सहमतिको मसी नसुक्दै पौडेल पक्षको आन्दोलन किन ? – Nepal Press

सहमतिको मसी नसुक्दै पौडेल पक्षको आन्दोलन किन ?

काठमाडौं । नेपाली कांग्रेसमा लामो समयदेखि थाँती रहेको क्रियाशील सदस्यताका सम्बन्धमा भदौ ७ गते शीर्षतहमा सैद्धान्तिक सहमति भयो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यद्वय डा.मिनेन्द्र रिजाल र रमेश लेखकले तयार पारेको प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले संयुक्त रुपमा बुझे ।

क्रियाशील सदस्यताबारे सहमतिले कांग्रेसमा ‘ब्रेक थ्रु’ गर्ने र महाधिवेशन निश्चित गर्ने धेरैको विश्वास थियो । तर सहमतिको २४ घण्टा नबित्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आन्दोलन सुरु भयो ।

संस्थापनइतर समूहका जिल्ला सभापतिहरुले ३ बुँदे माग राखेर मंगलबार कांग्रेस कार्यालयमा धर्ना दिए । क्रियाशील सदस्यताको सूची सार्वजनिक, सार्वजनिक हुने सूचीमा भेटिने त्रुटि सुधारका लागि वैधानिक प्रबन्ध र जिल्ला सभापतिको उम्मेदवारका लागि सबैलाई समान मापदण्डको माग उनीहरुले गरेका छन् ।

जिल्ला सभापतिहरुको आन्दोलनमा पहिलो दिन कांग्रेस नेताहरु अर्जुनरसिंह केसी, डा. शेखर कोइराला र गगन थापाले समर्थन जनाए । आजदेखि सानेपामा रिले अनसन सुरु भएको छ । नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसी, धादिङ सभापति रमेश धमला, काभ्रेका सभापति मधु आचार्य तथा युवा नेताद्वय रञ्जित कर्ण र डिल्लीराम सुवेदी आज अनसनमा बसेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु डा.रामशरण महत, बलबहादुर केसी, दीपक गिरी, दिलेन्द्र बडु, रामकृष्ण यादवलगायतले सानेपा पुगेरै आन्दोलनमा ऐक्यवद्धता जनाए ।

पौडेल पक्षले थालेको आन्दोलनलाई संस्थापन पक्षले ‘अनावश्यक’ देखेको छ । कतिपय नेताले महाधिवेशन हुन नदिन ‘बखेडा’ झिकिएको आरोपसमेत लगाएका छन् । संस्थापन पक्षले अहिलेसम्म जिल्ला सभापतिको मागबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन । यद्यपि संस्थापननिकट नेताहरु महाधिवेशन सुनिश्चित भइसकेपछि नयाँ विवाद झिकिएको बताउँछन् ।

‘पहिला क्रियाशीलमा विवाद गरियो अहिले त्यो सुल्झिएपछि नयाँ विवाद झिक्न खोजियो । क्रियाशीलको सूची सार्वजनिक गर्ने भनेकै छ । अरु माग पनि पार्टीको विधानविपरीत छन् । यो त सरासर महाधिवेशन रोक्ने खेल हो’, सभापति देउवानिकट एक नेताले भने । महाधिवेशनमा जित सुनिश्चित नदेखेपछि महाधिवेशन सार्न खोजिएको संस्थापन पक्षको आरोप छ ।

कतिपयले जिल्ला सभापतिहरु पद छाड्ने पक्षमा नरहेको आरोपसमेत लगाएका छन् । ‘चुनावसम्म अधिवेशन नहोस्, स्थानीय निर्वाचनको टिकट बाँड्न पाइयोस भन्ने अधिकांश जिल्ला सभापतिको मनाशय छ । त्यसैले आन्दोलन गरिएको हो’, संस्थापनका नेताहरुको दावी छ ।

संस्थापनइतर समूहका नेताहरु भने आन्दोलन विधिवत महाधिवेशनको पक्षमा भएको दावी गर्छन् । मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बु सदस्यता सार्वजनिक नहुँदा महाधिवेशन निष्पक्ष नहुने दावी गर्छन् ।

‘क्रियाशील सदस्यता क–कसलाई दिइयो ? हामीले जान्नै नपाउने हो र ? एकैपटक मतदाता नामावली ल्याउने तयारी छ तर क्रियाशीलमा त्रुटि भए सच्याउने व्यवस्था छैन । यसले धाँधली बढाउँछ’, लिम्बुले भने । उनले एकमात्रै प्रतिनिधिसभा क्षेत्र भएको जिल्लाका सभापतिलाई महासमितिमा सहभागी हुन रोक लगाउने व्यवस्था भएकोले सच्याउन माग गरिएको बताए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहमतिविरुद्ध आन्दोलन नभएको बताउँछन् । क्रियाशील सदस्यताबारे भएको सैद्धान्तिक सहमति सही भएपनि कार्यान्वयनमा गरिएको धाँधलीविरुद्ध जिल्ला सभापतिहरुले आन्दोलन गरेको पौडेलको भनाइ छ ।

‘सहमतिविरुद्ध आन्दोलन भएकै होइन । सहमति त ठीक छ नि ! सबै त्यहीअनुसार गर्नुपर्यो नि ! क्रियाशीलको सूची त हामीले हेरेको छैन नि ! सूचीमै गडबड गरिँदैछ । त्यो सूची सार्वजनिक गरेर गडबड गरेको भए सुधार्न त पर्यो नि’, पौडेलले भने ।

उनले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने माग सामान्य रहेको र सामान्य कुराका लागि अनसन बस्नुपर्ने अवस्था आउनु दुखद भएको बताए ।

‘मेरो सदस्यता छ कि छैन भनेर हेर्न नपाउने ? सूची नै नआउने हो भने अधिवेशन केले गर्न खोजेको हो । त्यसैले बेलैमा सूची आउनुपर्छ भनेका हौ’, पौडेलले भने । उनले क्रियाशील सदस्यता छानबिन समिति र सिटौला नेतृत्वको समितिले गरेको सहमतिमा आफूहरु प्रतिबद्ध रहेको बताए ।

कांग्रेसको वडा अधिवेशन भदौ १८ गतेका लागि तोकिएको छ । सभापति देउवाले तत्काल माग सम्बोधन गरेर महाधिवेशन निश्चित गर्नुपर्ने संस्थापनइतर समूहको भनाइ छ ।


प्रतिक्रिया

2 thoughts on “सहमतिको मसी नसुक्दै पौडेल पक्षको आन्दोलन किन ?

  1. संस्थापन पक्ष भनाउदा सेरबहादुरहरु अनेकौं जालझेल तिकडमबाजि गरेर भए पनि पर्तिपक्ष लाई दबाबमा राखि राख्ने र हरेक स्थितिमा अवसरबाद लागू गर्ने जुक्ति अपनाइरहेकाछन।अर्को तिर रामचन्द्र पाैडेलहरु चाकडी गरेरै भए पनि अाफ्नालाइ मुलुक काे ठूलो अाेहाेदामा पुर्‍याउन कदम चालिरहेकाछन।यिनिहरु मा कहाँ छ निस्ठाकाे राजनीति ? सबै स्वार्थका लागि खुट्टा उचालिरहेकाछन।राजनीतिक सस्कार केही हद काेइराला पक्षमा छ,तर उनिहरु पनि निरिह्य भएर सेरबहादुरकै मियाे वरिपरि घुमिरहेका छन ,वास्तवमा सेरबहादुर लाई सभापति बाट धकेल्न सके कांग्रेस काे छबि भबिश्यमा केही हदसम्म उक्सिन सक्छ कि भन्ने अनुमान गर्न सकिन्छ ।तर सेरबहादुर लाई चाकडी गरेर पेटभर्न पल्केकाहरु बाट बच्न भने तेत्तिकै कठिन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर