कोभिडकै बीच बाणिज्य बैंकहरुको मुनाफा साढे १० अर्बले बढ्यो – Nepal Press

कोभिडकै बीच बाणिज्य बैंकहरुको मुनाफा साढे १० अर्बले बढ्यो

खुल्ला मौद्रिक नीति र शेयर विक्री प्रमुख कारण

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा २७ वाणिज्य बैंकहरुको नाफा करिव २० प्रतिशतले बढेर ६३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । कोभिड १९ का कारण अर्थतन्त्रका अधिकांश क्षेत्रहरु धराशयी भए पनि बाणिज्य बैंकहरुको मुनाफामा भने वृद्धि देखिएको हो ।

अघिल्लो आर्थिक वर्ष ५२ अर्ब ८० करोड रुपैयाँ नाफा गरेका बाणिज्य बैंकहरुले गत आर्थिक वर्ष १० अर्ब ५७ करोड मुनाफा थप गर्न सफल भएका छन् । समग्रमा बैंकहरुको नाफा बढेको देखिए पनि सम्पत्तिको तुलनामा आम्दानी ‘आरओए’ चाहीँ १ प्रतिशतले मात्रै बढेको छ । बैंकिङ उद्योगको प्रतिसेयर आम्दानी ईपीएस पनि बढेको छैन ।

गत आर्थिक वर्षमा बैंकहरुले सेयर विक्री गरेका कारण मुनाफा बढेको देखिन्छ । नविल बैंक, एनआईसी एसिया, ग्लोवल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, एनसीसीलगायत बैंकको मुनाफा सेयर विक्रीबाटै बढेको हो ।

कुन बैंकको मुनाफा कति ?

आ.व. २०७७/७८ मा सबैभन्दा बढी मुनाफा आर्जन गर्ने बैंकको सुचीको पहिलो नम्बरमा नविल बैंक रहेको छ । नविल बैंकको गत वर्षको भन्दा ३०.०६ प्रतिशतले मुनाफा बढेर ४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस बैंकले ३ अर्ब ४६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

दोस्रो स्थानमा ग्लोवल आइएमई बैंक रहेको छ । अघिल्लो वर्ष २ अर्ब ९० करोड रुपैयाँ मुनाफा आर्जन गरेको यस बैंकले गत आर्थिक वर्ष ४ अर्ब १२ करोड रुपैयाँ मुनाफा कमाएको छ । गत वर्ष सर्वाधिक मुनाफा कमाएको राष्ट्रिय बाणिज्य बैंक चालु आर्थिक वर्ष तेस्रो स्थानमा झरेको छ । यस बैकले अघिल्लो आर्थिक वर्ष ४ अर्ब ३७ करोड रुपैयाँ कमाएकोमा गत वर्ष ३ अर्ब ७९ करोड रुपैयाँमा झरेको छ ।

यस्तै, ३ अर्ब ६९ करोड मुनाफा कमाउँदै कृषि विकास बैंक चौथो स्थानमा रहेको छ । पाचौं स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ मुनाफा कमाएको छ ।

यसैगरी एनआइसी एसिया बैंक र प्राइम बैंकले ३ अर्ब २५ करोड रुपैयाँ र नेपाल बैंक लिमिटेडले ३ अर्ब ६ करोड रुपैयाँ मुनाफा कमाएका छन् । एनएमवी, कुमारी, सानिमा, नेपाल बङ्गलादेश बैंक, मेघा, सिदार्थ, प्रभु, सिटिजन्स र हिमालयन बैंकले २ अर्ब देखी ३ अर्बको हाराहारीमा मुनाफा कामाएका छन् । यसैगरी स्टाण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नेपाल एसविआई बैंक, सनराइज, एनसीसी, बैंक अफ काठमाडौं, लक्ष्मी बैंक, माछापुच्छ्रे लगायतका बैंकहरुले १ अर्बदेखि २ अर्बसम्म मुनाफा कमाएका छन् ।

सबैभन्दा कम मुनाफा कमाउने तीन बैंकहरुमा सिभिल बैंक, सेन्चुरी बैंक र नेपाल एसवीआई बैंक रहेका छन् । सिभिल बैंकले ५५ करोड ९३ लाख, सेन्चुरी बैंकले ७५ करोड र एसवीआई बैकले ९६ करोड रुपैयाँ मुनाफा कमाएका छन् ।

आ.ब २०७७/७८ मा राष्ट्रिय बाणिज्य बैंक, एभरेष्ट बैंक, नेपाल एसवीआई बैंक, स्टाण्डर्ड चाटर्ड लगायतका बैंकहरुको मुनाफा गत वर्षको तुलनामा घटेको छ ।

राष्ट्रिय बाणिज्य बैंकले असार मसान्तसम्म असुली गर्नुपर्ने ५५ करोड कर्जाको म्याद आगामी पुससम्म थप गरेको तथा सबै ऋणीलाई १० प्रतिशत कर्जामा छुट दिइएकोले मुनाफा घटेको हो ।

पर्यटन बाहेकका क्षेत्रको प्रगति राम्रो

पर्यटन वाहेकका अन्य क्षेत्रको प्रगति राम्रै भएका कारण बाणिज्य बैंकहरुको मुनाफामा सकारात्मक प्रभाव परेको छ । गत वर्ष नेपाल राष्ट्र बैंकले ल्याएको खुकुलो मौद्रिक नीतिका कारण अर्थतन्त्रमा करिब ८ खर्ब थप कर्जा प्रवाह भएको थियो । त्यसमध्ये अधिकांश कर्जा आयात–निर्यात, शेयर बजार, घरजग्गा लगायतका अनुत्पादक क्षेत्र र अल्पकालमा बढी प्रतिफल दिने क्षेत्रमा प्रवाह भएका कारण पनि बैंकको मुनाफामा बृद्धि देखिएको हो ।

केन्द्रीय बैंकले अर्थतन्त्रमा १८ प्रतिशत मुद्राप्रदायको वार्षिक बृद्धिदर १८ प्रतिशत हुने लक्ष्य राखेकोमा लक्ष्यभन्दा २१.८ प्रतिशत हासिल भएको थियो । यसैगरी नीजितर्फको कर्जा बृद्धिदर २० प्रतिशत हुने प्रक्षेपण गरिएकोमा २१.८ प्रतिशत भएको छ ।

सीसीडी अनुपात ८० प्रतिशतबाट ८५ प्रतिशत, सीआरआर अनुपातमा १ प्रतिशत कटौति र बैंकदर ०.५ प्रतिशतले घटाइएका कारण अधिक तरलता बैंकहरुमा बढाउनका लागि सहयोगी भएका थिए । कोभिड १९ का कारण अर्थतन्त्र ठप्प भइ आयात निर्यात प्रभावित हुँदा नेपालको बैंकिङ च्यानलमा अधिक तरलता बढेको थियो ।

यसैगरी, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कोभिड प्रभावित उद्योगी व्यवसायीलाई २ खर्बको पुनर्कर्जाको व्यवस्था गरेको थियो । जसमध्ये १ खर्ब ४८ अर्बभन्दा बढी रकम अर्थतन्त्रमा गएको छ । यसैगरी सहुलियतपूर्ण कर्जा १ खर्ब ६१ अर्ब रुपैयाँ प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकका आर्थिक नीति तथा अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठ बैंकको मुनाफा बढ्नुमा नेपाल राष्ट्र बैंकको खुकुल्लो मौद्रिक नीति, खराव कर्जा नबढ्नु, पर्यटन बाहेक अन्य क्षेत्रको आर्थिक गतिविधिमा कमी नआउनु र अर्थतन्त्रमा भएको कर्जाको विस्तारलाई ठान्छन् ।

‘नेपाल राष्ट्र बैकको खुकुल्लो मौद्रिक नीतिका कारण कर्जा प्रवाह बढी हुनुका साथै हामीले सोचेजस्तो आर्थिक गतिविधिमा संकुचन नआएको कुरा बैंकहरुको मुनाफाबाट प्रतिविम्वित भएको छ,’ श्रेष्ठले भने ।

‘पर्यटन बाहेकका क्षेत्र बढी नै प्रभावित भए होला भनेर सोचिएको थियो,’ श्रेष्ठले भने, ‘तर समग्रमा बैंकिङ क्षेत्रको मुनाफा बढे पनि विभिन्न सूचकहरु भने घटेका छन् ।’

कोभिड १९ का कारण अधिकांश व्यवसायिक गतिविधहरुको अवस्था राम्रो रहेकाले बैंकको मुनाफा बढेको राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ बताउँछन् ।

‘कोभिडका कारण पर्यटन क्षेत्र प्रभावित भए पनि अस्पताल, उद्योग व्यापार, अटो, रियलस्टेट, शेयर बजार लगायतका क्षेत्रहरुमा ब्यापार बढ्दा बैंकको मुनाफा बढेको देखिन्छ’, उनले भने,’ अरुको नाफा बढे पनि हाम्रो बैंकको चाँही खराव कर्जा घट्यो

गत आर्थिक वर्ष अधिकांश बैंक तथा वित्तीय संस्थाहरुमा खराव कर्जा घटेको छ । जसका कारण बैंकहरुको मुनाफा बढ्न सहयोग गरेको देखिन्छ ।

बाणिज्य बैंकले लोन प्रोभिजनिङ्गका लागि नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आएर खेलको नियम परिवर्तन गर्दै साधारण कर्जा नोक्सानी व्यवस्था परिवर्तन गरेको थियो ।

केन्द्रीय बैंकले साउन १२ गते ‘एकीकृत निर्देशन २०७७’ परिवर्तन गर्दै लोन प्रोभिजनिङबापत ०.३ प्रतिशतले बढाउदै १.३ प्रतिशत राख्नुपर्ने व्यवस्था गरेको थियो । यस नीतिमार्फत केन्द्रीय बैंकले आफ्नो बैंकहरुलाई लाभांश बाँड्नका लागि अङ्कुश लगाएको थियो । उक्त प्रोभिजनिङ्गको व्यवस्था नगरेको भए बैंकहरुको मुनाफा थप बढ्ने थियो ।

सेयर विक्रीका कारण नाफा बढ्यो

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बाणिज्य बैंकहरुले खरिद गरेको वित्त कम्पनीहरुको शेयर विक्री गर्नका लागि जेठ महिनासम्मको मिति तोकेको थियो । उक्त समयमा विक्री नगर्ने कम्पनीले कम्तिमा ६ महिनासम्म शेयर विक्री गर्न नपाउने व्यवस्था गरिएको थियो ।

अधिकांश बैंक तथा वित्तीय संस्थाको मुनाफामा बढ्नुमा शेयर विक्री प्रमुख कारण भएको एमएमबी बैंकका अध्यक्ष पवन गोल्यान बताउँछन् ।

‘अधिकांश बैंकहरुको मुनाफा शेयर विक्रीका कारण बढेको छ, शेयर विक्रीको आम्दानी झिकेर हेर्नुभयो भने बैंकको प्रतिशेयर आम्दानी, आरओई, आरओए लगायत सम्पूर्ण सूचक घटेको छ,’ उनले भने ।

नेपालको बैकिङ क्षेत्रको मुनाफा घट्दै गएकाले आगामी दिन सहज नभएको उनको भनाइ छ ।

‘चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बैंकहरुलाई दायित्व थप गरेर थप कडाइ गरेको छ । यसले गर्दा बैंकिङ क्षेत्रका लागि आगामी दिनहरु थप कष्टकर र दुखद हुनसक्छ,’ उनले भने ।

कर्जा नोक्सानीसम्वन्धी थप व्यवस्था गरेका कारण बैंकहरुको मुनाफामा केही कमी आएको गोल्यानले बताए । समग्रमा कोभिड १९ का बाबजुद पनि नेपालका बैंक तथा वित्तीय संस्थाको मुनाफा बढ्नु अर्थतन्त्रको स्थायित्वका लागि सुखद संकेत भएको उनको भनाइ छ ।

बैंकको मुनाफा बढ्नु गलत होइन

बैकहरुको मुनाफा बढ्नुलाई गतलरुपमा बुझ्न नहुने वित्तशास्त्री अनलराज भट्टराई बताउँछन् । बैंकको लगानीअनुरुपको प्रतिफल प्राप्त गर्नुलाई गलत भन्न नहुने उनको तर्क छ ।

कोभिड १९ को समयमा बैंकहरुको मुनाफा बढ्नुले नेपालको अर्थतन्त्रले पुनरुत्थानको दिशामा गएको सन्देश प्रवाह भएको उनी बताउँछन् ।

‘बैकिङ मुनाफा बढ्नुको पछाडि कर्जा प्रवाह बढेको छ । यस्तो समयमा पनि खराव कर्जा नबढ्दा प्रोभिजनिङ मात्रै होइन समग्र अर्थतन्त्रको अवस्था सुधारोन्मुख रहेको देखाउँछ,’ भट्टराईले भने ।

बैंकिङ मुनाफा बढ्नुले पर्यटन बाहेक अन्य क्षेत्रले पनि राम्रो आम्दानी गरेको रुपमा बुझ्नुपर्ने उनले बताए ।

‘तपाईंले हेर्नुभयाे भने पर्यटन बाहेकका अस्पताल, आयात–निर्यात, उद्योग बाणिज्य, हवाई, अटो सबै क्षेत्रको मुनाफामा कमी आएको छैन । बैंकिङ मुनाफा बढ्नु गलत होइन बरु यसले अर्थतन्त्रमा सुधार हुँदै गएको संकेत गरेको छ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकले गत वर्ष ल्याएको खुल्ला मौद्रिक नीतिले अर्थतन्त्रमा जोखिम निम्त्याएकाले यसतर्फ ध्यान दिनुपर्ने उनी बताउँछन् । गत वर्षको मौद्रिक नीतिका कारण बैंकिङ प्रणालीमा सञ्चालन जोखिम बढेको भट्टराईको बुझाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *