अफगानिस्तानबाट अहिलेसम्म ४ सय ४१ नेपाली स्वदेश फर्किए, फर्कनेक्रम जारी – Nepal Press

अफगानिस्तानबाट अहिलेसम्म ४ सय ४१ नेपाली स्वदेश फर्किए, फर्कनेक्रम जारी

काठमाडौं । अफगानिस्तानबाट उद्धार भएका नेपाली नागरिक स्वदेश फर्कनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार जजिरा एयरको कुवेत–काठमाडौं नियमित उडानबाट थप १ सय ६५ नेपाली स्वदेश फर्किएका छन् ।

योसँगै अहिलेसम्म ४ सय ६१ नेपाली स्वदेश फर्किएको तथा थप ९ जना नियमित उडानबाट शुक्रबार राति आइपुग्ने मन्त्रालयले जनाएको छ । उद्धार भई स्वदेश आएकामा काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा काम गर्नेका अतिरिक्त अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेका केही छन् ।

काठमाडौँ आइपुगेकालाई अध्यागमनलगायत प्रक्रिया पूरा गरी कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको ‘होल्डिङ सेन्टर’मा स्वास्थ्य मापदण्डानुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रियागत काम सम्पन्न गरी आवश्यक व्यवस्थापन भएको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव सेवा लम्सालले नेपाल प्रेसलाई जानकारी दिईन ।

कन्सुलर सेवा विभागको वेव पोर्टलमा शुक्रबार सांझ ५ बजेसम्म ३ सय १० जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । उद्धार कार्यको सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाईन पोर्टलमा दर्ता भएका जनाइएको छ ।

यस्तै नेपाल राजदूतावास, नयाँदिल्लीबाट प्राप्त विवरण टिपाएका नेपालीलाई सम्पर्क गरी अहिले रहेको स्थान अनुसार समुहीकृत सुची तयार गरिएको पनि जनाइएको छ । उक्त समुहीकृत सूची काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रलाई उपलब्ध गराई उनीहरुको उद्धार कार्यमा आवश्यक सहकार्य र समन्वय भैरहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *