कांग्रेस क्रियाशील सदस्यता विवाद आज टुंग्याइँदै – Nepal Press

कांग्रेस क्रियाशील सदस्यता विवाद आज टुंग्याइँदै

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी बाँकी विवाद आजै टुंगो लगाइने भएको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला , डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले आज साँझ ५ बजेभित्रमा प्रतिवेदन बुझाउने जनाएको छ ।

समितिले अधिकांश विवादबारे सहमति जुटाएपनि बारा, सप्तरी र रौतहटका विषयमा सहमति बनिसकेको छैन । ती जिल्लामा पुरानै सदस्यताबाट अधिवेशन गराउने वा प्रक्रिया पुगेबाहेकका सदस्यतालाई मात्रै स्थगन गर्ने भन्नेमा सहमति जुटेको छैन । समितिका सदस्यहरु अहिले आन्तरिक छलफलमा छन् ।

अपराह्न १ बजेपछि बालुवाटारमा समितिको बैठक बस्नेछ । सोही बैठकबाट अन्तिम टुंगो लगाएर ५ बजे प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने बताइएको छ ।

आज सहमति जुट्न नसके समितिका नेताहरुले आफ्नो रायसहितकै प्रतिवेदन बुझाउने भएका छन् । ‘आज ५ बजेसम्म बाँकी विवाद टुंग्याउन प्रयास गर्छौ । सहमति बन्यो भने बन्यो बनेन भनेपनि आ–आफ्नो रायसहितको प्रतिवेदन बुझाउँछौ’, समितिका एक नेताले भने ।

कांग्रेसको वडा अधिवेशन भदौ १८ गते हुँदैछ । क्रियाशील सदस्यता नटुंगिए पनि निर्वाचन समितिले अन्य तयारी थालिसकेको छ । क्रियाशील टुंगिनासाथ सबै जिल्लामा क्रियाशील सूची, निर्वाचन निर्देशिका र अन्य आवश्यक कागजातसहित प्रतिनिधि र निर्वाचन संयोजकहरु खटिनेछन् ।

पहाडी जिल्लाहरुमा आवश्यक परे हेलिकप्टरबाटै आवश्यक सामाग्री ढुवानी गर्ने कांग्रेसको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर