मध्यभोटेकोशीका मेकानिकल ठेकेदार माओवादी युवाबाट कुटिए, घटनामा प्रहरी मिलेमतोको आरोप – Nepal Press

मध्यभोटेकोशीका मेकानिकल ठेकेदार माओवादी युवाबाट कुटिए, घटनामा प्रहरी मिलेमतोको आरोप

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाअन्र्तगत मेकानिकलसम्बन्धी कामको जिम्मा पाएको ठेकेदार कम्पनीका कर्मचारीलाई माओवादीनिकट युवाहरुले कुटपिट गरेका छन् ।

मेकानिकल कामको जिम्मा पाएको एन्ड्रीडका साइट इञ्चार्ज भारतीय नागरिक सुरेन्द्र दवाडीलाई माओवादीनिकट युवाहरुको समूहले साइट अफिस बाह्रविसेका जम्बुमा कुटपिट गरेका हुन् । माओवादीका स्थानीय युवाहरु रोशन गोलेलगायत १४–१५ जनाको समूहले खाना खाइरहेको बेला अपहरण शैलीमा अन्यत्र लगेर निर्घात कुटपिट गरेको एन्ड्रीड हाइड्रोले जानकारी दिएको छ ।

मध्यभोटेकोशी जलविद्युत् आयोजनाले सुरुङलगायत अन्य संरचना ‘लट १’ निर्माणको जिम्मा चिनियाँ ठेकेदार कम्पनीलाई दिएको छ । पावरहाउस, पेनस्टकलगायत लट २ को कामको जिम्मा भारतीय एन्ड्रीड हाइड्रोपावरलाई दिएको थियो ।

मध्यभोटेकोशीमा मेकानिकल कामको जिम्मा पाएपछि साइटमा बस्ने कर्मचारीहरुका लागि हाइड्रोले बा १४ च ९५८५ नम्बरको स्कारपियो सुरुदेखि नै सम्झौता गरेर भाडामा लगाएको थियो । तर माओवादीनिकट युवाहरुले भने अन्य क्षेत्रको गाडी आफूहरुको स्थानमा भाडामा लगाउन नपाउने भन्दै गत वर्षदेखि नै हाइड्रोका कर्मचारीहरुलाई धम्की दिँदै आएका थिए ।

गत वर्ष पनि हाइड्रोमा कार्यरत भारतीय नागरिक राहुललाई त्यही समूहले कुटपिटको प्रयास गरेका थिए । माओवादीका जिल्लास्तरका नेताहरुको समेत कुटपिटको घटनामा संलग्नता रहेको स्थानीयको आरोप छ । ‘लट वान’ अन्र्तगत सिभिलको काम गरिरहेको चिनियाँ कम्पनीका दोभासे गोविन्द पौडेल समेतको मिलेमतोमा इन्डीयन हाइड्रोका कर्मचारीलाई कुटिएको थियो ।

दोभासे गोविन्दले चिनियाँ ठेकेदार कम्पनीसँग करोडौं रुपैयाँ आयोजनाको कर्मचारीहरुलाई दिनुपर्छ भन्दै रकम माग गरिएको अडियो गत वर्ष सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि तत्कालीन आयोजना प्रमुख मणिकुमार काफ्लेलगायतलाई अख्तिायरले छानबिनको घेरामा समेत ल्याएको थियो ।

चिनियाँ कम्पनीअन्र्तगत दोभासे रहेका पौडेलले गत वर्ष आयोजनामा रहेको सिमेन्ट, ढुङ्गा, गिट्टी बालुवालगायतका सामग्री वितरण गर्ने गरेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले आरोप लगाएका थिए ।

गत वर्ष आएको बाढीले जम्बुमा रहेको आयोजनाको स्टोरबाट तामालगायतका सामग्रीहरु बगाएर केही तल छाडेको थियो । यो सामग्री निकालेर बेच्नका लागि समेत अहिले कुटपिटमा संलग्न युवाहरु र अर्काे गाउँका स्थानीयबीच हात हालाहाल भएको थियो ।

आयोजना भन्छ– यो सामान्य

मध्यभोटेकोशी जलविद्युत् आयोजनाले भने घटना सामान्य भएको प्रतिक्रिया दिएको छ । आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले सिन्धुपाल्चोकमा यस्ता घटना आफूहरुलाई सामान्य लाग्न थालेको बताए ।

दोलखामा समेत मेकानिकलसम्बन्धी काम यहीं हाइड्रोले पाएको थियो । माथिल्लो तामाकोशीमा शान्तिपूर्वक रुपमा काम गर्न पाए पनि मध्यभोटेकोशीमा भने आफुहरुलाई सुरुदेखि नै अवरोध हुँदै आएको ठेकेदार कम्पनीले गुनासो गरेको छ ।

‘प्रहरीले सुरक्षा नदिने हो भने काम गर्न सकिँदैन’ भारतीय ठकेदार कम्पनीका प्रमुखले भने । मध्यभोटेकोशी जलविद्युत् आयोजनाले ‘लट टु’ को कामका लागि उक्त हाइड्रोलाई साढे २ अर्बमा ठेक्का दिएको थियो ।

प्रहरी नै मिलेको आरोप

आफ्ना कर्मचारी कुटपिट भएपछि भारतीय हाइड्रोका प्रमुखले ईलाका प्रहरी कार्यालय बाह्रविसेमा रोशन गोले, जीवन अधिकारी, सुवास राउत र कृष्ण रुम्बासहित नाम नखुलेका ८ जनाविरुद्ध उजुरी दर्ता गरेका छन् । तर प्रहरी निरीक्षक देवेन्द्र शाहले आर्थिक प्रलोभनमा परेर कुटपिटमा संलग्नहरुलाई भगाएको आरोप लागेको छ ।

राजमार्गमा रहेको क्रसर उद्योग, निर्माण व्यावसायीहरुसँग रकम असुलीको आरोप प्रहरी निरीक्षक शाहलाई लाग्दै आएको छ ।

रकम असुलीको आरोप लगोपछि प्रहरी प्रधान कार्यालयले केही महिनाअघि उनलाई छानबिनको दायरमा समेत ल्याएको थियो । यो घटनामा समेत उनको भूमिका शंकास्पद रहेको आरोप लागेको छ । तर प्रहरी निरीक्षक शाह भने कुटपिटमा संलग्नहरुको खोजी भइरहेको र कानूनअनुसार उनीहरुलाई कारवाही गरिने बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर