नेतृत्वमा सहमति नजुट्दा वाईसीएल सम्मेलन लम्बियो, भोलिसम्म सहमतिको प्रयास गरिने – Nepal Press

नेतृत्वमा सहमति नजुट्दा वाईसीएल सम्मेलन लम्बियो, भोलिसम्म सहमतिको प्रयास गरिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको दुई दिने सम्मेलन नेतृत्वमा सहमति नबन्दा लम्बिएको छ ।

हिजोदेखि जारी सम्मेलन आज सकिनु पर्नेमा नेतृत्वमा दावेदार रहेकाहरु सहमतिमा नआउँदा सम्मेलन लम्बिएको हो।

राजनीतिक र आर्थिक प्रतिवेदन पारित गररेर सम्मेलन आजका लागि स्थगित भएको वाईसीएलका केन्द्रीय सदस्य नवीन खड्काले जानकारी दिए।

‘आजका लागि सम्मेलन स्थगित भएको छ,’ खड्काले नेपाल प्रेससँग भने, ‘आज राजनीतिक र आर्थिक प्रतिवेदन पारित भएको छ। विधानको केही कुरा नेतृत्वको विषय टुंगिन बाँकी नै छ ।’

हालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नेतृत्व छाड्ने भएपछि अध्यक्षका लागि तीन जना दावेदार छन् । वाईसीएल अध्यक्षका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानले दावी गरेका छन् ।

२०७४ सालमा भदौमै भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष चयन हुँदा देवकोटा उपाध्यक्ष थिए भने सेर्पाली महासचिव थिए ।

त्यस्तै महासचिवमा चारजना आकांक्षी देखिएका छन् । कसम गुरुङ, गणेश शाही, मिङ्मातन्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ ले महासचिवमा चाहना राखेका छन् । यसमध्ये शाही र ढुंगाना सचिव थिए भने शेर्पा कोषाध्यक्ष थिए ।

खड्काले सहमतिको अधिकतम प्रयास जारी रहेको र भोलिसम्म पनि सहमति नबने पार्टी हेडक्वाटर (प्रचण्ड)ले त्यो टुंग्याउने बताए। ‘सहमतिको प्रयास अधिकतम जारी छ,’ उनले भने, ‘हिजो अध्यक्ष प्रचण्डले पनि सकेसम्म सहमतिका लागि अधिकतम प्रयास गर्नुहास् भन्नु भएको थियो । सहमतिको प्रयास सफल भएन भने पार्टी हेडक्वाटरले त्यो टुंग्याउँछ ।’

देवकोटा र शेर्पालीमध्य एकजनालाई अध्यक्ष र अर्कोलाई वरिष्ठ उपाध्यक्ष बनाएर जाने प्रयास पनि आज दिनभर भएको थियो । तर, त्यो प्रयास सफल हुन सकेन ।

यसअघि वरिष्ठता निर्धारण नभएकाले पनि नेतृत्वको टुंगो जगाउन केही समस्या भएको वाईसीएलका नेताहरुले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर