रामकुमारी झाँक्रीको टिप्पणीः हामीलाई केही कानूनी जटिलता थिए, अध्यादेशले हल गर्यो – Nepal Press

रामकुमारी झाँक्रीको टिप्पणीः हामीलाई केही कानूनी जटिलता थिए, अध्यादेशले हल गर्यो

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले पार्टी एकता भएन भने यतिकै असरल्ल रहन नसकिने बताएकी छन् । उनले सरकारले जारी गरेको अध्यादेशले राजनीति नयाँ बाटोमा अघि बढ्ने अपेक्षा व्यक्त गरिन् ।

आफ्नो समूहका नेताहरुको छलफलपछि झाँक्रीले पत्रकारहरुसँग कुरा गर्दै आफूहरुले अन्तिमसम्म पार्टी एकताका लागि प्रयास गर्ने पनि बताइन् । उनले भनिन्, ‘हामी अझै पनि पार्टी एकताकै पक्षमा छौं । अन्तिमसम्म एकताकै पक्षमा रहन्छौं । तर, झ्यालढोका थुनेर साँघुरो पारिन्छ भने निकास त चाहिन्छ ।’

सरकारले जारी गरेको अध्यादेशबारे उनले भनिन्, ‘आधिकारिक जानकारी त छैन । मिडियामा सुनेको हो । निकासका लागि नै ल्याएको होला । एकता नभए अर्को बाटो हिँड्नु अनिवार्य नै हुन्छ ।’

पार्टी कहिले दर्ता गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले त्यसबारे छलफल नभएको दावी गरिन् । उनले भनिन्, ‘दर्ता गर्नैपर्ने परिस्थिति भयो भने त्यही बेला छलफल गरौंला ।’

नयाँ पार्टीको नामबारे पनि अहिले केही नसोचिएको झाँक्रीले बताइन् । ‘नामसँग क्रेजिनेस छैन । चिह्न के होला भन्ने पनि ठूलो कुरा होइन । अहिले त यहाँभित्रै सम्भावना खोजेको हो,’ उनले भनिन् ।

झाँक्रीले अगाडि थपिन्, ‘तर, एकता भएन भने कहिलेसम्म यतिकै असरल्ल छाड्ने ? कसरी संस्थागत स्वरुप ग्रहण गर्ने भन्नेमा केही कानूनी जटिलता थिए । अध्यादेशले त्यसलाई हल गर्यो । त्यसपछि बाटो लिन्छ होला राजनीतिले । हामीले पनि बाटो समाउछौं होला । सामूहिक निर्णय हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर