तालीवानीले काबुल कब्जा गरेको देखेर फर्किएका नेपाली – Nepal Press

तालीवानीले काबुल कब्जा गरेको देखेर फर्किएका नेपाली

जताततै तालीवानी लडाकु हतियारसहित देखिन्थे, तर आक्रमण गरेनन्

काठमाडौं । ‘अब बाँचियो’ सात वर्षदेखि अफगानिस्तानको काबुलस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डमा कार्यरत धरानका विशाल राईले मंगलबार नेपाल उत्रनेबित्तिकै लामो स्वास लिँदै भने, ‘अफगानमा मर्ने–बाँच्ने ठेगान थिएन, अब चाहिँ बाँच्ने आश पलाएको छ ।’

अफगानिस्तान तालीवानी लडाकुले कब्जा गरेपछि अमेरिकाले उद्दार गरी नेपाल ल्याइएका ११८ नेपालीको मुहारमा विशालको जस्तै भाव झल्कन्थ्यो– धन्न बाँचियो !

अफगानस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले नै मंगलबार बिहान नेपाल ल्याएको हो ।

उनीहरु सञ्चारकर्मीसँग बोल्न पनि खासै मन गरिरहेका थिएनन् । तर उनीहरुको मलिनताबीच उनीहरुको अनुहारमा थोरै आश र खुसी मिसिएको देखिन्थ्यो ।

द्वन्द्वग्रस्त अफगानिस्तानबाट मंगलबार बिहान १० बजे नेपाल ल्याइएका नेपालीलाई नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेको थियो । दृश्य देख्दा लाग्थ्यो, मानौं नेपाली सुरक्षाकर्मीले नै अफगानिस्तानमा कार्यरत नेपालीको उद्दार गरेको हो ।

सुरक्षामा तैनाथ एक सेनाका अधिकारी भन्दै थिए– एक जना पनि ‘मिसप्लेस’ होला नि ! ठूलो इस्यू बन्छ ।

विमानस्थलमा उत्रनेबित्तिकै नेपाली सेनाले उनीहरुलाई धमाधम गाडीमा राख्यो । र प्रतीक्षारत सञ्चारकर्मीलाई भन्यो– केही सोध्न पर्ने भए सामाखुसीस्थित राधास्वामी कोभिड आइशोलेसनमा आउनू ।

सामाखुसीस्थित राधेराधे आइशोलसन, जहाँ सेनाले कोरोना परीक्षण र खोप लगाउने काम गर्दै आएको छ ।

सामाखुसीस्थित राधेराधे आइशोलेसनमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको भीड थियो । भीड पन्छाउँदै अफगानिस्तानबाट ल्याइएका नेपालीलाई आइशोलेसनभित्र छिराइयो ।

त्यहींबीचमा थोरै कुरा गर्दै राइले भने, ‘काबुल बाहिरका प्रान्तमा पनि नेपाली छन् भन्ने सुनिएको छ । उनीहरुको अवस्था हामीलाई थाहा छैन । हामी अमेरिकाको संरक्षणमा भएकाले खासै अफ्ठेरो भएन ।’

उनको भनाइअनुसार अन्य देशका मानिसलाई तालिबानले कुनै अफ्ठेरो पारेको थिएन् । ‘आ–आफ्नो देश जाऊ भनिरहेका थिए तालिबानले’, उनी भन्छन्, ‘काबुल अवस्था उस्तै छ, तर त्यहाँका मानिस निकै डराएका छन् ।’

अफगानिस्तानबाट उद्दरा गरिएका अर्का नेपाली थिए, सुरेश राना । उनी पाँच वर्षदेखि अफगानिस्तानमा कार्यरत थिए । अहिले नेपाल आइपुग्दा उनको अनुहारमा पनि खुसी छाएको छ ।

काबुलमा नेपालीको अवस्था नराम्रो नभए पनि देशको अवस्था भने डरलाग्दो भएको उनको भनाइ थियो । ‘काबुलमा जताततै हतियारधारी तालिवान देखिन्थे तर, भीडन्त भने गरेका थिएनन्’, उनी भन्छन् ।

अर्का प्रेमबहादुर पुनको अवस्था पनि अरुको भन्दा भिन्न थिएन । तर, अफगानिस्तानमा नेपाली अमेरिकी राजदूताबासमा कडा सुरक्षाको घेरामा भएकाले डराउनु पर्ने अवस्था नरहेको उनले बताए । ‘अमेरिकी पनि हाम्रो भरमा र हामी पनि उनीहरुकै भरमा थियौं,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर