जुठेल्नोमा फालिएका जुठेले मलाई सुनाएका केही ‘सेक्रेट’ – Nepal Press
अबिच्युरी

जुठेल्नोमा फालिएका जुठेले मलाई सुनाएका केही ‘सेक्रेट’

२०६० सालको माघ महिना । कठ्याङग्रिने जाडो छिचोल्दै विहान ६ बजे उज्यालो नहुँदै जेबी टुहुरेको कलंकीस्थित निवासमा पुग्दा उनी आफ्नै सूरमा गाउँदै थिए : मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ, देशभक्त छोरो मर्दा देशै रुँदो रैछ ।

कवि अनिल पौडेलले दासढुंगा दुर्घटनामा मदन भण्डारीको निधनपछि लेखेको यो गीत टुहुरे आफैंले गाएका थिए । त्यसबेला म नेपाल वान टेलिभिजनमा ‘सफल जीवन,उ हाँसँग एक दिन’ कार्यक्रम बनाउँथे । त्यस दिन मेरो पात्र थिए जनवादी गायक टुहुरे ।

त्यस दिन हाम्रो क्यामेराले उनलाई घरदेखि तत्कालीन एमालेको पार्टी कार्यालय मदननगर बल्खु हुँदै उनी जहाँ जहाँ जान्छन् पछ्यारह्यो । उनी आफ्नो कहानी सुनाउँँदै गए, मैले दिमागमा प्लट बनाइसरहेको थिएँ । कार्यक्रम प्रसारणपछि उनी निकै दंग भएका थिए, किनकी जनवादी गायकलाई त्यसबेला मूलधारका मिडियाले स्थान दिन कन्जुस्याई नै गर्थे ।

उनले सुस्ताउँदै भनेथे : वास्तवमा संगठन गर्ने जनता जगाउँने हामी जनवादी गायक गायिकाहरुलाई पार्टीले अवसर दिने बेलामा यो त गाइने हो भन्ने सोच्दा रहेछन् । हामीले गीत गाउँदै हिड्दा संगठित भएकाहरु सांसद, मन्त्री के के भइसके तर हामी चाहिँ गाइने को गाइने नै ।

टुहुरे सिकिस्त विरामी भएको खबर केही दिनअघि आएको थियो । अनरास्ववियु क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले जनवादी गायक टुहुरेको स्वास्थ्य अवस्था क्रिटिकल रहेको सुनाएका थिए । हामीले समाचार पनि दियौं । आज विहानमात्र स्तम्भकार विनु पोखरेलले फोन गरेर टुहुरेको बारेमा केपी ओलीले छोरी निर्भिकासँग कुरा भएको भन्दै के के कुरा भयो सोध्नु भनेर नम्बर पनि पठाएकी थिइन् ।

तर छोरी निर्भिकासँग कुरा हुन नपाई एक निर्भिक क्रान्तिकारी गायकले संसार छाडेको खबर आयो । म चाहिँ टुहुरेसँग मेरा अन्तरंग र उनले मलाई सुनाएका जीवन कहानी सम्झदै नोस्टाल्जिक भएँ ।

 

टुहुरेले मलाई सुनाएको र मैले मेरो इमेलमा सुरक्षित राखेका उनका जीवन कहानीलाई उनीप्रतिको अबिच्युरीका रुपमा समर्पित गर्न चाहन्छु :

जेबी टुहुरेको जन्म २००१ सालमा धरानमा भएको थियो । टुहुरेको खास नाम जुठबहादुर खड्गी हो तर उनी पछि गएर जेबी टुहुरेका रुपमा स्थापित भए । जन्मिने बित्तिकै जुठोमा फालिएकाले आफ्नो नाम पनि जुठवहादुर भएको उनले मलाई सुनाएका थिए ।

उनीभन्दा अघि जन्मिएका सन्तान बाँच्न नसकेकाले जुठोमा फाल्दियो भने शीशु बाँच्न सक्छ भनेर जन्मिने बित्तिकै जुठेल्नोमा फाल्दिएको कहानी उनले सुनाएका थिए ।

२००७ सालमा खड्गी परिवार बसाइ सरेर मोरङको मधुमल्ला पुग्यो । उनले तीन कक्षा पढ्दा पढ्दै स्कूल छाड्नुपर्‍यो । त्यसैले उनले आफ्नो डिग्री साँढे तीन कक्षा हो भन्ने गर्थे । पढाई छाडेर धरानबाट घोडालाई कपडा बोकाएर उनी दमक, लेटाङ र मधुमल्लातिर बेच्न जान्थे ।

गाउने र नाच्ने काममा अग्रसर हुने टुहुरेले ९ वर्षको उमेरदेखि नै विद्यालयमा गाउन थालेका थिए । रेडियोमा अरुका गीत सुन्दा उनलाई पनि त्यस्तै गरि गीत गाउने रहर लाग्थ्यो । गीत गाउने रहर यसरी उम्लेर आयो कि उनी २०१९ सालमा घरबाट भागेर पहिलो पटक काठमाडौं आए ।

जेबी टुहुरे फाउण्डेसनले आयोजना गरेको एकल सांगीतिक साँझमा प्रदेश १ का तत्कालिन मुख्यमन्त्री शेरधन राईबाट सम्मान गरेपछि टुहरे ।

रेडियो नेपालको कार्यक्रममा गीत गाउने अवसर समेत मिल्यो । त्यसपछि जेबीको गायन यात्रा आरम्भ भयो । २०२४ सालमा रेडियो नेपालमै गाएको दोस्रो गीत त्यतिबेला निकै चर्चित बन्यो । रेडियो नेपालमा उनले गाएको गीतले राजा महेन्द्रको गाउँ फर्क अभियानलाई अप्रत्यक्ष सघाएको थियो तर जेबी टुहुरे चाहिँ बिस्तारै कम्युनिस्टहरुको सम्पर्कमा पुगिसकेका थिए ।

तत्कालिन समयमा मनमोहन अधिकारी, भरतमोहन अधिकारीहरुको नेनृत्वमा रहेको पूर्व कोशी प्रान्तीय कमिटिका कार्यकर्ताहरुसँगको संगतले उनी वामपन्थी बने । अनि त्यहीँबाट उनको गायन क्षेत्र पनि परिवर्तन भयो । सोल्टिनी र काली गोरीहरुका मायाप्रीतिका गीत गाउने जेबीले त्यसपछि गरीव किसान, मजदूर र आम दिदी बहिनीका गीत गाउन थाले ।

‘आमा दिदी बहिनी हो …’ बोलको गीतले जेबी टुहुरेलाई गाउँ गाउँ बस्तीमा चिनायो । आजभन्दा ४५ वर्षअघि गाएको यो कालजयी गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । यो गीतलाई जेबी टुहुरेले जनकलाकार रामेश र बम देवानको सहयोगमा ३ वर्ष लगाएर पूरा गरेका थिए ।

एक समय यस्तो थियो जेबी टुहुरे, रामेश, अरिम, मन्जुल, रामकृष्ण दुवालजस्ता चर्चित जनकलाकारहरु गीत गाउँदै गाउँघर हिड्दा प्रशासनको सातो उड्थ्यो भनें जनता उनीहरुतिरै ओइरिन्थे । उनले नै हात समाएर गीत गाउन सिकाएका शम्भु राई, लोचन भट्टराई जस्ता गायक गायिकाहरुले जनवादी गायनबाट त्यसबेलाका उनको भाषामा ‘धनवादी’ गायनको बाटो अँगाले ।

लोचन भट्टराईको जनवादी गायन टुट्नुको कहानी त अझ उनले रोचक सुनाएका थिए । त्यसबेला तत्कालीन मालेको सम्पर्कमा थिए उनीहरु । लोचनले ‘टाढा टाढा नभइ जाउ तिमी’ भन्ने गीत गाएपछि पार्टीले सोधपुछ थाल्यो र उनी जनवादी गायनबाट सधैंका लागि टाढा भइन् ।

जेबी टुहुरेले जीवनमा ठूलो सपना सजाएका थिए । त्यो के भनें कम्युनिस्टहरुले यो देश र जनताको मुहार फेर्नेछन् । यहि कोरा सपनामा उनले आफ्नो सिंगो परिवारनै दाउमा लगाए । श्रीमती सतिदेवीले छोराछोरीको गाँस काटेर पार्टीका नेता कार्यकर्तालाई पालिन् । त्यसबेला भेट्दा उनी भन्दै थिए : अहिले आएर जनवादको सपना साँच्चैनै सपना नै रहेछ भन्ने लाग्न थालेको छ ।

२०३९ सालमा तत्कालिन नेकपा मालेमा सीपी मैनाली र झलनाथ खनालबीचको विवादपछि रामेशहरु नष्क्रिय बसे भनें जेबी टुहुरे चाहिँ निरन्तर पार्टीकै लागि जनताका गीत गाएर हिँडे । पछि रामेश र रायनहरु फरक धारबाट जनवादी गायनमै निरन्तर रहे ।

जनताका गीत गाएर गाउँ बस्तीमा हिड्दा उहाँले धेरै हण्डर ठक्कर खाएका कहानी सुनाउँथे । गाउँ बस्तीमा जनताका ताली खाए भनें जनता उचाल्ने गीत गाएको आरोपमा जेलको चिसो हावा पनि खाए । कति ठाउँमा राती -राती जनतालाई जम्मा गरेर रगत उम्लने गीत गाउँथे, तर पनि प्रहरीले थाहा पाएर पक्राउ गरि हाल्थ्यो ।

जेबी टुहुरेले जीवनमा ठूलो सपना सजाएका थिए । त्यो के भनें कम्युनिस्टहरुले यो देश र जनताको मुहार फेर्नेछन् । यहि कोरा सपनामा उनले आफ्नो सिंगो परिवारनै दाउमा लगाए । श्रीमती सतिदेवीले छोराछोरीको गाँस काटेर पार्टीका नेता कार्यकर्तालाई पालिन् । छोरी भूमिका शुरुमा त बाबुकै बाटोमा थिइन् तर पछि परिवन्द अर्कै पर्‍यो जसले गर्दा टुहुरे स्वयंले ४०/५० वर्ष बिताएको पार्टी छाडेर माओवादी बनेको अर्कै कहानी छ ।

त्यसबेला भेट्दा उनी भन्दै थिए : अहिले आएर जनवादको सपना साँच्चैनै सपना नै रहेछ भन्ने लाग्न थालेको छ ।

उनले विरक्तिका कथा सुनाउँदा सँगै थिए रामकृष्ण दुवाल, जसले उनलाई ढाडस दिन खोज्थे ।

तत्कालिन कोशी प्रान्तीय कमिटि, मुक्तिमोर्चा, कोअर्डिनेसन केन्द्र, नेकपा माले हुँदै नेकपा एमालेसम्म उनले ४५ वर्ष बिताए । जनवादी गीति यात्रामा जेबी टुहुरेले खनेको गोरेटो निकै फराकिलो भयो । मधु गुरुङ जो पछि सांसद पनि भइन् उनी जस्ता धेरै कलाकार जेबीले उत्पादन गरेका थिए ।

जेबी टुहुरे अब यस दुनियाँमा छैनन् । उनले थालेको जनवादी गायनको गोरेटो पनि अब मेटिदैछ । जसरी आधुनिक गायनमा कालजयी गीतहरुका नारायण गोपाल स्वर सम्राटका रुपमा सधैं बाँचिरहेका छन्, टुहुरे गाएका केही जनवादी गीत साँच्चिकै कालजयी छन् र उनी सधैं यिनै गीतहरुमार्फत बाँचिरहने छन् ।

जनसांस्कृतिक मन्च जुन अहिले महासंघ भएको छ त्यसको पनि संस्थापक उनै थिए । मदन भण्डारीका अति प्रिय गायक जेबी टुहुरेले गाएको एउटा अर्को गीत पनि छ जुन सधैं कालजयी बन्नेछ ।

‘बसाई हिड्नेको ताँतीले बस्नेको म रुँदछ

लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’

वास्तवमा जेबी टुहुरेको यो गीत जस्तै लाखौंको लागि यो देश उजाड नै छ । टुहुरेले ७८ वर्षको उमेरमा अन्तिम श्वास लिँदासम्म पनि उनको जीवन उजाड नै रह्यो । करीव ७० वर्ष लामो गीति यात्रा र ५५ वर्ष लामो जनवादी यात्रा पार गरेर उनले जीवनरुपी भारी बिसाएका छन् ।

२०६० सालपछि लगातार केही वर्ष टुहुरेसँग मेरो बाक्लै भेट भयो । जेबी टुहुरेमा कता-कता निराशाले डेरा जमाउन थालेका आभास मलाई थियाो । शतिसाल जसरी ठडिएको जनगायकमा जनवादी गीत गाउँने जाँगर त थियो तर ती गायक नेताका लागि होइन साँच्चिकै जनताकै लागिमात्र गीत गाउने अठोटमा थिए ।

तर, उनको अठोटमा पारिवारिक झमेला आयो । ठूलो ऋणमा फसेपछि उनकी छोरी त्यतिबेला शान्ति प्रक्रियामा आइसकेको वाइसीएलको झमेलामा परिन् । त्यसबेला मान्छेहरु लेनदेनका मुद्दामा पुलिस होइन वाइसीएल गुहार्थे । व्यवहार कसरी मिलाए आन्तरिक कुरा हो तर उनी भने एमाले छाडेर माओवादी बने । एमालेले जीवनभर आफूलाई गाइनेमात्र बनाएको गुनासो गर्ने टुहुरेलाई मााओवादीले सभासद बनाइदियो ।

जेबी टुहुरेलाई जीवनको उत्तरार्धमा सभासदसम्म बनाएको माओवादीले उनको उपचार तथा हेरचाहमा कुनै कमी हुन दिएन । प्रचण्ड,जनार्दन शर्मा,पम्फा भुसाल लगायतका नेताहरु अस्पताल पुगेर जानकारी लिए । अखिल क्रान्तिकारीका रन्जित तामाङ,सुरेन्द्र बस्नेत र जनसांस्कृतिक महासंघका सरल सहयात्रीहरुले उनको अवस्थाबारे पार्टी नेतृत्व र मिडियासम्म खबर पुर्याए । उनीहरु सधैं अस्पतालमै रहे ।

नत्र उनको अवस्था गुमनाम जस्तै थियो । प्रचण्डको पहलमा सरकारले उपचार खर्चको पनि व्यवस्था गरेको बताइन्छ ।

जीवनभर रगत, पसिना र ऊर्जा दिएको पार्टी छाडेर हिड्नुपर्दा उनी दुःखी थिए तर उनको मूल्यांकन माओवादीले गर्‍यो । त्यसैले त एमालेका धेरै नेता अस्पतालमा पुगे तर उनको पार्थिव शरीर भने माओवादी कार्यालय पेरिसडाँडामा पुग्यो ।

जेबी टुहुरे अब यस दुनियाँमा छैनन् । उनले थालेको जनवादी गायनको गोरेटो पनि अब मेटिदैछ । जसरी आधुनिक गायनमा कालजयी गीतहरुका नारायण गोपाल स्वर सम्राटका रुपमा सधैं बाँचिरहेका छन्, टुहुरे गाएका केही जनवादी गीत साँच्चिकै कालजयी छन् र उनी सधैं यिनै गीतहरुमार्फत बाँचिरहने छन् ।

साँच्चै जेबी दाइ मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ । अनि नि, तपाईको गीतले भने जस्तै लाखौंको लागि त यो देश उजाड नै छ, तपाईलाई स्वर्ग मिलोस् तर मुठ्ठीभरलाई यहाँ मिलेको जस्तो लुटको स्वर्ग होइन । आत्माले शान्ति पाउने स्वर्गले तपाईलाई स्वागत गरिसक्यो होला ।

टुहुरेको पार्थिव शरिरलाई बिहीवार माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिँदै ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *