सौन्दर्यको आवरणमा लुकेको बाजुरेली व्यथा – Nepal Press
ट्राभल ब्लग

सौन्दर्यको आवरणमा लुकेको बाजुरेली व्यथा

गगनचुम्बी हिमाल अनि विशाल पाखा-पखेरा ! यस्तो लाग्छ- नेपालका अधिकांश जमिनले त आकाशले नै ओगटेको छ ! अनि महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेझैं भन्न मन लाग्छ- के नेपाल सानो छ ?

०००

रातिको ८–९ बजेतिर दाहिने खुट्टाको कुर्कुच्चातिर आँखा गएछन् । खुट्टामा नयाँ रातो कोठी पलाएछ । खुसी हुनपर्ने कुरा त थिएन तर रमाइलो लाग्यो ।

बिहानको ३ बजे ब्युँझिएछु । खुट्टा चिलाएर हैरान ! उज्यालो भएपछि थाहा पाएँ, सबै साथीहरु खुट्टा चिलाएर निदाउन सकेका रहेनछन् । खुट्टाभरि खटिरा उठेछन् । हिजो देखेर मख्ख परेको कोठी पनि फुटेछ ।

बुझ्दै जाँदा कालाजार गराउने स्यान्डफ्लाइको टोकाइले यतिबिघ्न भएको रहेछ । स्थानीयले यसलाई ठाउँअनुसार भुसुना, चल्ला, गाँडे किरालगायत नामले चिन्दा रहेछन् ।

डाँडापाखामा प्रशस्त हुने भएकाले यसको टोकाइबाट बँच्न जुत्तामोजासहित हिँड्नुपर्ने रहेछ । नयाँ ठाउँ गएपछि त्यहाँका विशेष कुरा केही छन् कि भन्ने बुझेर मात्र हिँड्नुपर्छ भन्ने पहिलो सिकाइबाट बाजुराको यात्रा सुरु भयो ।

सधैंभरी आफूलाई एउटा नर्स भनेर सम्बाेधन गर्न रुचाउने म आज एक फिरन्तेको रूपमा चिनाउन चाहन्छु । त्यो फिरन्ते जसले काठमाडौं उपत्यका बाहिर बिरलै खुट्टा राखेको थियो ।

पहिलो दिन बडिमालिकाको मना भन्ने ठाउँ जाँदै गर्दा एक अत्यन्तै मिजासिला बासँग गफिँदै बुढीगंगा खोलादेखि उँभो लागियो । उहाँको एउटै वाक्यले मनलाई छेड्यो नै । ‘तपाईंहरु काठमाडौदेखि आउनुभएको रहेछ, तपाईंहरुलाई त हामीले भगवान झैँ मान्नुपर्छ ।’

बाजुरा हेरिकन सुगम ठाउँमा बस्नेहरुलाई यसरी देवत्वकरण गरिनुका थुप्रै कारण होलान् तर मलाई व्यक्तिगत रूपमा भने त्यो दुर्गम गाउँमा अन्धविश्वासको भुमरीमा बसेर पनि बस्तुपालनको आडमा छोराहरु र आफ्नी बुहारीसमेतलाई पढाउनुभएका ती बुवा वास्तवमा भगवान झैँ लाग्यो ।

भोलिपल्ट रजालीको यात्रा थियो । बाटोमा गाडी फसेपछि टन्टलापुर घाम सहँदै सुन्दर गन्तव्य पुग्दा त्यहाँका स्वास्थ्यकर्मीले अबीर र लालीगुराँसको मालाले स्वागत गर्नुभयो । कोदोको हलुवा र त्यहाँको लोकल सिमीको तरकारीको स्वाद सम्झिँदा अझै पनि मुख रसाएर आउँछ । पश्चिमतिर पाइने सिमी साँच्चै निकै स्वादिलो हुन्छ । त्यसअघि जुम्लाको सिमी चाख्न पाएकी थिएँ ।

बडिमालिकाकै पाटा भन्ने ठाउँ निकै मनोरम रहेछ । धुलो मैलोरहित स्वच्छ वातावरण, त्यसमाथि सडक विस्तार गर्दा ताछिएका पाखामा प्याजी रंङका ढुंगाको दृश्यले रङ्गीन संसारको आनन्द महसुस गराउँदै थियो । त्यहाँबाट फर्कदँै गर्दा पानीघट्टले निकालेको फोहोराको छेउमा केही बालबालिका ढुंगा कुट्दै थिए ।

स्कुल सकिएपछि जीविकोपार्जनकै लागि उनीहरु केही पारिश्रमिकका लागि ढुङ्गा कुट्न जाँदा रहेछन् । दूरदराजमा जीविकोपार्जनका लागि हुने यस्ता अन्तरसंघर्षका तितामीठा कथाहरु त पृष्ठभूमिमै सेलाइरहेका छन् । यस्तै अन्तरसंघर्षबाटै अनेकौं प्रतिभाले जन्म पनि लिन्छन्, केहीले संघर्षको फल प्राप्त गर्छन् अनि धेरैले भने आफूभित्र कस्तो प्रतिभा छ भन्ने तथ्य नै थाहै नपाइ जीवन व्यतीत गर्दछन् ।

सौन्दर्यका अनेकन रूपः एउटा जीवन्त उदाहरण बाजुरा पनि हो । बाजुराका हरेक कुनाले मौलिक सुन्दरताको आभुषणमा आफूलाई बेरेका छन् । बाजुरा गएपछि घुम्न छुटाउनै नहुने ठाउँ बडिमालिका मन्दिर हो । यद्यपि बाजुराकै बूढीनन्दा मन्दिर क्षेत्र पनि उतिकै सुन्दर र रमणीय छ भन्ने जानकारी पाउँदा पाउँदै पनि यी दुवै ठाउँ जाने अवसर भने जुराउन सकिएन । ती स्थलका तस्बिरहरु हेर्दा र प्रत्यक्षदर्शीको कुरा सुन्दा मात्र पनि स्वर्गानुभूति हुन्छ ।

चैत वैशाखको समय, मार्तडीबाट कोल्टी जाँदा बाटोमा पर्ने पोरेखेको लालीगुराँसको पाखा निकै रमणीय देखिन्छ । उचाइ बढ्दै जाँदा राताबाट सेतामा परिवर्तित हुँदै गएका गुराँस, बाँझका आकारप्रकारका रुख, ठाउँठाउँमा देखिने हिमालका चुचुराले प्राकृतिक परिदृश्यलाई मनमोहक बनाएको थियो । सेतो गुराँसलाई चिमलो भनिँदोरहेछ अनि यसको फूल नखानु भन्दा रहेछन् ।

बूढीनन्दा नगरपालिकाको कोल्टीमा एयरपोर्ट छ । एयरपोर्ट क्षेत्र भएर पनि उक्त ठाउँको विकासले अग्रगति चाहिँ नपाएको हो कि जस्तो लाग्छ ।

कोल्टीबाट १५–२० किलोमिटर पर हिमाली गाउँपालिकाको धुलाचौर भन्ने ठाउँ निकै रमाइलो लाग्यो । निलो कर्णाली खोलामा रहेको मुगु र बाजुरा जोड्ने झोलुङ्गे पुलमाथि बसेर सरर बहिरहने हावाको शितलता महसुस गर्नुको आनन्द अवर्णनीय हुन्छ; त्यहाँबाट देखिने प्रकृतिको रंगीन परिदृश्य झनै मनमोहक ।

पर्यावरणको हिसाबले धुलाचौर निकै रमाइलो लागेको थियो (वर्षायाममा बाजुराका माथिल्ला भेगहरुमा बाढी पहिरोको उच्च जोखिम हुन्छन्, छुट्टै कुरा) । स्थानीय एउटी नानीलाई सोधेकी थिएँ, ‘नानी तिमीलाई यो ठाउँ कतिको मन पर्छ ?’ उनले जवाफमा ‘यो ठाउँ मन नै पर्दैन’ भनेकी थिइन् ।

सुगमका मान्छे सुविधा छोडेर खाली समय विचरण गर्न सुन्दर ठाउँहरु जान्छन् र मन भुलाएर आउँछन् । तर उनीजस्ता हजारौँ–लाखौँ बालबालिका रमणीय ठाउँको बासिन्दा भएर पनि खासै सन्तुष्ट छैनन् । किनकि उनीहरु पनि आफ्नो क्षमता र दक्षता निखार्ने अवसर प्राप्त गर्न चाहन्छन्, प्रविधिका उपलब्धीसँग आफूलाई जोडेर सन्तुष्टि लिन लालायित छन् तर यी अवसरहरुको चरम अभाव धुलाचौर मात्र नभइ नेपालका थुप्रै ठाउँले अझै पनि व्यहोर्नुपरेको छ । सुखसयल, खुसी अनि सन्तुष्टिको कुनै निश्चित स्रोत हुँदैन, यी त सम्पूर्णरूपमा व्यक्ति र परिस्थितिअनुरुप सापेक्ष हुन्छन् ।

बाजुरा यात्राको सबैभन्दा महत्वपूर्ण भ्रमण हिमाली गाउँपालिकाको बिच्छ्याँ भन्ने ठाउँ रह्यो । धुलाचौरबाट बिच्छ्याँ जाने दुईवटा बाटा पत्ता लगायौं । एउटा हुम्लाको जिमानासम्म बोलेरो यात्रापछि ७–८ घण्टा पैदल यात्रा (हिँड्ने बानी नपरेकाको लागि) र अर्को धुलाचौरदेखि कवाडीसम्म बोलेरो यात्रापछि ९ घण्टा जति पैदल यात्रा । छिटो–छिटो हिँड्ने त्यहाँका बासिन्दालाई भने ती यात्राहरु हाम्रा लागिभन्दा ठ्याक्कै आधा समय कम लाग्ने रहेछ ।

हामी हुम्ला हुँदै गयौं । जिमाना ओर्लेर त्यो दिनसम्मको सबैभन्दा लामो पैदलयात्रा सुरु गरेकी थिएँ । यात्रा गर्दैगर्दा त्यहाँको परिवेश मनमनै गम्न थालें । घरहरु एक अर्काबाट कति टाढा टाढा । न त सुरक्षाको नाममा सुरक्षाकर्मी, न त केही भवितव्य परिआएमा छिमेकी । न त टाढा टाढासम्म स्कुल, न त घना बस्ती ! फोनमा नेटवर्क पनि बल्ल बल्ल भेटिन्थ्यो । महिला अधिकार, मानव अधिकार, सुरक्षा, यिनको तात्पर्य यहाँ साबित भएको होला त ? के यी शब्दावलीसँग मात्र पनि यहाँका मानिस साक्षात्कार छन् त ?

मलाई पढ्दै गर्दाको एउटा घटना याद आयो । दुर्गमकी एउटी १८–१९ वर्षीया युवती आफन्तद्वारा बलात्कृत भएपछि गर्भपतनका लागि ल्याइएको थियो । तर उनलाई न त त्यो प्रकृया यौन सम्पर्क हो भन्ने थाहा थियो न त त्यसले गर्भ निम्त्याउँछ भन्ने नै । महिनावारी रोकिएपछि पिसाब जाँच गर्दा गर्भ रहेछ भन्ने थाहा पाएपछि बल्ल वास्तविकताको पर्दा उघारिएको रहेछ । त्यो पातलो बस्तीमा हिंसा भैहाले पनि कसले चाल पाउँछ होला र ?

महिला हिंसाका किस्साहरु बाहिरिनेबित्तिकै माइतीघरमा धेरैले नारा लगाउछन्, धेरै भाइरल पनि हुन्छन् । तर दुर्गममा हुने हिंसाका कारण कतिले खोजेका छन् ? फाँसीको सजायँबारे धेरैले बोले, कतिले हिंसा न्यूनीकरणका लागि रचनात्मक सुझाव दिएका छन् ? कतिले सामाजिक बनोटबारे रिसर्चमा आधारित अध्ययन गरेका छन् ? जेल र फाँसी त हिंसापछिका कुरा हुन्, हिंसाको मूल जड खोजेर त्यो फाटोलाई कसरी भर्ने, महिला सशक्तीकरण कहाँ कहाँ गर्ने, शान्ति र सुरक्षा सहरमा मात्र सीमित नगरेर एक–एक भइ छरिएर बसेका दुर्गमका घरमा पुर्याउने कि नपुर्याउने ? सोच्न आवश्यक छ ।

गन्तव्य त्यतिबेला सुन्दर लाग्छ, जतिबेला तपाईंको यात्रा निकै कष्टकर हुन्छ । ८ घण्टाजतिको पैदल यात्रापछि बिच्छ्याँ गाउँ पुग्दा संसारकै सुन्दर ठाउँ पुगेझैँ महसुस भएको थियो । बिच्छ्याँमै काम गर्ने एक अत्यन्तै जुझारु स्वास्थ्यकर्मीसँग हामी उनकै घर धुलाचौरदेखि विच्छ्याँ (उनको कार्यक्षेत्र) गएका थियौं ।

उनी तिनै बाटो हुँदै घर जाने–आउने, धुलाचौरबाट खोप, औषधिलगायत स्वास्थ्य सामग्री ल्याउने, रिपोर्टिङ गर्न जाने आदि गर्छिन् । बाटो यति एकलासको छ कि, केही समयअघि डडेल्धुराको दुर्गम गाउँको यस्तै ठाउँमा खोप लिन हिँडेकी स्वास्थ्यकर्मीको अप्रत्याशित मृत्यु (हत्या) भएको कुरा झल्झली याद आउँछ । दुर्गममा स्वास्थ्यकर्मी कति असुरक्षित छन्, तर पनि कर्तव्यपथमा भने डटिरहन्छन् । हरेक महिना बिच्छ्याँबाट हिँडेर दुई दिनमा पुगिने गाउँहरुमा गएर बालबालिका तथा गर्भवतीहरुलाई खोप तथा स्वास्थ्य जाँचको सुविधा दिएर पुनः दुई दिनको यात्रा गरेर त्यहाँका स्वास्थ्यकर्मीहरु आफ्नो कार्यक्षेत्र फर्किन्छन् ।

यिनै स्वास्थ्यकर्मीहरुको यो कठोर योगदानबापत हिमाली गाउँपालिका ‘पूर्ण खोप पालिका’ घोषित छ । यसरी उच्च जोखिम मोलेर पनि गर्भवती, सुत्केरी, नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य संरक्षण गरी रोग तथा मृत्युदर घटाउने हरेक स्वास्थ्यकर्मीको उचित मूल्यांकन राज्यले गरेको छ त ? स्वास्थ्यकर्मीलाई अवहेलना गर्ने जनताले बुझेका छन् त ?

एकरात बिच्छ्याँमा बिताएको दिन अवस्मरणीय छ । फोनको नेटवर्क भेटिने एक दुई ठाउँलाई खोजेर तोकिएको छ । दायाँबायाँ फोन हल्लिएपछि नेटवर्क हराउने । धेरै टाढादेखि ल्याइएका पसलका सामान त्यहाँ पुग्दैनथ्यो, किन्न पनि मनले मानेन ।

फर्किँदा कवाडी झर्ने बाटो फर्कियौं । धेरै टाढा एउटा मात्र झुपडी भएको ठाउँ पुगेपछि एउटी महिलाले हामीलाई देख्नेबित्तिकै झुकेर नमस्कार गर्नुभयो । फेरि पनि ‘नमस्कार’ कुनै टिप्पणी गर्ने कुरा त होइन तर बाटो हिँडिरहेको सहरियाजस्तो देखिने बटुवाले कुनै कर्मबिना नै नमस्कार–सम्मान पाउनुभित्र धेरै भाव लुकेका छन् । उनको भाव निकै निश्चल थियो तर म कुनै तवरले त्यो अभिवादनको हकदार थिइनँ (आगन्तुकलाई अभिवादन गरिनु हाम्रो संस्कार हो, छुट्टै कुरा) । अभिवादनलाई उनले आफ्नो क्षेत्रको पनि समानता र समतामूलक विकास होस भनेर झिनो आशासहित झकझक्याइरहेको आवाजको रूपमा स्वीकार्न चाहें । त्यो समानताको अधिकार प्राप्त भएमा सायद उनीजस्ता हजारौं जनता सधैं शीर उँचो पारेरै बस्नेछन् ।

बिहान ६ः३० देखिको लामो यात्रा, पसिनाले छिनमै निथ्रुक्क भइन्थ्यो । साथमा लगेको बोटलको पानी रित्तियो । बाटामा भेटिनु भएका यात्रुहरुलाई सोधेपछि थाहा भयो, पर-परसम्म पानीको स्रोत छैन । नभन्दै प्यासले अत्यास लागेको शरीर लगभग ५ घण्टा हिँडेपछि कवाडी खोलाको पानी पिएर बल्ल तृप्त हुन पायो । पानी त सफा नै देखिन्थ्यो तर शुद्ध जरुर थिएन । परिस्थितिबाट हारेपछि यो पनि स्वीकार्नै पर्ने भयो । पिउनको लागि प्यास अनि खानको लागि भोकभन्दा मीठो अरु केही होइनन्, गज्जबकै पाठ सिकियो ।

फर्कदैँ गर्दा हाम्री साथी बिरामी परिन् । उनलाई बेस्सरी पेट दुख्न थाल्यो । सकिनसकी बल्लबल्ल एउटा टिनले बारेको पसलमा पुगियो । साउनीले मरिच, नुन हालेर पानी तताएर ल्याइदिनुभयो । त्यहाँबाट कवाडी पुग्न अझै ५–६ किमी बाटो बाँकी नै थियो । वरिपरिका मान्छेहरु साथी बिरामी भएकोबारे स्थानीय भाषामा बोल्दै थिए । पसलकी साउनीले कालो भटमास र अक्षताले पन्छाउँदै भन्नुभो, ‘पक्कै दोबाटोको भूत लागेको हो, फुकेपछि निको हुन्छ, झाँक्रीकोमा लैजानुपर्छ, दुईवटा कुखुरा बली चढाउनुपर्छ, झाँक्रीले दुईचार थप्पड लगाएपछि बल्ल निको हुन्छ ।’

यति सुनेपछि एकछिन त मैले आफू स्वास्थ्यकर्मी हुँ भन्ने नै बिर्सिएँ । मनमनै हाँसो पनि लाग्यो, अनि झारफुकको पासोमा पनि परियो । तर वर्षौँदेखि उहाँहरुले गर्दै आएको विश्वासरूपी अन्धविश्वासलाई मेरो २–४ मिनेटको प्रतिवादले पक्कै टुटाउन सक्दैन थियो । बहाना पारेर त्यहाँबाट टाप कस्यौं । जसोतसो कवाडी पुगेर एम्बुलेन्स बोलाएर कोल्टी पुग्यौं ।

बिच्छ्याँजस्तै गौमुल गाउँपालिकाको अम्लिसको यात्रा पनि उत्तिकै रमाइलो रह्यो । एउटा भ्याली जस्तै देखिने बिचमा अम्लिस गाउँ र वरिपरि डाँडाको दृश्य रमाइलो थियो । मार्तडीबाट घटमुनासम्म गाडीमा अनि ७ घण्टा जति पैदलयात्रा गरेर हामी अम्लिस पुगेका थियौं ।

बाजुरा यात्राको एउटा घटना याद आइरहन्छ । एउटा सुन्दर गाउँ (नाम नखुलाएको)मा काठमाडौंदेखि स्वास्थ्यकर्मीको टोली आइपुगेको सुनेपछि बिरामी बच्चा बोकेर बच्चाको आमा र हजुरआमा त्यहाँको सामुदायिक स्वास्थ्य केन्द्र आइपुग्नुभयो । बच्चालाई जाँच्दा अत्यधिक झाडापखालाले जलवियोजन भइ लल्याकलुलुक अवस्थामा भिटियो । न त रुन सक्थ्यो, न त आमाको दुध खान ।

त्यहाँका ईन्चार्ज विदामा काठमाडौं जानुभएको थियो । हामीसँग स्वास्थ्य संस्था गएर कसैको उपचार गर्ने अनुमति त थिएन तर आकस्मिक अवस्थामा भने कर्तव्य निभाउने छूट थियो । बच्चाको अवस्था निकै नाजुक भएकाले मैले उसको परिवार, त्यहाँका जनप्रतिनिधि तथा बालरोग विशेषज्ञसँग छलफल गरें । हाम्रो टोली मिलेर बच्चालाई सुइबाट दिन मिल्ने, संस्थामा भएसम्मको औषधिहरु चलायौं । सोधपुछ गर्दै जाँदा बच्चालाई एक हप्ता जिल्ला अस्पतालमा भर्ना गरेर ल्याइएको रहेछ अनि फेरि समस्या देखिएपछि धामीले बच्चा बाँच्दैन भनेकाले जँचाउन नलगिएको उनीहरुले बताए ।

हामी नगएको भए बच्चाले उपचार नपाउने रहेछ । दिनभर औषधि चलाएपछि राति ८ बजेतिर बच्चा रुन थाल्यो र आमाको दूध चुस्न सक्ने भयो, चलमलाउन थाल्यो । म राति १० बजेसम्म बच्चा कुरेरै बसें । जलवियोजन पनि केही हदसम्म घट्यो । तर पनि बच्चालाई अस्पतालको उपचार आवश्यक थियो । परामर्श गरेर भोलि बिहानै जिल्ला अस्पताल लैजानु भनेर सम्झाएर पठायौं । काठमाडौं आएपछि खबर लिएको थिएँं, बच्चालाई निको भएछ ।

‘सबैका लागि स्वास्थ्य’ भनेर नारा लगाउँदै गर्दा २१ औँ शताब्दीको उपलब्धीबीच नेपालमा झाडापखालाले बालबालिकाहरुको मृत्यु हुने दुर्भाग्य अझै पनि उस्तै छ । धामीझाँक्रीको भरमा कसैको जीवन र मरणको रेखा कोरिने अन्धविश्वास अझै जीवित छ । कमसेकम सामान्य स्वास्थ्य समस्याको उपचारका लागि दक्ष जनशक्तिबाट एउटा अस्पतालमा उपचार पाउने दूरदराजका जनताको अधिकार आखिर कहिलेसम्म कुण्ठित भइरहन्छ ?

समस्याबीच पनि खुसी अनि असन्तुष्टिबीच पनि सुखका लागि संघर्ष; उकाली–ओरालीको कथा, माया र सम्मानका गाथा; मौलिक प्राकृतिक सौन्दर्यको खानी बाजुरा; जीवनको एक पर्याय हो । धेरैको घुम्ने उद्देश्य प्रकृतिसँग रमाउनु हुन्छ । कति सर्वेक्षणका लागि पनि जान्छन् । तर त्यो माटोलाई माया गर्ने उद्देश्यसहितको भ्रमण रह्यो भने पक्कै पनि जीवनको वास्तविक रंगसँग घुल्न पाइन्छ, अधिकांशको मात्र नभएर अल्पसंख्यकका पीडासँग साक्षातकार हुन पाइन्छ ।

बाजुरामा जस्तै देशभर टेलफोनको नेटवर्क नटिप्ने कति ठाउँ होलान्, नुन तेल किन्न दिनभरको यात्रा गर्नुपर्ने कति होलान् ? गुणस्तरीय शिक्षाको आशामा कति भविष्यहरु बाटो हेरिरहेका होलान् । जब कसैले यिनै कष्टकर दिनचर्या मनन गरी राष्ट्रको नेतृत्व सम्हाल्न प्रतिनिधित्व गर्लान्, अनि बल्ल समानता र समतामूलक समाजको परिकल्पनाले एउटा मूर्तरूप पाउला ।

पहाडी र हिमाली क्षेत्रमा विकास साच्चिकै एउटा चुनौती नै हो । पोहोर सालको बाढीले अम्लिसबाट मार्तडी फर्कने मुख्य बाटोको धेरै ठाउँ बगाएको रहेछ । कतैकतैको अप्ठ्यारो बाटो सम्झिँदा त आङ नै जिरिङ्ग हुन्छ । माइतीघरमा बसेर विरोध दर्साउनुभन्दा यस्ता भौगोलिक बनोट भएका क्षेत्रको पूर्वाधार विकासलाई कसरी दीगो बनाउने भन्ने विषयमा बौद्धिक बहस , छलफल र रचनात्मक विरोधमा बढी समय खर्चिन पाए सायद देश र जनता दुवैको महत्वपूर्ण समय फलदायी काममा समर्पित हुन्थ्यो होला ।

जे होस अम्लिसका मिहिनेती गाउँपालिका अध्यक्षज्यूले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत लिनुभएको नेतृत्वमा बन्दै गरेको गोरेटो बाटोले आधा बाटो भने राहत नै दियो । दुई तीन वर्षयता बाजुराका धेरै ठाउँमा स्थानीय सरकारको नेतृत्वमा बाटाघाटा भने धेरै बनेका रहेछन् , यातायात पनि सहज हुने हो भने विकासले पनि अग्रता पक्कै पाउनेछ ।

जीवन सधैं सोचेजस्तो सजिलो हुँदैन, संघर्ष पनि गर्नुपर्छ ताकि जिन्दगीमा आउने चुनौतीसँग सहजै सामना गर्न जानिन्छ, आफू तयार भइन्छ । जीवनको मर्म सिकाउने बाजुराजस्तै भूमिको दर्शन गर्न म त फेरि पनि लालायित छु ।


प्रतिक्रिया

2 thoughts on “सौन्दर्यको आवरणमा लुकेको बाजुरेली व्यथा

  1. सारै राम्रो “सौन्दर्यको आवरणमा लुकेको बाजुरेली” भ्रमण अनुभव। नीति निर्माण कर्ताको ध्यान जान आवश्यक छ।

  2. दिदी हजुर अरु ठाउँ पनि आउनु यहाँ भन्दा अझै राम्रो छ बाजुरा खप्तड,छेडेदह,मालिका बुढिनन्दा अझै राम्रो छन।

Leave a Reply to Shyam Kaji Khatri Cancel reply

Your email address will not be published. Required fields are marked *