तयार भयो गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, कोरोनाका कारण परीक्षण उडानमा ढिलाइ (भिडियोसहित) – Nepal Press

तयार भयो गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, कोरोनाका कारण परीक्षण उडानमा ढिलाइ (भिडियोसहित)

रुपन्देही । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन महिनाअघि नै क्यालिब्रेसन फ्लाइट गर्ने तयारी थियो । तर कोरोना संक्रमणका कारण विदेशबाट आउनुपर्ने जहाज र जनशक्ति नआउँदा अझै फ्लाइट हुन सकेको छैन । जसकारण विमानस्थलको लागत खर्चसमेत बढ्ने भएको छ ।

क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणहरुले काम गरेका छन् या छैनन् ? ककपिटका पाइलट र टावरका कर्मचारीबीच सम्पर्क भएको छ या छैन भनेर परीक्षण गर्ने विधि हो ।

उपकरणहरु जडानमा गल्ती भए क्यालिब्रेशन फ्लाइटमार्फत पत्ता लाग्छ र तत्काल उपकरण परिवर्तन गर्न सकिन्छ । क्यालिब्रेशन फ्लाइटपछि मात्रै परीक्षण उडान हुन्छ ।

विमानस्थलको टावर, धावनमार्गलगायतका क्षेत्रमा आवश्यक विद्युतीय उपकरणहरु जडान गर्ने काम चैत दोश्रो हप्तामै सकिएको थियो । विमानस्थलको भौतिक कामहरु साढे ९७ प्रतिशत सकिएको छ ।

विमानस्थल निर्माण आयोजना ‘आईसिबी टू’का प्रमुख इन्जिनियर प्रवीण न्यौपानेले केही सामान ल्याउने जिम्मा पाएको थाइल्याण्डको एरोथाई कम्पनीले थाइल्याण्डकै कम्पनीबाट ल्याउन पहल गरे पनि कोभिडका कारण ल्याउन नसकेपछि आयोजनाको कार्यालयले भारतबाट ल्याउने प्रयास गरिरहेको बताए ।

उनका अनुसार थाइल्याण्डबाट सहज हुनेबित्तिकै सामान आउने आश्वासन छ तर त्यहाँको सरकारले आफ्ना नागरिकलाई बाह्य मुलुक जान रोकेको कारणले आउन सकेको छैन ।

परराष्ट्र मन्त्रालयले भारत सरकारसँग सहयोगका लागि आग्रह गरे भारतबाटै क्यालिब्रेशनका लागि जनशक्ति र जहाज आउनसक्ने उनीहरुको अनुमान छ ।

भारतीय विमानपत्तन प्राधिकरण भारतको सरकारी संस्था हो । भारतीय विमानपत्तन प्राधिकरण (एअरपोर्ट अथोरीटि अफ इन्डिया)सँग क्यालिब्रेशन फ्लाइटमा प्रयोग हुने जहाज, उपकरण र दक्ष प्राविधिक छन् ।

त्यसैले पनि नेपाल सरकारले यस विषयमा सिधै भारत सरकारसँग सहयोग माग गरे सहज रुपमा उपलब्ध हुनसक्छ । अहिले भारत नेपाल (दिल्ली-काठमाडौं) हवाई उडान पनि सुरु भैसकेकाले सरकारले समन्वय गरे छिट्टै हुने आयोजनाका अधिकारीको भनाइ छ ।

‘क्यालिब्रेशन फ्लाइटका लागि आवश्यक तयारीमा जुटेका थियौं, तर वैशाखबाट कोरोना संक्रमणको जोखिम बढेसँगै अहिले रोकिएको छ, हाम्रो लक्ष्य अक्टोबरभित्र क्यालिब्रेशन फ्लाइट गर्ने हो’, इन्जिनियर न्यौपानेले भने, ‘जतिबेला पनि क्यालिब्रेशन फ्लाइट गर्नसक्ने अवस्थामा छौ, उपकरणहरु सबै जडान भैसकेको छ ।’

स्वदेशी र विदेशी कामदार आईसिबी वानअन्तरगत टर्मिनल भवनको बाँकी काम सक्न लागिपरेका छन् । टर्मिनल भवनको काम नसकिए पनि क्यालिब्रेशन फ्लाइटलाई कुनै अप्ठेरो नपर्ने विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।

अधिकारीका अनुसार अहिले टर्मिनल बिल्डिङको प्रस्थान र आगमन कक्षको फर्स सिलिङ र एअर कन्डिशन जडान गर्ने काम भइरहेको छ ।

एअर कन्डिसनका पाइपहरु फर्ससिलिङभित्र राख्नु पर्ने र एअर कन्डिसनको परीक्षणका लागि चीनबाटै प्राविधिक आउनु पर्ने भएकाले त्यो काममा ढिलाइ भएको छ ।

अधिकारीका अनुसार एउटा एक्सरे मेशिनबाहेक विदेशबाट आउनुपर्ने त्यस्तो कुनै महत्वपूर्ण उपकरणहरु आउन बाँकी छैन । धावनमार्गका लाइट्स, कन्ट्रोल टावर, कन्भेएर बेल्ट मेसिन, ब्यागेज ह्यान्डलिङ सिष्टमलगायतका सबै काम सकिएका छन् । ‘कोरोना भाइरसका कारण विदेशबाट प्राविधिक आउन नसकेर ढिला भएको हो, सहज हुनेबित्तिकै ब्रेक थ्रु हुन्छ’, उनले भने । त्यस्तै विमानस्थलको भन्सार तथा कार्गो भवन पनि निर्माणको अन्तिम चरणमा छन् ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले जिम्मा लिएको थियो । कम्पनीसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट आईसिबी जीरो वान प्रोजेक्ट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता भएको थियो ।

सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्ने गरी २०१५ जनवरीमा निर्माण सुरु गरिएको विमानस्थलको ठेक्का सम्झौता १३ नोभेम्बर २०१४ मा गरिएको थियो ।

सुरुवाती चरणमा ठेकेदारको ढिलासुस्ती, मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीचको आपसी मतभेद, तराई-मधेस आन्दोलन, भारतीय नाकाबन्दी, नदीजन्य सामग्रीको अभावजस्ता कारणले ढिलाइ भएको आयोजना निर्माणको काम अन्तिम समयमा आइपुग्दा कोभिड १९ का कारण प्रभावित बन्यो ।

आईसिबी जिरो १ अन्तर्गत ६ अर्ब २२ करोड लागतमा निर्माण भइरहेको छ भने आईसिबी जिरो २ अन्तर्गत विद्युतीकरण तथा लाईट जडान र मार्किङका लागि ५६ करोेड बढी बजेटमा काम भइरहेको छ ।

यसरी आयोजनाको लागत करिब ७ अर्ब पुगेको छ । पहिलो चरणको काम अर्थात् आइसीबी १ मा एडीबीको ४० दशमलव पाँच प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फण्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३० दशमलव पाँच प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ ।

निर्माणतर्फ पनि आइसिबी १ अन्तर्गत चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन र आइसिबी २ अन्तर्गत एरो थाइ कम्पनीले ठेक्का सम्झौता गरेको हो ।

यो विमानस्थल संचालनमा आएपछि हाल त्रिभुवन विमानस्थलमा आउने सबै किसिमका जहाजहरु यहाँबाट पनि सुरक्षित रुपमा अवतरण गर्ने र उडान गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर