‘एडप्ट एन एनिमल’ मा प्रधानन्यायाधीशको साथ, एक जोडी बाघको खान्की व्यहोर्ने – Nepal Press

‘एडप्ट एन एनिमल’ मा प्रधानन्यायाधीशको साथ, एक जोडी बाघको खान्की व्यहोर्ने

ललितपुर । कोरोना महामारीले मानवीय जीवनलाई मात्र होइन संरक्षित वन्यजन्तु पनि मारमा परेका छन् ।

यही सन्दर्भमा जावालाखेलस्थित सदर चिडियाघरले नयाँ अभियान शुरू गरेको छ, ‘एडप्ट एन एनिमल’ । जनावरलाई माया गरौं, खुवाऔं र बचाऔं भन्दै शुरू भएको यो अभियानलाई अभियन्ताहरूले साथ दिएका छन् ।

यो अभियानबाट प्रभावित भएर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले पनि एक जोडी बाघ एडप्ट गरेका छन् । चिडियाखानामा रहेका प्रताप र जगती नामका भाले-पोथी बाघलाई एक वर्षसम्म आहारा खुवाउने आर्थिक दायित्व राणाले लिएका हुन् ।

एडप्ट एन एनिमल अभियानकी अभियन्ता प्रजिता कार्कीले भनिन्, ‘प्रधानन्यायाधीश राणा हाम्रो अभियानबाट प्रभावित हुनुभएर साथ दिनुभएको छ । उहाँले एक जोडी बाघ एडप्ट गर्नुभयो । हामी साह्रै उत्साहित छौं ।’

कार्कीले प्रकृति संरक्षण कोष, सदर चिडियाखानासँग समन्वय गरेर ५० जनाभन्दा बढीलाई यो अभियानमा सामेल गराइसकेकी छन् ।

कोहीले चरा, कोहीले बाघ, हात्तीजस्ता जनावरको आहाराको जिम्मा लिएको उनले जानकारी दिइन् । जनावरलाई बचाउनुपर्छ, माया गर्नुपर्छ भन्ने धारणा विकास भएको भन्दै उनले प्रधानन्यायाधीश नै यो अभियानमा सामेल हुँदा अझ सहज भएको बताइन् ।

सदर चिडियाखानाका सिनियर क्युरेटर रचना शाहले जनावर एडप्ट गर्ने अभियान प्रभावकारी ढंगले अघि बढेको जानकारी दिइन् ।

उनका अनुसार वर्षभरी चिडियाखानामा रहेका सबै खाले जनावरहरूको खाना खर्च कम्तीमा ३ करोड रूपैया लाग्छ । बाघ, हात्ती, गैंडा, भालु, चिम्पान्जी, हाब्रेजस्ता जनावरलाई खाना खर्च बढी लाग्छ ।

लकडाउनका बेला चिडियाखाना सुनसान भएपछि आयस्रोत पनि घटेको थियो । त्यसैले चिडियाखानाले जनावरलाई पर्याप्त खान्की दिन विभिन्न पहलहरू शुरू गरिएको हो ।

शाहका अनुसार विश्वका अन्य देशमा रहेका चिडियाघरहरूमा समेत एनिमल अडप्ट गर्ने अभ्यास छ । नेपालमा गत मार्च ३ गते विश्व वन्यजन्तु दिवसको सन्दर्भ पारेर यो अभियान शुरूआत भएको हो । निवर्तमान प्रधानमन्त्री केपी ओलीले एक सिंगे गैंडा एडप्ट गरी अभियान शुरू गरेका थिए ।

अभियन्ता कार्कीले भनिन्, ‘प्रकृतिलाई परेको अप्ठेरोले मान्छेलाई मात्र होइन, वन्यजन्तुलाई समेत पिरोलेको हुन्छ । जनावर बोल्न सक्दैन, बोल्ने र बुझ्न सक्ने मान्छेले तिनको मर्का सुनिदिनुपर्छ । त्यही भएर म केही महिनादेखि कोषको यो अभियानमा साथसाथै छु ।’

प्रधानन्यायाधीश राणा र अन्य विशिष्ट व्यक्तित्वहरूमाझ आफूले यस्ता अभियान लिएर जाँदा सहर्ष स्वीकार गर्दै राम्रो प्रतिक्रिया पाएको उनले नेपाल प्रेससँग बताइन् ।

प्रधानन्यायाधीश राणाले जस्तै नेपाल वायु सेवा निगमका अपरेशन डाइरेक्टर क्याप्टेन दिपुराज जुवारचन, प्रशंसा राज्यलक्ष्मी राणालगायत ५० जनाले विभिन्न जनावर एडप्ट गरेका छन् । वायु सेवा निगमकै वरिष्ठ क्याप्टेन विजय लामा यो अभियानका गुडविल एम्बेस्डर छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *