अब न्याय क्षेत्रको इतिहास न्यायिक संग्रहालयमा – Nepal Press

अब न्याय क्षेत्रको इतिहास न्यायिक संग्रहालयमा

नेपालको न्याय प्रणालीको अध्ययन गर्न सहयोग मिल्ने छ : प्रधानन्यायाधीश जबरा

काठमाडौं । नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउमा जानकारी हुनेगरी न्यायिक संग्रहालयको निर्माण भएको छ । सर्वोच्च अदालतले नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने संग्रहालय स्थापना गरेको हो ।

संग्रहालयको मंगलबार एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश जबराले न्याय र कानूनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्यायप्रणालीको विकास, अवस्था र परिवर्तनका बिषय अध्ययन गर्ने सहयोग मिल्ने बताए । उनले न्यायपालिकाका ऐतिहासिक बस्तु संकलन गरेर संग्रहालयलाई अझै बढाउदै लैजाने प्रतिबद्धता पनि जनाएका छन् ।

यस्तै न्यायिक संग्रहालय स्थापनामा संयोजन गरेकी न्यायाधीश सपना प्रधान मल्लले राज्यका निकायले ऐतिहासिक पुरातात्विक बिषय संग्रहित गरेर राख्नुपर्ने बताइन् । उनले यो संग्रहालय नेपालको न्याय र कानून क्षेत्रको विकासको सजिब इतिहास बन्ने दाबी पनि गरिन् ।

न्याय सम्पादनका क्रममा विभिन्न समयमा भएका महत्वपूर्ण फैसला, न्यायायाधीश तथा न्यायपालिकाले प्रयोग गरेका पुराना सामाग्री, न्याय र कानूनी क्षेत्रका पुरातात्विक सामाग्रीह संग्रहालयमा संग्रहित गरिएको छ । संग्रहालयमा करिब तीन सय ५० सामाग्री तयार पारिएको छ ।

प्रदर्शनी कक्षको अभावमा तत्काल १५ प्रकृतिका फरक सामाग्री राखिएको जनाइएको छ । भौतिक संरचना स्थापनापछि सबै सामाग्री र थप सामाग्री समेत गरी डिजिटल संग्रहालयको स्थापना गरिने मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले बताए । उद्घाटन समारोहमा संग्रहालय स्थापनामा सहयोग पुर्याउने पदाधिकारी तथा कर्मचारीलाई सम्मान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर