बुटवलका विद्यार्थीको चित्रकला चीनमा प्रदर्शन हुँदै – Nepal Press

बुटवलका विद्यार्थीको चित्रकला चीनमा प्रदर्शन हुँदै

रूपन्देही । चीनको ऐतिहासिक तथा सांस्कृतिक सहर सियानमा हुने एसिया र युरोप स्तरीय युवा चित्रकला प्रदर्शनीमा बुटवलका विद्यार्थीहरुले कोरेका चित्रकलालाई पनि सहभागी गराइने भएको छ ।

बुटवल उपमहानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको सियान सहरले आगामी अक्टूबरमा विश्वस्तरको चित्रकला प्रदर्शनी गर्न लागेको हो । सोही प्रदर्शनीमा बुटवलका विद्यार्थीहरुले कोरेका चित्रहरु पनि समावेश गरिनेछन् ।

भगिनी सम्बन्ध स्थापना भएका आधारमा बुटवल उपमहानगरलाई यो अवसर दिएको हो । यहाँबाट छानिएका पाँचवटा चित्रलाई सियान सिटीमा पठाइसकिएको बुटवलका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । युरोप र एसियाका विभिन्न मुलुकका ९ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीहरुले कोरेका चित्रहरुसंगै बुटवलका विद्यार्थीहरुले कोरेका चित्र समेत चीनको प्रदर्शनीमा राख्ने भन्दै निमन्त्रणा आएपछि सोही उमेर समूहका बुटवलका विद्यार्थीहरु बीच प्रतिस्पर्धा गराई चित्र कोर्न लगाइएको प्रमुख सुवेदीले बताए ।

‘यो संसारलाई हेर्ने मेरो नजर र संसारमा चिनाउने मेरो नेपाल’ भन्ने सोंचका आधारमा विद्यार्थीहरुले आ-आफ्ना विद्यालयमा चित्र कोरेका थिए । त्यसरी कोरिएका चित्रहरुलाई एकमुष्ठ राखेर उपमहानगरले विज्ञहरुबाट मूल्यांकन गराएको थियो ।

बुटवलका विद्यालयहरुबाट आन्तरिक प्रतिस्पर्धा गराई उत्कृष्ट भएका चित्रहरुलाई विज्ञहरुको मूल्यांकनका आधारमा छनौट गरी पाँचवटा चित्रलाई आयोजक सियान सिटीमा पठाइएको विदेश विभाग हेर्ने उपमहानगरका वरिष्ठ अधिकृत दिलबहादुर श्रेष्ठले जानकारी दिए । चित्रकला प्रदर्शनीमा यी विद्यार्थीलाई भौतिक रुपमा सहभागी गराउने नगराउने भन्ने विषयमा भने अझै टुंगो नभएको र आयोजकले पनि यसबारेमा अझै निधो नदिएको श्रेष्ठको भनाइ छ ।

बुटवलस्थित दीप बोर्डिङ स्कुलका कृष राना, कान्ति माविका प्रज्ववल पन्थी, न्यू होराइजन माविका आयशा थापा तथा कालिका मानवज्ञान माविका राजन न्यौपाने र नयाँगाउँ माविका पूर्णबहादुर थापाले कोरेको चित्रकलालाई क्रमश उत्कृष्टताका आधारमा छनौट गरिएको उपमहानगरका शिक्षा शाखाका प्रमुख टिकाराम पन्थीले जानकारी दिए ।

विश्वमा मित्रवत् सम्बन्ध बढाउने प्रदर्शनीचीनको सांघाई को-अपरेशन अर्गनाइजेशनको आयोजना आगामी अक्टूबरमा हुने उक्त कार्यक्रम युरोप र एसियाका विशिष्ट अधिकारीहरु सहभागी हुनेछन् । यसलाई आयोजकले एक उच्च प्रकारको खुलास्तरको प्रदर्शनी भनेका छन् । विश्वका प्रमुख सहरहरुका बीचमा रहेको मित्रवत् सम्बन्धलाई अझ प्रगाढ बनाउने, त्यहाँका रिती, रिवाज, संस्कृति र परम्पराका माध्यमबाट संसारमा सद्भाव बढाउने सोंचले कार्यक्रमको आयोजना गरिएको सियान सिटीका अधिकारीहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर