चौंथाइवालेको नेपाल भ्रमण : के काठमाडौं र दिल्लीको सम्बन्धमा सुधार आउन थालेको हो ? – Nepal Press

चौंथाइवालेको नेपाल भ्रमण : के काठमाडौं र दिल्लीको सम्बन्धमा सुधार आउन थालेको हो ?

काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)का विदेश विभाग प्रमुख विजय चौंथाइवाले अहिले चारदिने काठमाडौं भ्रमणमा छन् । आइतबार बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गर्दै उनले काठमाडौं भ्रमणको थालनी गरे ।

सोमबार चौथाइवालेले प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली, मधेशी नेता महन्थ ठाकुर लगायतलाई भेट गरे । कांग्रेस नेता प्रकाशशरण महतको निम्तामा काठमाडौं आइपुगेका भनिएका चौंथाइवाले ठीक यही समयमा काठमाडौंमा आइपुगेका छन् जतिबेला दार्चुला घटनाको छानविन भैरहेको छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकारलाई स्थायित्व दिन प्रयत्न गरिरहेका छन् ।

दार्चुला, खोप र राजधानीजस्ता मुद्दाले काठमाडौं र दिल्लीको राजनीतिमा विश्वासको संकट रहेको भनिएको बेला चौथाइवोलेको भ्रमण भएको छ । प्रधानमन्त्री देउवा र मुख्य प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीसँगको भेटमा बीजेपी र सम्बन्धित नेपाली पार्टीको सम्बन्ध बलियो बनाउनेबारे छलफल भएको स्वयम चौथाइवालेले टीव्टमार्फत व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह निकट मानिएका नेता चौथाइवालेले काठमाडौंमा गरेको राजनीतिक भेटघाटबारे विभिन्न अड्कलबाजी काटिएको छ । मोदीले चौथाइवालेमार्फत देउवालाई भारत भ्रमणको निम्तो दिएको पनि अनुमान गरिएको छ । आठ महीनाअघि तत्कालिन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट चौथाइवालेले भेट गरेपछि नेकपा विवाद सिर्जिएको थियो ।

लिपुलेक, कालापानी र लिम्पियाधुराजस्ता सीमा विवादको कारण सन् २०२० देखि काठमाडौं र दिल्लीको सम्बन्धमा निकै उतारचढाव छ । केही महीनादेखि काठमाडौं र दिल्लीको सम्बन्ध अपेक्षित सुखद छैन । गत महीना भारतीय सशष्त्र सीमा बल (एसएसबी)ले तुइन काटिदिँदा एक नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भए । सरकारले यो घटनाको छानविन गर्न गठन गरेको समितिले एक महीनादेखि निर्णय दिन सकेको छैन । यो समितिको म्याद मंगलबार सकिँदैछ । छानविन समितिले निष्कर्ष दिन नसक्दा परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाउन सकेको छैन । तीन साता हुँदा पनि परराष्ट्रले स्पष्ट दृष्टिकोण दिन नसक्दा सरकारको आलोचना भैरहेको छ ।

सीमा र दार्चुल प्रकरणले काठमाडौं र दिल्लीको सम्बध सुधार गर्न चौथाइवाले आएको कूटनीतिका जानकार बताउँछन् । भारतका लागि पूर्वनेपाली राजदूत लोकराज बराल चौथाइवालेको काठमाडौं भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्धमा सुधार आउने बताउँछन् । ‘सीमा र पछिल्लो समय दार्चुला घटनाले दुई मुलुकबीचको उत्पन्न अविश्वासलाई चौथाइवालेको भ्रमणले सुधार्ने आशा राख्न सकिन्छ तर, ठूलो परिवर्तन भन्ने हुन्न’ बराल भन्छन्, ‘अर्कोतर्फ, नेपालको पछिल्लो परिस्थितीबारे भारत सरकार र बीजेपीलाई रिर्पोटिङ दिने काम पनि हुनसक्छ ।’

नेपालको मुड बुझेर चौथाइवालेले दिल्लीलाई रिर्पोटिङ गर्न सक्ने बरालको कथन छ । परराष्ट्रविद दिनेश भट्टराई ठूलो देशको नाताले सम्बन्ध सुधार र औपचारिक वार्ताका संयन्त्रहरुको क्रियाशिलताका लागि दिल्लीले पहल गर्नुपर्ने बताउँछन् । ‘भूगोलदेखि अन्य विविध कारणले हामीले एकअर्काबीचको विश्वास र सद्भावना बढाउनुपर्छ । राजनीतिक सम्बन्ध पनि एक तह माथि लैजानुपर्छ’ भट्टराईले भने ।

देउवा सरकार बनेपछि नेपाल भ्रमणमा आउनेमा चौथाइवाले उच्च भारतीय नेता हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर