मुख्यमन्त्रीको साढे ३ वर्षे कालमा डोरमणिले खोलेका विकासका ढोका – Nepal Press

मुख्यमन्त्रीको साढे ३ वर्षे कालमा डोरमणिले खोलेका विकासका ढोका

काठमाडौं । डोरमणी पौडेलले एमाले एकताको मार्ग प्रशस्त गर्न भन्दै अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएर बिदा भएका छन् ।

साढे ३ वर्ष वागमती प्रदेश सत्ताको बागडोर सम्हालेका पौडेलले केही महत्वपूर्ण विकासको ढोका खोलेका छन् । पौडेलले एशियाकै पुरानो सुरुङमार्ग पुनर्निर्माण, भिमफेदी-कुलेखानी सुरुङमार्गको ठेक्का र अनलाइबाटै यातायातसम्बन्धी कामले दीगो छाप छाडे ।

१३ जिल्ला रहेको वागमती प्रदेशमा पौडेलले एक स्थानीय तह एक अस्पताल, एक स्थानीय तह एक प्रविधिक विश्वविद्यालय, पालिका जोड्न सडक निर्माण, स्थानीय तहलाई एम्बुलेन्स र वारुणयन्त्र, एक पालिका एक खेल मैदान, एकीकृत बस्ती विकास, विद्युतीय सवारीलाई प्रोत्साहन, गाउँपालिकामा कानूनी सहजकर्ता नियुक्ति, प्रदेशमा प्रहरी भवन निर्माण र क्लिन एण्ड ग्रीन सिटीको अवधारणा विकास गरेका छन् ।

मुख्यमन्त्रीबाट राजीनामा दिँदै पौडेलले अब वागमती प्रदेशको विकासलाई कसैले पनि रोक्न नसक्ने बताएका छन् । उनले प्रदेशका सबै वर्गका जनतलाई लक्षित गरेर आफूले कार्यक्रम अघि बढाएको भन्दै नयाँ मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले त्यो पूरा गर्ने विश्वास जनाए ।

वागमती प्रदेश तरकारी उत्पादनमा अगाडि छ । १३ जिल्लाको तरकारी तथा फलफूल भण्डार गर्न एक जिल्ला एक शीतभण्डार बनाइएको छ । यसले कृषकको लागि उत्पादन सुरक्षित राख्न सहज बनाउने छ ।

युवालक्षित युवा वैज्ञानिक कोष तथा प्रयोगशाला निर्माण भएको छ । विश्व नै प्रविधिमा गइरहेको समयमा युवा वैज्ञानिक कोष तथा प्रयोगशालाको निर्माणले युवालाई आकर्षण गर्नेछ ।

कोरोना महामारीको समयमा सबैलाई स्वास्थ्यमा पँहुच पुर्‍याउन वागमती प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गरी स्वास्थ्य क्षेत्रमा तत्काल सुविधाको शुरूआत गरेको छ । कोरोनालगायतका रोगको उपचारमा करारमा नियुक्त गरेका चिकित्सकहरुले उपचारमा सहयोग गरेका छन् ।

विद्यालयबाट नै स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन र स्वास्थ्यमा सबैको समान सहभागिता गराउन वागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनमा ल्याएको छ । प्रदेश राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पताललाई मदन भण्डारी स्वस्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नती कार्य शुरू भएको छ । अस्पतालको स्तरोन्नती भएपछि काठमाडौं वा चितवन उपचारका लागि जानुपर्दैन । मिनभवनस्थित निजामति अस्पतालमा प्रदेश सरकारकै सहयोगमा कोरोना संक्रमितको उपचारका लागि छुट्टै बेडहरू संचालनमा ल्याइएको थियो ।

वागमती सरकारले प्रदेशको पञ्चवर्षीय आवधिक योजनाको आधारपत्र निर्माण गरेको छ । लामो समयदेखि विवाद रहेका हेटौंडा-काठमाडौं सुरुङमार्ग निर्माणको ठेक्का प्रक्रिया शुरू भएको छ । भने प्रदेशको विकासका लागि अन्य पञ्चवर्षीय योजनाको आधारपत्र निर्माण भएको छ ।

स्थानीय स्तरमा नै उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले एक पालिका एक उद्योग ग्राम स्थापनाको काम पनि अगाडि बढेको छ । स्थानीय तहका लागि आवश्यक पर्ने वस्तु र अन्य स्थानमा पनि पुर्‍याउन सकिने गरी उत्पादन वृद्धि गर्न लक्ष्यका साथ एक यसलाई अघि बढाइएको हो ।

यस प्रदेशका सर्वसाधारणको उपचारको लागि शहीद गंगालाल अस्पतालसँग प्रदेश सरकारले सहकार्य गरेको छ । क्यान्सर तथा मिर्गौलालगायतका बिरामीलाई प्रदेश सरकारले उपचारमा सहयोग गर्ने उद्देश्यले ५० हजार सहायताको शुरू गरेको ५ ।

सडकले नजोडिएका स्थानीय तहको केन्द्रमा सडक सञ्जालको शुरू गरिएको छ । यातायातसँग सहज पँहुच पुग्योस् भनेर प्रदेश सरकारले स्थानीय तहको केन्द्रलाई सडक सञ्जालले जोड्ने काम शुरू गरेको हो । सडक सञ्जालले नजोडिएको महाभारत र रुबिभ्याली गाँउपालिकामा सडक सञ्चालनमा आएका छन् ।

जनता आवास कार्यक्रममार्फत घरविहीनलाई घरबास, खरको छानामुक्त बनाउने अभियान पनि डोरमणिले शुरू गरे । मुसहर, माझी, गन्धर्व तथा आवासविहीनहरूलाई यसले राहत पुगेको छ ।

कृषिका लागि उपयुक्त जग्गा प्लटिङ भएको भन्दै प्रदेश सरकराले एकीकृत चक्लाबन्दी कृषि उत्पादन सुरु गरेको छ । यसले कृषिको उत्पादन वृद्धि र रोजगारी सृजनाको गराउने छ । भने स्थानीय स्तरमा नै कृषिप्रतिको आकर्षणसमेत वृद्धि गर्नेछ ।

प्रदेशलाई दूध, अण्डा र कुखुराको मासु आत्मनिर्भर बनाएको छ । केन्द्र सरकारले पनि केही समयअघि देशलाई दूध, अण्डा र कुखुराको मासुमा आत्मनिर्भर भएको घोषण गरेको थियो । पछिल्लो समय वागमती प्रदेशमा कुखुरापालन र गाई पालन बढेको छ । उत्पादन र रोजगारमूलक क्षेत्रमा सहुलियतपूर्ण ऋणमार्फत प्रदेश सरकारको प्रोत्साहन गरेका कारण विदेशबाट फर्केकाहरू र जान ठिक्क परेकाहरू आकर्षित भएका छन् ।

पौडेल नेतृत्वको सरकारले विद्युतीय सवारीसाधन संचालनलाई उच्च प्राथमिकतामा राखेको थियो । सेवाग्राहीको भीडभाड हुने यातायात कार्यालयलाई अनलाइन प्रविधिबाट नै सबै काम हुने व्यवस्था भएको छ । घरबाट नै सवारीसाधनको कर तिर्ने, नवीकरण गर्ने र जरिवानासमेत तिर्न सकिने व्यवस्था मिलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर