५४ मध्ये ४३ विमानस्थल घाटामा, यस्तो छ आम्दानी खर्चको स्थिति – Nepal Press

५४ मध्ये ४३ विमानस्थल घाटामा, यस्तो छ आम्दानी खर्चको स्थिति

काठमाडौं । विश्वमै सबैभन्दा महंगो पूर्वधार मानिन्छ, एयरपोर्ट । यसमा लगानी पनि धेरै हुन्छ र आम्दानी पनि आकर्षक । तर, नेपालमा फरक परिस्थिति छ । यहाँका अधिकांश एयरपोर्ट घाटामा सञ्चालित छन् ।

तथ्यांकअनुसार नेपालका एक अन्तर्राष्ट्रियसहित ५४ विमानस्थलमध्ये ४३ वटा घाटामा सञ्चालित छन् । जो पर्यटनमन्त्री भए पनि विमानस्थल थप्ने कुरा गर्छन् र थपिएका पनि छन् । तर विमानस्थालको घाटा घटाउनेतर्फ खासै ध्यान दिएको पाइँदैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री भन्छन्– अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानीले अरुको खर्च धान्नुपर्ने स्थिति छ । यस्तो स्थितिमा विमानस्थल थप्नु भनेको घाटा बढाउनु मात्रै हो ।

नेपालको सबैभन्दा धेरै आम्दानी गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो, जहाँबाट ९० प्रतिशत आन्तरिक उडान हुन्छ । उक्त विमानस्थलले आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ । खर्च भने ७८ करोड ५१ हजार रुपैयाँ भएको जनाइएको छ ।

कोरोनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानी करिब साढे दुई अर्बमा खुम्चिन पुगेको हो । कोरोना माहामारीअघि विमानस्थलको वार्षिक आम्दानी पाँच अर्ब रुपैयाँभन्दा माथि थियो ।

नेपालका सबैभन्दा कम आम्दानी गर्ने एयरपोर्ट हो, लामीडाँडा एयरपोर्ट । खोटाङस्थित उक्त एयरपोर्टले आर्थिक वर्ष २०७७/७८ मा ९ हजार २३० रुपैयाँ मात्र कमाएको छ । खर्च भने आम्दानीको १२५ प्रतिशतभन्दा माथिले छ ।

लकडाउनअघिसम्म लामीडाँडा एयरपोर्टमा हप्तामा एकपटक नेपाल एयरलाइन्सको जहाज जाने गरेको थियो । कोरोना भाइसरको पहिलो लहरसँगै भएको लकडाउनपछि त्यहाँ जहाज गएको छैन । ‘आम्दानी छैन, तर एयरपोर्ट सञ्चालनको खर्च भने भइरहेको छ’, प्राधिकरणका प्रवक्ता क्षेत्रीले भने ।

घाटामा चलिरहेको अर्को एयरपोर्ट हो– ओखलढुंगाको रुम्जाटार एयरपोर्ट । यहाँ पनि पछिल्लो समय जहाज गएका छैनन् ।

मोफसलका एयरपोर्टमा सबैभन्दा बढी आम्दानी गर्नेमा पर्छ विराटनगर एयरपोर्ट । विराटनगर एयरपोर्टले आर्थिक वर्ष २०७७/८८ मा ६ करोड ५२ लाख आम्दानी गरेको छ छ । नेपालगञ्ज, पोखरा, र धनगढीका एयरपोर्ट पनि फाइदामा छन् । तर, यो फाइदा नागरिक उड्डयन प्राधिकरणको खातामा चढ्दैन । ‘केही एयरपोर्टमा नाफामा छन् तर नाफा जति सञ्चालनमै सकिन्छ’ प्रवक्ता क्षेत्रीले भने ।

यो वर्ष पोखरा एयरपोर्टले ४ करोड ५५ लाख ८९ हजार ८६३ रुपैयाँ आम्दानी गर्दा १ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ । त्यसैगरी, नेपालगञ्ज एयरपोर्टले ५ करोड आम्दानी गर्दा २ करोड ४५ लाख खर्च गरेको छ । धनगढी एयरपोर्टको आम्दानी २ करोड ७० लाख २२ हजार ७२ रुपैयाँ छ भने खर्च १ करोड ५३ हजार ६७९ रुपैयाँ छ ।

गौतमवुद्ध विमानस्थलको आम्दानी ५ करोड ३ लाख ६३ हजार ६०३ हुँदा खर्च ४ करोड ७१ लाख ८९ हजार ५७५ रुपैयाँ छ ।
रामेछाप एयरपोर्टको आम्दानी ४४ हजार छ भने खर्च २२ लाख रुपैयाँ छ ।

किन घाटामा हुन्छन् एयरपोर्ट ?

पहाडी जिल्लामा सडक सञ्जाल विस्तार भएसँगै जहाज उड्न कम भएको छ । प्रवक्ता क्षेत्रीका अनुसार यात्रुको संख्या कम भएपछि ओखलढुंगाको रुम्झाटार एयरपोर्टमा जहाज उड्न सकेको छैन ।

जहाज नउडेपछि एयरपोर्टको कार्य संचालनका लागि नै बढी खर्च लाग्ने गरेको बताउँछन् प्राधिकरणका अर्थ विभागका प्रमुख गोविन्दप्रसाद दाहाल । ‘जाहाज नउडे पनि एयरपोर्ट बन्द गर्न मिल्दैन । संचालनमा ल्याउँदा घाटा धेरै हुनेगर्छ,’ उनले भने ।

उनका अनुसार पहाड र हिमाली भेगमा भएका एयरपोर्ट बढी घाटामा छन् । दैनिक २०-३० वटा जहाजको उडान भएमा मात्र एयरपोर्ट फाइदामा जाने उनको भनाइ छ । ‘पहाडी जिल्लामा सरकारले घाटा नै खाएर भएपनि जनतालाई सुविधा दिनका लागि एयरपोर्ट संचालन गर्नुपर्छ,’ उनी भन्छन् ।

कुन एयरपोर्टको आम्दानी–खर्च कति–कति ?

एयरपोर्ट आम्दानी खर्च
टीआईए २ अर्ब ४२ लाख ७८ करोड ५१ हजार
ताप्लेजुङ ४ लाख ६ हजार २० लाख
चन्द्रगढी ३ करोड ३१ लाख १ करोड ३२ लाख
तुम्लिङटार १२ लाख ५७ हजार ४२ लाख ३९ हजार
भोजपुर ८१ हजार ४३६ २२ लाख ८६ हजार
विराटनगर ६ करोड ५२ लाख २ करोड ५३ लाख
लामिडाँडा ९ हजार ११ लाख ५६ हजार
तेन्जिङ हिलारी ५२ लाख ३५ हजार
रुम्जाटार ७४ हजार १७ लाख २० हजार
लुक्ला ५२ लाख ७१ हजार
फाप्लु २ लाख ४२ हजार २४ लाख ६३ हजार
थामखर्क ६१ हजार ५९६ १५ लाख ७९ हजार
जनकपुर १ करोड ४५ लाख १ करोड ९ लाख
रामेछाप ४४ हजार २२ लाख ९९ हजार
सिमरा १ करोड ६७ लाख ९३ लाख ९४ हजार
भरतपुर ३ करोड १४ लाख ८५ लाख ५९ हजार
पोखरा ४ करोड ५५ लाख १ करोड ८१ लाख
गौतमबुद्ध अन्तराष्ट्रिय ४ करोड ७१ लाख ५ करोड ३ लाख
मनाङ १ लाख ५ हजार
जोमसोम १२ लाख २० हजार ४४ लाख ९० हजार
नेपालगञ्ज ५ करोड ४७ लाख २ करोड ४५ लाख
सुर्खेत ६४ लाख १४ हजार ६१ लाख २९ हजार
डोल्पा ८९ हजार १४ लाख ७८ हजार
जुम्ला १३ लाख ७१ हजार ८ लाख ५६ हजार
सिमिकोट ४५ लाख २१ लाख २ हजार
धनगढी २ करोड ७ लाख १ करोड ५३ हजार
सांफेवगर ५ लाख ९७ हजार १० लाख ५३ हजार
डोटी ७ लाख ६९ हजार १० लाख
बाजुरा १० लाख ४२ हजार ३ लाख ५४ हजार
रारा ३१ लाख ८ हजार ३ लाख ६ हजार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर