महासंघको विधान संशोधन हुँदै, ९५ प्रतिशत सुझाव प्रत्यक्ष निर्वाचित अध्यक्षको पक्षमा – Nepal Press

महासंघको विधान संशोधन हुँदै, ९५ प्रतिशत सुझाव प्रत्यक्ष निर्वाचित अध्यक्षको पक्षमा

चन्द्र ढकाल अध्यक्ष हुन भने नरोकिने

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनको काम अगाडि बढेको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अटाएर चुनावी प्रतिस्पर्धाबाट नै अध्यक्ष चुनिने गरी व्यवस्था गर्न लागिएको हो ।

विधान संसोधनका लागि सबै प्रदेशस्तरीय महासंघका कार्यालय र ७७ वटै जिल्लाका उद्योग वाणिज्य संघ र जिल्ला/नगर संघहरुको सुझाव केन्द्रमा आइसकेको छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुन भने नरोकिने गरी विधान संशोधनको काम अगाडि बढेको हो ।

महासंघमा विधान संशोधनको विषय लामो समयदेखि उठिरहेको थियो । हरेक चुनावको बेला सबैले विधान संशोधनको कुरा उठाउने गरेका छन् । महासंघमा व्यक्तिविशेषलाई पदमा पुर्याउन वा हटाउनका लागि विधान संशोधन हुने गरेको आरोपसमेत लाग्दै आएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले समयअनुसार सबै कुरा परिवर्तन हुँदै जाने बताउँछन् ।

‘अहिले आवश्यक ठानेर सबैको माग बमोजिम विधान संशोधनको काम अगाडि बढेको हो,’ उनले भने ।

हाल उपाध्यक्ष रहेकोहरु भने विद्यान संशोधनको विपक्षमा देखिएका छन् । विद्यान संशोधन भएर अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन प्रणालि भएमा हाल उपाध्यक्ष भएकाहरु पुनःउपाध्यक्षमा नै चुनाव लड्नु पर्ने हुन सक्छ । अध्यक्ष खुला गर्दा आकांक्षी धेरै हुने भएकाले त्यसमा प्रतिस्पर्धा पनि कठिन हुन्छ ।

विधान संशोधन समितिका सदस्य किशोर प्रधानले जिल्ला तहका संघहरु प्रत्यक्ष निर्वाचित अध्यक्षको पक्षमा रहेको बताउँछन् ।

प्रधानले भने, ‘जिल्ला/नगरका सबैले विधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित अध्यक्षको पक्षमा सुझाव पठाएका छन् । निजी क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न पनि विधान संशोधन हुन आवश्यक छ ।’

विधान संशोधन समितिले जिल्ला, प्रदेश र केन्द्रको सुझावबारे कार्यसमितिलाई प्रतिवेदन बुझाउँछ । त्यसका आधारमा कार्यसमितिले निर्णय गर्ने हो । वस्तुगत, जिल्ला नगर र एसोसिएट्सलाई आफ्नो सुझाव पठाउन महासंघले पत्र पठाएको थियो । वस्तुगत, जिल्ला–नगर र एसोसिएट्सबाट आएको सुझाव हेर्दा ९५ प्रतिशतले विधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रणालीको पक्षमा देखिएको प्रधानको भनाइ छ ।

महासंघको चैतमा हुने साधारणसभाभन्दा अगाडि नै विशेष साधारणसभा बोलाएर विधान संशोधनको लागि सहज गरिने उनले जानकारी दिए ।

महासंघका उपाध्यक्ष दिनेशलाल श्रेष्ठले विधान संशोधनमा अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्ने विषय मात्रै नभएको बताउँछन् ।

उनले भने, ‘प्रत्यक्ष निर्वाचित अध्यक्षभन्दा पनि वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था नै ठीक छ । वरिष्ठ उपाध्यक्षसँग कामको अनुभव पनि हुन्छ । पछि स्वतःअध्यक्ष भएपछि उसलाई सहज हुन्छ । तर अन्य कुराहरुमा संशोधन गर्न सकिन्छ ।’

त्यसो त निजी क्षेत्रका अन्य संस्थाहरुमा पनि वरिष्ठ उपाध्यक्ष स्वतःअध्यक्ष हुने प्रावधान रहेको छ । नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघमा पनि वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुन्छन् । केही समयअघि चेम्बरका वरिष्ठ उपाध्यक्ष र नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष स्वतःअध्यक्ष भएका थिए ।

महासंघको विधान संशोधन समितिको संयोजकमा कुशकुमार जोशी रहेका छन् । सदस्यमा किशोर प्राधान र पशुपति मुरारका लगायतका पूर्वअध्यक्षहरु छन् । नेपाल सरकारपछिको ठूलो देशब्यापी सञ्जाल महासंघको नै छ । महासंघको प्रत्येक प्रदेश र जिल्लामा संघहरु रहेका छन् ।

महासंघको चुनाव पनि राजनीतिक दलको भन्दा खासै फरक हुँदैन । विभिन्न दलले आफू निकट महासंघका गुट र नेताहरुलाई संरक्षण गर्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर