आज मेसीले पीएसजीमा डेब्यू गर्लान् ? – Nepal Press

आज मेसीले पीएसजीमा डेब्यू गर्लान् ?

काठमाडौं । यसै सिजन अप्रत्याशित रूपमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँग अनुबन्ध भएका अर्जेन्टाइन कप्तान लियोनेल मेसीले आज राति डेब्यू गर्ने सम्भावना छ । बार्सिलोनामै बस्न चाहे पनि क्लबको आर्थिक समस्याका कारण मेसीले बाध्य भएर २१ वर्ष लामो स्पेन बसाई टुङ्ग्याउनु परेको थियो ।

स्पेन बसाई लम्ब्याउन असफल भएसँगै मेसी दुई वर्षका लागि फ्रेन्च क्लब पीएसजीमा आवद्ध भए पनि डेब्यू भने अहिलेसम्म गरेका छैनन् । मेसी पेरिस पुगेयता पीएसजीले लिगवानमा दुई खेल खेलिसकेको छ । र, ती दुवै खेलमा सतप्रतिशत नतिजासहित पीएसजी लिग तालिकाको शीर्ष स्थाानमा छ ।

बार्सिलोनबाट खेल्दा क्लब फुटबलका सर्वकालिन महान् खेलाडीमध्ये एक बनेका मेसीले ६ पटक बालोन डी’अर जितेका थिए । बाल्यावस्थादेखि नै बार्सिलोनामा रहेका मेसीले अहिलेसम्म अन्य क्लबको जर्सी लगाएर मैदानमा उत्रिएका छैनन् ।

अन्ततः आइतबार राति हुने पीएसजी र रेइम्सबीचको खेलमा भने मेसीले डेब्यू गर्ने बुझिएको छ । विश्व फुटबलका सुपर स्टार फरवार्ड मेसीलाई आजको खेलमा डेब्यू गराउने पीएसजीका प्रशिक्षक माउरिसो पोचेटिन्होले बताएका छन् ।

उक्त खेल नेपाली समयअनुसार राति १२ः३० बजे स्टेड अगस्टे डेलाउनेमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर