विमला वली र अजय शाहीलाई पदमुक्त गरेको सूचना नसुनाए एमालेले आज पनि संसद अवरुद्ध गर्ने – Nepal Press

विमला वली र अजय शाहीलाई पदमुक्त गरेको सूचना नसुनाए एमालेले आज पनि संसद अवरुद्ध गर्ने

रूपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका दुई सांसद पदमुक्त भएको सूचना प्रदेशसभा सचिवालयले जारी नगरे आज पनि प्रदेशसभा बैठक अवरोध गर्ने जनाएको छ । नवौं अधिवेशनअन्तर्गत मंगलबार बसेको पहिलो बैठक विपक्षीहरुले अवरोध गरेपछि आजसम्मको लागि स्थगित भएको थियो।

दुई सांसदलाई एमालेले कारवाही गरेको र त्यो सूचना प्रदेशसभा बैठकमा जानकारी गराउनुपर्ने नभए संसद अवरोध गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए । एमालेले प्रदेशसभाको पहिलो बैठक पनि सोही माग राख्दै अवरोध गरेको थियो। सभामुखबाट सूचना जारी नभए आजको बैठक पनि अवरोध गर्ने एमालेका प्रमुख सचेतक ढकालले जानकारी दिएका छन् ।

बैठक सुचारु गर्ने उपाय खोजीको लागि भन्दै मुख्यमन्त्री कुलप्रसाद केसीले प्रमुख विपक्षी दल एमालेसँग छलफल गर्न भन्दै एमाले नेताहरुलाई मुख्यमन्त्री कार्यलय बोलाएका छन् । प्रदेशसभा बैठक शुरु हुनुअघि मुख्यमन्त्री केसी र विपक्षी एमालेबीच छलफल हुनेछ ।

एमालेले सूर्य चिह्नबाट चुनाव जितेका विमलाकुमारी खत्री वली र हाल मन्त्री भएका अजय शाहीलाई आफ्नो पार्टीले कारवाही गरेको र कारवाहीको सूचना नदिएसम्म बैठक चल्न नदिने बताएको छ। सत्तापक्षले भने एमालेले विरोध गरेपनि सदनको प्रकृया नरोक्ने जनाएको छ ।

मन्त्री सहश्रराम यादवले विपक्षीले अनावश्यक रूपमा बखेडा झिकेर रोक्न नमिल्ने बताउँदै अब प्रकृया अगाडि बढाउन बाध्य हुने बताए । मंगलबार पनि विपक्षी दलले सदनमा उठेर विरोध जनाइरहे पनि सभामुख पूर्णबहादुर घर्तीले थोरै समय भएपनि सदन चलाएर हिउँदे अधिवेशन शुरू गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर