अफगानिस्तानमा रहेका नेपाली नागरिकको तत्काल उद्धार गर्न मानव अधिकार आयोगको आग्रह – Nepal Press

अफगानिस्तानमा रहेका नेपाली नागरिकको तत्काल उद्धार गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अफगानिस्तानमा रहेका नेपाली नागरिकको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा अहिले देखिएको राजनीतिक घटनाक्रमबाट उत्पन्न परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकको जीवन जोखिममा पर्न सक्ने भन्‍दै तत्काल उद्धार गर्न सरकारसँग माग गरेको हो ।

‘अफगानिस्तानमा जोखिममा रहेका नेपाली नागरिकको एकीन तथ्यांक र वास्तविक अवस्था पत्ता लगाई शीघ्र र सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउनका लागि थप प्रभावकारी कुटनीतिक पहल गर्न तथा जोखिमपूर्ण अवस्थामा रहेकाको जीवन रक्षा गरी मानव अधिकारको संरक्षण गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’ आयोगका प्रवक्ता समेत रहेका सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगले अफगानिस्तानमा रहेका नेपालीहको उद्धारबारे सरकारले गरेका प्रयासहको बारेमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीसँग छलफल पनि गरेको छ । छलफलका क्रममा उनीहरुले नेपाल सरकारले उद्धारका लागि कूटनीतिक पहल जारी राखेको, अफगानिस्तानस्थित विदेशी कूटनीतिक नियोगमा कार्यरत केही नेपालीको उद्धार भई सुरक्षित स्थानमा पुर्‍याइसकिएको, बाँकीलाई सुरक्षित रुपमा नेपाल ल्याउन प्रयास भैरहेको र अहिले अफगानिस्तानका लागि श्रम स्वीकृति रोकिएको तथा अन्य मुलुक हुँदै पनि नेपाली अफगानिस्तान प्रवेश गर्ने हुँदा पनि अफगानिस्तानमा रहेका नेपालीको एकीन तथ्याङ्क सरकारसँग नभएको बताएका छन् ।

उनिहरुले सञ्चार माध्यममा आए जस्तो अफगानिस्तानमा ठूलो जोखिमको स्थिति नरहेको पनि स्पष्ट पारेका छन् । छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगरले भने जुनसुकै हैसियतमा अफगानिस्तान पुगेका भए पनि जोखिममा रहेका सबै नेपाली नागरिकको उद्धार गर्न सरकारलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर