जनतालाई स्थानीय सरकारको महसुस गरायौं, अझै धेरै गर्न बाँकी छ : नगर प्रमुख थापा – Nepal Press

जनतालाई स्थानीय सरकारको महसुस गरायौं, अझै धेरै गर्न बाँकी छ : नगर प्रमुख थापा

भौगोलिक क्षेत्रफलका आधारमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका नेपालकै ठूलोमध्येमा पर्दछ । तराईको जिल्लासँग सीमा जोडिएको यो नगरपालिकामा चुरे वन क्षेत्र धेरै छ ।

आफ्नो ५ वर्षे कार्यकालको अन्तिम बजेट ल्याइसकेको यो पालिकाले कसरी नागरिकको मन जित्न खोजेको छ ? अहिलेसम्म चुनावी प्रतिवद्धता के कति पूरा भए र बाँकी अवधिमा कति पूरा हुनेछन् ? नगर प्रमुख रेशम थापासँग नेपाल प्रेसका लागि रामप्रसाद आचार्यले गरेको कुराकानी ।

भूमिकास्थान नगरपालिकामा कोरोना संक्रमणको अवस्था कस्तो छ ?

यो नगरपालिकामा आवतजावतको हिसाबले मुख्य स्थान परेको हुँदा सक्रमणको दर अन्य स्थानीय तहमा भन्दा केही तल–माथि छ । संक्रमणलाई रोक्ने प्रयन्त हुँदाहुँदै पनि पछिल्लो सयम संक्रमण तीव्र किसिमले बढेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि थप के–कस्ता प्रयास भइरहेका छन् ?

नगरपालिकाले नगरबासीको जीवनरक्षाका लागि सीमित स्रोेत साधनहरुलाई परिचालन गरिरहेको छ । नगर, वडा र टोलस्तरीय कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार समन्वय समितिलाई क्रियाशील बनाएका छौं ।

नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुलाई सक्रियतापूर्वक परिचालन गरेका छौ । मिडियामार्फत नागरिकहरुलाई सशक्तीकरण र चेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौं ।

लक्षण देखा परेका वडाका टोल बस्तीहरुमा एन्टीजेन परीक्षण मार्फत पहिचान गरेका छौ । कोरोनाका कारणले जिविकोपार्जन गर्न अप्ठ्यारो परेका नागरिकहरुलाई राहत वितरण गरेका छौं । संघीय सरकारको समन्वयमा सबै नागरिकहरुलाई खोपको सुनिश्चितता गर्न पहल गरेका छौं ।

चार वर्षको अवधिमा के–के काम गर्नुभयो ?

हामीले शुरुवातदेखि नै कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको थियौं । नागरिकको आर्थिक विकासका लागि कृषि र पशुतर्फ पकेट क्षेत्रको रुपमा विकास गरेका छौं ।

टनेलदेखि ठूला–ठूला कृषि तथा पशु फर्महरु खुलेका छन् । नगरपालिकाले अनुदान, प्रोत्साहन, साझेदारीमा कार्यक्रम सञ्चालन गरी कृषकहरुलाई व्यावसायिक कृषि पेसामा लाग्न प्रेरित गरेका छौं । कुखुरा, दुध उत्पादनमा आत्मनिर्भर बनाइ निर्यात गर्ने लक्ष्य पूरा हुँदैछ ।

तरकारीमा आत्मनिर्भर बनाउने दिशातर्फ उन्मुख बनाइ कृषकलाई सहकारी समन्वय सहकार्यमा उत्पादन तथा आर्थिक क्रियाकलापलाई बृद्धि गरी रोजगारी सिर्जना गर्ने काम भएको छ ।

पूर्वाधारतर्फ सडकहरुको स्तरउन्नति गर्ने कार्य १० वडामा तीव्र किसिमले भइरहेको छ । ठूलाठूला खानेपानीका योजनाहरु सम्पन्न भएका छन् कतिपय हुने तयारीमा छन् । जसले गर्दा सरल र सहज रुपमा स्वच्छ खानेपानीको सुनिश्चिता गरिएको छ ।

८ वटा वडा कार्यालयहरु सम्पन्न हुने प्रक्रियामा छन् । सामाजिक विकासतर्फ विद्यालयका भवनहरु निर्माण भएका छन् । जनजागृति माविको नमूना विद्यालय भवन निर्माणका लागि बनेको करिब १ करोड ५० लाखको परियोजना कार्यान्वयनको चरणमा अगाडि बढेको छ ।

विद्यार्थी अनुपातमा अनुदान तथा दरबन्दी मिलानको प्रक्रिया अगाडि बढाएका छांै भने खाली स्कुलमा एक शिक्षक एक क्लासको व्यबस्था गरेका छौं । युवाहरुलाई खेलकुद कार्यक्रम मार्फत प्रतिभाहरुलाई प्रस्फुटित हुने अवसर प्रदान गरेका छौं । प्रविधि हस्तान्तरण गरी व्यावसायिक बनाउने योजना बनाएका छौं । अतिविपन्न परिबारका घरका छानामुक्त बनाउने अभियान अन्तर्गत २ सय ५६ घर परिवारलाई जस्तापाता उपलब्ध गराइएको छ ।

साथै जनता आवास कार्यक्रममार्फत वडा नं ६ मा रहेका अतिविपन्त दलित परिवारलाई १३ वटा घर निर्माण कार्य सम्पन्न भइसकेको छ । बर्षात वा आगजानीको कारणले घरहरु भत्किएका नागरिकलाई आर्थिक राहत तथा अस्थायी बसोबासका लागि त्रिपाल उपलब्ध गराइएको छ ।

भूक्षय नियन्त्रण गर्न तारजाली उपलब्ध गराइएको छ । सुशासनतर्फ सार्वजनिक सुनुबाइ, ऐन कानून कार्यविधिहरुको निर्माण, हेल्प डेस्कसँगै विभिन्न सफ्टवेयर निर्माण वडास्तरबाट कर बुझाउने व्यवस्था गरेका छौं ।

चुनावी प्रतिवद्धता कति पूरा भएजस्तो लाग्छ ? के–के थिए प्रतिवद्धता ?

आफूले गरेका प्रतिवद्धता समय समयमा स्मरण गर्ने गरेको छु । निर्वाचनको समयमा भूमिकास्थान नगरपालिकालाई सुन्दर, समृद्ध नगरपालिका बनाउने प्रतिवद्धता व्यक्त गरेको थिएँ । संघीयतालाई कार्यान्वयन गर्ने चरणको पहिलो निर्वाचित जनप्रतिनिधि भएकाले संस्थागत रुपमा कार्यालयलाई व्यवस्थित बनाउँदै वडासम्म लैजाने, ऐन कानून, नियमावली, निर्देशिका र कार्यविधि निर्माण, सुशासन र पारदर्शी गर्ने, पूर्वाधारको क्षेत्रमा प्रत्येक वडामा जोड्ने मुख्य सडकको स्तरोन्नति, ग्राभेल र पक्की बनाउने, एकघर एकधारो खानेपानीको क्षेत्रमा पूर्ण सरसफाइमा लैजाने, कृषि र वायु क्षेत्रलाई जोड दिएर उत्पादनमूलक बनाइ रोजगारी सिर्जना गर्ने, पर्यटक क्षेत्रको पूर्वाधार विकास गरी आन्तरिक र बाह्य पर्यटकको केन्द्रको रुपमा विकास गर्ने, मानव विकासको सूचाङ्कलाई वृद्धि गर्ने बचन दिएको थिएँ ।

त्यस्तै शिक्षा स्वास्थ्य क्षेत्रमा प्राविधिक व्यावसायिक शिक्षा सबैका लागि, शिक्षा समावेशी र गुणस्तर बनाउने, स्वास्थ्य क्षेत्रमा सुलभ र सहज पहुँचको व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेको थिएँ । त्यसमध्ये धेरै प्रतिशत काम पूरा भएका छन् । केही प्रकृयामै छन् । बाँकी काम बाँकी समयमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

सिंहदरबारको अधिकार गाउँमा महसुस गर्न पाए त नागरिकले ?

सिंहदरबारको अधिकार घर–नगरमा आएको महसुस गरेका छन् यहाँका नागरिकहरुले । हिजो ससाना योजना माग गर्न सिफारिस लिएर काठमाडौं धाउने प्रचलन थियो । पहुँचको भरमा योजना आउँने गर्दथ्यो भने अहिले वस्तीस्तरबाट जनताको व्यापक सहभागितामा योजना छनोट गर्ने, प्राथमिकीरण गर्ने, समस्या भएका स्थानका समस्यालाई सम्बोधन गर्ने भएकोले सिंहदरबार गाउँ–नगरमा आएको पक्कै महसुस भएको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि नागरिकले के पाए र कसरी काम भएको छ ?

स्थानीय तहको निर्वाचनपछि नगरपालिकामा विकास निर्माणका काममा सबैसँग समन्वय र सहकार्यका साथ काम गरेका छौं । हामी जनप्रतिनिधि, कर्मचारी र राजनीतिक दल सबै मिलेर काम गर्दै आएका छौं ।

स्थानीय सरकारको नेतृत्व लिएर काम गर्दा कस्ता चुनौती आइलागे ? कसरी सम्पादन गर्नुभयो ?

सिंहदरबारको अधिकार घरघरमा अर्थात् घरदैलो सरकारको रुपमा नागरिकहरुको बुझाइ भएकोले सानादेखि ठूलाठूला अपेक्षा नागरिकले स्थानीय सरकारसँग राखे । विकास निर्माण, रोजगार, अनुदान सहयोग, विपद् व्यवस्थापन, स्वास्थ्य सेवा आदिका सबै उनीहरुको अपेक्षाहरु पूरा गर्न सीमित स्रोतसाधन मुख्य चुनौतीका रुपमा देखिए । आम्दानीको सुनिश्चितता नभइ नागरिकका धेरै अपेक्षा पूर्णरुपमा पूरा गर्न नसकिएको यथार्थ हो ।

जनप्रतिनिधि र कर्मचारीबीच कसरी समन्वय गरेर काम गर्नुभयो ?

कर्मचारी र जनप्रतिनिधि फरक फरक जिम्मेवारीमा भएका कारण, फरक फरक प्रकृयाबाट आएका कारण पनि सबैको एउटै उद्देश्य नहुँदा समस्या देखिने रहेछ । हामीकहाँ धेरै ठूलो समस्या त आएन तर बीचबीचमा केही अफ्ठ्यारा आइरहे ।

लामो समयसम्म स्थानीय निकायमा आफैं मेयर, आफैं सचिवको भूमिका निर्वाह गर्दै आएको कर्मचारी संयन्त्र परिवर्तित राज्यको संरचनामा काम गर्दा नमीठो अनुभूति गरेता पनि राजनीतिक परिवर्तनलाई वाध्यताले स्वीकानुपर्ने देखिन्छ ।

एउटा सामान्य जनताको त्याग, तपस्या, बलिदानले ल्याएको संघीयता लोकतन्त्रलाई सफल बनाउन लाग्नुपर्छ भन्ने भावनासहित जनप्रतिनिधि खटिनुपर्ने र कर्मचारीले पनि त्यसमा साथ दिए योजनाअनुसारका काम गर्न सहज हुने रहेछ ।

अन्तिम बजेट कस्तो ल्याउनुभयो ?

आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रमबमोजिम ८० करोडको वार्षिक बजेट आएको छ । नीति तथा कार्यक्रम र बजेट जनअपेक्षाबमोजिम ल्याएका छौं ।

सिंगो जनप्रतिनिधिको टिम जनताकोे चाहना र भावनाबमोजिम काम गर्ने प्रतिबद्धता रहेकोले यो बजेट कार्यान्वयन गर्न कर्मचारी संयन्त्र राजनीतिक दल, सञ्चारकर्मी र आमनागरिकबाट सकारात्मक रुपले कार्यान्वयन गर्न सहयोग हुने विश्वास लिएको छुु ।

पालिकामा रोजगारी व्यवस्थापनका लागि के योजना बनेका छन् ?

नगरपालिकाले विदेशतिर जाने होइन, कृषि, पशु, सहकारीमार्फत् गाउँमै बस्ने वातावरण बनाउन अनेक प्रयास गरेको छ । त्यसका लागि नगरपालिकाबाट हुनसक्ने सबै सहयोग गर्न तयार छौं ।


प्रतिक्रिया

One thought on “जनतालाई स्थानीय सरकारको महसुस गरायौं, अझै धेरै गर्न बाँकी छ : नगर प्रमुख थापा

  1. राम प्रसाद सरकाे समाचार राम्राे र पूर्ण लाग्छ ।

Leave a Reply to madhav panthi Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर