खेलाडीको रक्षाका लागि प्रिमियर लिगको नियम परिवर्तन गर्न क्लोप आग्रह – Nepal Press

खेलाडीको रक्षाका लागि प्रिमियर लिगको नियम परिवर्तन गर्न क्लोप आग्रह

एजेन्सी । लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले नयाँ नियमबारे पुनर्बिचार गरी खेलाडीको रक्षा गर्न प्रिमियर लिगसमक्ष आह्वान गरेका छन् । नयाँ नियमले लिगलाई १० देखि १५ साल पछाडि धकेलेको उनको तर्क छ ।

शनिबार बर्नलीमाथि २–० को जित निस्किएको खेलका दौरान भएका ट्याकलको संख्यामा क्लोप खुसी थिएनन् ।

लिगको नयाँ सिजन अगाडि अफिसियलले सामान्य ट्याकलमा फल दिने वा कार्ड देखाउन बन्द गर्ने नियम क्लबहरुलाई सुनाइएको थियो ।
क्लोपले बीटी स्पोर्टससँगको कुराकानीमा भनेका छन्, ‘यदि तपाईलाई यस्तो मन पर्छ भने कुस्ती हेर्न सक्नुहुन्छ ।’

पूर्ण क्षमतामा समर्थक उपस्थित एनफिल्डमा शनिबार रेफ्री माइक डिनले एउटा पनि कार्ड देखाएनन् । जवकि लिभरपुलले १२ पल्ट फ्रिकिकको अवसर पाएको थियो ।

बर्नलीका एस्ले बार्नेस र क्रिश उडको खराव ट्याकलहरुबाट प्रशिक्षक क्लोप निराश थिए । उनले प्रश्न गरेका छन्, ‘परिवर्तिन नियमले खेलको भावनामा नकारात्मक असर परेको छैन त ?’

‘हामी सधैं एउटा उचित लडाईको लागि तयार हुनुपर्छ, जस्तो आज थियौं,’ क्लोपले भने, ‘तपाईले पनि एशलेद्वारा भिर्गिल भान डाइक र क्रिशद्वारा जोएल माटिपलाई गरिएको ट्याकल देख्नुभयो । यदि अफिसियलले यसमा सही निर्णय गरेका हुन् भने म शतप्रतिशत त्यसको विपक्षमा छु ।’

‘नयाँ नियमले प्रिमियर लिगलाई १० देखि १५ वर्ष पछाडि धकेलिदिएको छ । नयाँ नियमलाई खेलको तीव्रता र माहोललाई अगाडि बढाइरहनका लागि भनिएको छ । तर यो उचित तर्क होइन । यो हामीले हेर्न चाहेको फुटबल होला तर धेरै खतरनाक छ,’ उनले थपे ।

१८ औं मिनेटमा डिएगो जोटाको हेडर गोल र दोस्रो हाफमा साडियो मानेको शानदार गोलले लिभरपुल लिगका सुरुआती दुई खेलमा विजयी भएको छ । क्लोपले आफ्ना खेलाडीलाई धन्यबाद दिए ।

‘मेरो विचारमा यो नियम आक्रामक फुटबलका लागि हो, ठीक छ,’ यी जर्मन प्रशिक्षकले भने, ‘तर हामीले खेलाडीको रक्षा पनि गर्नुपर्छ । थुप्रै क्षणमा हामीले गोल नगरीकनै शानदार फुटबल खेलेका छौं । तर धेरैजसो क्षणमा हामीले अविश्वसनीय रुपमा कठिन संघर्ष गर्नुपर्‍याे । हामीले यो खेल जित्यौं र भाग्यबस कोहि पनि घाइते भएनौं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर