सैनामैनामा गाउँब्लक जग्गाको नापजाँच थालियो, दुई महिनाभित्र पूर्जा दिइने – Nepal Press

सैनामैनामा गाउँब्लक जग्गाको नापजाँच थालियो, दुई महिनाभित्र पूर्जा दिइने

रुपन्देही । नगरपालिकामा रहेका गाउँब्लक जग्गाको समस्या समाधान गर्न रुपन्देहीको सैनामैना नगरपालिकामा जग्गाको नापजाँच सुरु गरिएको छ ।

नगरपालिकाका अनुसार सैनामैनामा करिब ४ सय गाउँब्लक जग्गाधनी छन् । पहिले नापी गर्दा गाउँबस्तीको घरजग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँब्लक जग्गा भन्ने गरिएको छ ।

सैनामैना नगरपालिका र नापी कार्यालय रुपन्देहीको सहकार्यमा पूर्वपश्चिम लोकमार्गदेखि उत्तरतर्फको क्षेत्रमा रहेका गाउँब्लक जग्गाको नापजाँच सुरु गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।

उनले दुई महिनाभित्रमा वडा नं ५, ६, ८ र ९ को पूर्व–पश्चिम राजमार्गको उत्तर भेग पर्ने गाउँब्लकहरुको जग्गा नापजाँच गर्ने, श्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने जानकारी दिए ।

कार्कीले साविक दुधराक्ष गाविस अर्थात हालको वडा नं. ५ देखि ९ का सम्पूर्ण पुराना थारु समुदायका गाउँ बस्तीहरुमा रहेका गाउँ ब्लक (डि–ब्लक) जग्गाहरुको नापजाँच सुरु गरिएको र छिट्टै उनीहरुलाई पूर्जा वितरण गर्ने तयारी गरेको जानकारी दिए ।

‘यी जग्गाहरु विशेषगरी आवासका लागि योग्य छन्, सबैजसो जग्गामा अहिले पुरानो बस्ती बसिरहेको छ ।’ उनले भने ‘जग्गाहरुको नापजाँच गर्ने, श्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने गरी तीव्रताका साथ काम गर्छौं, हामी जनप्रतिनिधिले नापी कार्यालयलाई आवश्यक सबै सहयोग गर्ने र पूर्जाबिहीन नागरिकलाई छिट्टै पूर्जा दिनेछौं । ’

साविक पर्रोहा र साविक सालझण्डीमा रहेका गाउँब्लक जग्गाहरुको काम यसअघि नै सम्पन्न भइसकेको बताउँदै कार्कीले साविक दुधराक्ष गाविस प्राविधिक कारणले अहिले शुरु गरेको बताए ।

नगरपालिकाका अनुसार अर्को डेढ दुई महिनामा राजमार्गदेखि दक्षिणतर्फ पर्ने गाउँ ब्लक जग्गाको नापजाँच गरी जग्गाधनी पूर्जा उपलब्ध गराइने छ । जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउनका लागि जनप्रतिनिधि, गाउँब्लक जग्गाधनी, राजनीतिक दल, नापी विभागलगायत सबैको सहकार्य आवश्यक रहने प्रमुख कार्कीको भनाइ छ ।

नापी कार्यालय रुपन्देही प्रमुख अजित कुँवरले रुपन्देहीमा गतवर्षको १३ सय ५० गाउँ ब्लक जग्गाहरुमध्ये १ सय गाउँ ब्लक जग्गाहरुको काम भइरहेको बताए । विशेषगरी दक्षिण भेगतिर गाउँब्लक जग्गाहरुको काम बाँकी रहेको बताउँदै उनले जनशक्तिको अभावका कारण पनि नापजाँच हुन समस्या भइरहेको उल्लेख गरे ।

कुँवरले सैनामैनामा वितरण गर्न बाँकी रहेको साविक दुधराक्षको ३७ विगाह १२ कठ्ठा ६ दुर जग्गाको पूर्जा वितरणका लागि नगरपालिकाको पहलमा नापी विभागले काम सुरु गरेको बताए । उनका अनुसार अहिले सैनामैनामा ८ वटा ब्लकहरुको नापजाँच गरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर