मनाङका आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन – Nepal Press

मनाङका आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन

मनाङ । जिल्लामा आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका छन् । असार मसान्त सकिएलगतै मालपोत, नापी, घरेलु, डिभिजन वन, विद्युत् प्राधिकरण, शिक्षा विकास, एक्याप, खानेपानीलगायत आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका छन् ।

कोही घर बिदामा कोही प्रदेश मन्त्रालयमा वार्षिक प्रतिवेदन बुझाउने बाहनामा प्रमुखले जिल्ला छोडेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् । प्रमुख हिँडेपछि कार्यालय सुनसान छन् ।  कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । तल्लो दर्जाका कार्यालय सहायक र खरिदारले कार्यालय खोल्ने र बन्द गर्ने गरेका छन् ।

बाढीपहिराको जोखिममा रहेको हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट पूर्णरूपमा बिच्छेद हुँदा बिदामा गएको कार्यालय प्रमुखहरु आउन नसकेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । उनीहरुले अनलाइनको माध्यमबाट यहाँको सेवा प्रवाहका बारेमा जानकारी लिँदै आएको बताइएको छ ।

‘घर बिदामा जानुभएका कार्यालय प्रमुख बाढीपहिरोका कारण सडक अवरुद्ध भएपछि कार्यालय फर्किनुभएको छैन’, प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने, ‘एक त सडक सञ्जालले पनि समस्या निम्त्याएको छ । अर्को विपद् आउनुभन्दा अघिजस्तो काम हुँदैन भनेर पनि होला ।’

मनाङको शैक्षिक सत्र सकिने अवस्थामा समेत शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख पनि कार्यालयमा अनुपस्थित रहेको छ । त्यस्तै बाढीपहिराका विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध हुँदा त्यसको मर्मतका लागि जुट्नुपर्ने अवस्थामा नेपाल विद्युत् प्राधिकरण मनाङका प्रमुख पनि जिल्ला बाहिर रहेका छन् ।

विद्युत् मर्मत तथा सम्भारका साथै विद्युत् आपूर्तिका लागि काम गर्नुपर्ने अवस्थामा सडक सञ्जालको समस्या देखाउँदै उनी जिल्ला बाहिर रहेको बताइएको छ । कार्यालयका प्रमुख नै बाहिरी जिल्लामा रहँदा जिल्लाको विपद् व्यवस्थापनमा समस्या भएको प्रजिअ लामिछानेले बताए। रासस

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर