइन, तर प्रतियोगीको कमजोरी खुट्याउन निर्णायकले हिच्किचाउनु हुन्न ।

कमेडी च्याम्पियनका अरु तीन निर्णायकभन्दा सन्तोष पन्त फरक छन् । अरुको लहैलहैमा लागेर उनी मामुली प्रस्तुतिमा कुर्सीबाट उठ्दैनन् । चित्त नबुझेसम्म हाँस्दैनन् पनि । त्यही भएर उनलाई हँसाउन सक्दा प्रतियोगीहरु गदगद बन्छन् ।

सन्तोष पन्तलाई अनादरपूर्ण टिप्पणी गर्ने युवा पुस्ताले पहिले उनको पृष्ठभूमि बुझ्नुपर्छ । नेपालको हास्यव्यंग्य क्षेत्रलाई माथि उठाउन उनले गरेका संघर्षलाई अध्ययन गर्नुपर्छ । कुनै बेला नेपाली टेलिभिजनमा दर्शक हँसाउने एउटा मात्रै कार्यक्रम ‘हिजाेआजका कुरा’ थियो, जुन सन्तोष पन्तले चलाउँथे ।

त्यसबेला घरघरमा टेलिभिजन थिएनन् । त्यो कार्यक्रम हेर्ने मानिसहरु टेलिभिजन भएको घर खोज्दै टाढाटाढा पुग्थे । त्यो युगबाट आएका लिजेन्डलाई ‘आधुनिक कमेडी नबुझेको’ भन्दै खिसिट्यूरी गर्नु शोभनीय हुँदै होइन । यदि सन्तोष पन्तले समेत त्यो कमेडी बुझेनन् भने कतिले बुझे होलान् त ? यदि मानिसहरूले उनकाे कमेडी नै बुझेनन् भने भाेट कसरी गर्लान् ? सन्ताेष पन्तले सम्झाउन खाेजेकाे यत्ति नै हाे ।


प्रतिक्रिया

2 thoughts on “भरतमणि, विक्की अग्रवाल र सन्तोष पन्त

  1. केपी ओलीकाे पाल्तु अनलाईनले राजावादीकाे गुनगान गाउनु र बयलगाडाकाे सम्बन्ध हुनुमा कुनै शंका छैन । नत्र सन्तोष पन्त जस्तो हतोत्साहित गर्ने जज काेकाे कहाँकहा छन् ? विक्की नेपाली नागरिकता लिएकाे पात्र भकाे भए यस्तो हुँदैनथ्यो । भरतमणीले पारसकाे प्रशंसा गरे विक्कीले पारसकाे खिल्ली उडाए त्यति नै हाे समस्या ।

Leave a Reply to Kamal Tamang Cancel reply

Your email address will not be published. Required fields are marked *