कांग्रेसको वडा अधिवेशन भदौ २२ मा गर्ने तयारी ! – Nepal Press

कांग्रेसको वडा अधिवेशन भदौ २२ मा गर्ने तयारी !

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय अधिवेशनको कार्यतालिका केही हेरफेर गर्ने तयारी भएको छ । क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिहरुको आन्दोलन र निर्वाचन समितिको तयारीलाई मध्यनजर गरेर भदौ १८ गते सुरु हुने वडा अधिवेशन भदौ २२ गते गर्न शीर्ष नेतृत्वबीच सहमति जुटिसकेको छ ।

विहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच जिल्ला सभापतिहरुको माग लगायतका विषयमा छलफल भएको थियो ।

सोही क्रममा वडा अधिवेशन केहीदिन सार्ने विषयमा छलफल भएको बताइन्छ । तत्कालका लागि जिल्ला सभापतिको माग पूरा गरी अनसन अन्त्य गर्ने र सम्भव भए भदौ १८ नभए भदौ २२ मा वडा अधिवेशन गर्ने सहमति देउवा र पौडेलबीच भएको हो । वडा अधिवेशन भदौ २२ मा हुने वा भदौ १८ मै हुने भन्नेमा भने तत्काल निर्णय हुनेछैन ।

‘निर्वाचन समिति, जिल्ला सभापति र समग्रतामा हेर्दा भदौ १८ लाई तयारी नपुग्न सक्छ । त्यसैले वडा अधिवेशन ४ दिन सर्ने सम्भावना छ’, कांग्रेसका एक शीर्ष नेताले भने ।

ती नेताका अनुसार भदौ २२ मा वडा अधिवेशन भएपनि अन्य अधिवेशनको मिति भने यथावत राखिनेछ । अनसन अन्त्य गर्ने सन्दर्भमा पहाडी जिल्लाका सभापतिहरुले तयारीका लागि थप केही दिन आवश्यक पर्ने बताएका थिए ।

निर्वाचन समितिसंगको समन्वयमा वडा अधिवेशन भदौ २२ मा गर्ने निर्णय क्रियाशील सदस्यताको पूर्ण सूची सार्वजनिक भएलगत्तै गर्ने तयारी छ ।

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सबै वडाको अधिवेशन एकैदिन गर्ने सहमति भएकोले पनि वडा अधिवेशन भदौ २२ मा पुग्ने निश्चित भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर