जगेडामा रहेका दुई सचिवले पाए जिम्मेवारी, एक सचिवको सरुवा – Nepal Press

जगेडामा रहेका दुई सचिवले पाए जिम्मेवारी, एक सचिवको सरुवा

काठमाडौँ । सरकारले तीन जना सचिवको सरुवा तथा पदस्थापन गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा तथा पदस्थापनको निर्णय गरेको हो ।

स्रोतका अनुसार सचिव भरतमणी सुवेदी र कृष्णहरी पुष्करलाई पदस्थापन गरिएको छ भने गणेश पाण्डे प्रदेशबाट संघीय मन्त्रालयमा सरुवा भएका छन् । एक साताअघि बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशका प्रमुख सचिव सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा तानेको थियो । उनलाई अतिरिक्तबाट प्रधानमन्त्री कार्यालयमा नै पदस्थापन गरिएको छ ।

यस्तै कर्णाली प्रदेशका प्रमुख सचिव पाण्डेलाई भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयको अतिरिक्त समूहमा रहेका पुष्करलाई राजश्व सचिवमा पदस्थापन गरिएको छ ।

पुष्करको पहिलो पदस्थापन नै संघीय मन्त्रालयमा

सहसचिवबाट सचिवमा बढुवा भएपछि अधिकांशको पहिलो पदस्थापन प्रदेशमा हुने गरेको छ । तर, भर्खरै बढुवा भएका कृष्णहरी पुष्कर र खगेन्द्रप्रसाद नेपालको भने संघीय सरकारमै पदस्थापन भएको छ ।

करिब डेढ महिनाअघि असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृष्णहरी पुष्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । साउन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीसहित अतिरिक्तमा रहेका ५ जना सचिवको सरुवा हुने अनुमान गरिएको थियो । तर मन्त्रिपरिषद् बैठकले भने उनी बाहेक ४ जना सचिवको सरुवा गरे पनि उनलाई अतिरिक्तमै थन्क्यायो । त्यसपछि डेढ महिना पुग्न लाग्दा पनि उनको सरुवा भएको थिएन ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारलाई व्रिफिङ गरेका थिए । तर, सचिवको सरुवा तथा पदस्थापन सम्बन्धी निर्णय भने प्रवक्ता कार्कीले सुनाएनन् ।

पुष्करभन्दा पछि बढुवा भएका खगेन्द्रप्रसाद नेपालको पनि पहिलो पदस्थापन नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरिएको छ । तर, कार्यालयमा पदस्थापन गरिए पनि उनलाई अहिलेसम्म कुनै निश्चित जिम्मेवारी दिइएको छैन । स्वास्थ्य अवस्था ठिक नभएकाले पनि उनलाई प्रदेशमा नपठाएर संघीय निकायमा नै पदस्थापन गरिएको बुझीएको छ ।

सचिव पुष्करले प्रधानमन्त्र तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई हेर्दै आएका थिए ।

पाण्डेको पदस्थापन भएको २ महिना नपुग्दै सरुवा

सचिव गणेशप्रसाद पाण्डेको पदस्थापन भएको २ महिना नपुग्दै संघीय मन्त्रालयमा सरुवा भएको छ । गत असार १७ गते बसेको केपी ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशको प्रमुख सचिवमा पाण्डेलाई पठाउने निर्णय गरेको थियो । उक्त बैठकले पाण्डेसहित सहसचिवबाट सचिवमा बढुवा गरेका ४ जना सचिवको पदस्थापन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर