बाहिरी तागतले माधव नेपाललाई एमालेबाट चुँडायो : ओली – Nepal Press

बाहिरी तागतले माधव नेपाललाई एमालेबाट चुँडायो : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई बाहिरी शक्तिले एमाले छोड्न बाध्य पारेको बताएका छन् । एमाले फुटेपछि दिएको पहिलो अन्तर्वार्तामा उनले नेपालसँग आफूले बारम्बार भेट्न खोज्दा पनि नमानेको गुनासोसमेत गरे ।

भिडियो अन्तर्वार्तामा ओलीले भने, ‘मलाई अहंकार देखायो भन्छन् । तर मैले माधव नेपाललाई भेटौं भन्दा पनि मानेनन् । कम्तीमा दुई वर्ष भयो होला, मलाई एकपटक पनि फोन गरेका छैनन् । जहिले पनि मैले नै फोन गरेर कुरा गरिराख्या छु । उनले यहाँ भेट्दिन, त्यहाँ भेट्दिनँ भन्दा म आफैं भनेको ठाउँमा गएको छु ।’

ओलीले माधव नेपाललाई एमालेबाट चुँडाउन बाहिर तागत नै लागेको टिप्पणी गरे ।

‘चुम्बकका दुईवटा पोलजस्ता शक्तिहरु एकै ठाउँमा ल्याइएको छ, कसरी ? त्योभन्दा बलबान शक्ति भयो भने लैजाने हो । जस्तै बन्धन भए पनि चुँडाउन सक्ने गरी तागत लाग्यो भने लैजाने हो । एमालेबाट चुँडाउने गरी तागत लागेपछि माधव नेपालको केही लागेन होला ।’

ओलीले एमाले विभाजित भएको नभएर चोइटिएको बताए । पार्टीबाट केही व्यक्तिहरु बाहिरिनुलाई विभाजन भन्न नमिल्ने उनको भनाइ छ ।
उनले एमालेलाई हात्तिको संज्ञा दिँदै अलिअलि दुब्लाउँदैमा फरक नपर्ने टिप्पणी गरे ।

‘हात्ति दुब्लायो भने पनि त्यसको वजन कति घट्छ ? त्यसको सिमा हुन्छ । हात्ति हात्ति हो बाख्रा बाख्रा हो । अरु पार्टीले आफ्नो हैसियत के बनाएका छन् त्यो हेर्नुपर्छ,’ ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर