विद्युत् प्राधिकरणविरुद्ध रुपन्देहीका उद्योगी अदालतमा, शुल्क तिर्दातिर्दै ट्रंकलाइनमा पारेको आरोप – Nepal Press

विद्युत् प्राधिकरणविरुद्ध रुपन्देहीका उद्योगी अदालतमा, शुल्क तिर्दातिर्दै ट्रंकलाइनमा पारेको आरोप

रुपन्देही । नियमित विद्युत् महशुल तिर्दातिदै आफूखुशी ट्रंकलाइनमा पारेर नेपाल प्राधिकरणले महशुल लिन खोजेको भन्दै रुपन्देहीका १८ उद्योगीले प्राधिकरणविरुद्ध मुद्दा दायर गरेका छन् । उनीहरुले महशुल तिर्न नपर्ने दावी गर्दै अदालतमा मुद्दा दायर गरेको उद्योगी चन्द्रमान श्रेष्ठले बताए ।

नेपाल विद्युत् प्राधिकरण र भैरहवा–बुटवल औद्योगिक कोरिडोरका २३ उद्योगीबीच चार वर्षअघि उद्योगमा जडान गरिएको ट्रंक लाइनको विषयलाई लिएर दुई वर्षदेखि विवाद चल्दै आएको छ ।

माग र जानकारीबिनै विद्युत् प्राधिकरणले एकतर्फी रुपमा ट्रंकलाइन जडान गरेर अतिमहंगो विद्युत महशुल असुल्न खोजेको आरोप उद्योगीको छ । २०७४ देखि २०७६ सम्ममा उद्योगको ट्रंकलाइन बापत २० करोड रुपैयाँ बक्यौता भनिएकोमा अहिले ब्याज र जरिवानासहित ४० करोड रुपैयाँ पुगेको विद्युत् प्राधिकरणले जनाएको छ । २०७७ असारबाट भने ट्रंकलाइन सरकारले नै हटाएको थियो ।

०७४ चैतमा नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापन तथा फेज सिक्वेन्स सन्तुलित गर्न भन्दै योगीकुटी–भैरहवा कोरिडोरका उद्योगहरुलाई १० देखि १५ दिनसम्म सटडाउन लिई भरौलिया शव स्टेशनबाट विद्युत् आपूर्ति गरेको थियो ।

त्यसअघि रुपन्देहीको अमुवा फिडरबाट ३३ केभीए प्रशारण लाइनबाट विद्युत् आपूर्ति हुँदै आएको थियो । सटडाउन गरेर पुनः विद्युत् आपूर्ति गरेपछि पनि प्राधिकरणले १९ महिनासम्म पुरानै दर रेटमा बिल पठाएको र पछि २०७६ सालमा बल्ल त्यसबेलाको महशुल ट्रंक लाइनमा परेको भन्दै महंगो बक्यौता महशुल रकम बुझाउन पत्राचार गरेको उद्योगी बताउँछन् ।

उद्योगीले समस्या सुल्झाउन भन्दै प्राधिकरणको स्थानीय शाखादेखि केन्द्रसम्म, प्रदेश सरकारदेखि केन्द्रका मन्त्रालय, विभाग, प्रधानमन्त्रीको कार्यालय, विभिन्न राजनीतिक दल, नेता, मन्त्रीसम्म दर्जनौं पटक धाउँदा पनि समस्या समाधान नभएपछि बाध्य भएर अदालत गएको बताउँछन् ।

प्राधिकरणले भने ट्रंकलाइन बापत बक्यौता महशुल भन्दै जरिवानासहित महशुल तिर्नका लागि वारम्बार उद्योगीलाई ताकेता गर्दै आइरहेको छ । प्राधिकरणले ट्रंकलाइन विद्युत बापतको बक्यौता महशुल नतिरे जरिवाना लाग्ने र लाइन समेत काटिने पत्राचार गरेपछि दुई पक्षबीच विवाद चुलिँदै आएको छ ।

ट्रंकलाइनअन्तर्गत चौविसै घण्टा विद्युत् आपूर्ति हुनुपर्छ । तर प्राधिकरणले उद्योगीलाई ट्रंकलाइन महशुल प्रयोग गरेको भनिएको अवधिमा उद्योगीले दैनिक ८ घण्टासम्म लोडसेडिङको मार खेप्दै आएको दावी गरेका छन् । प्राधिकरणले लिन खोजेको ट्रंक लाइन विद्युत् महशुल अन्य वेलाको सामान्य महशुल भन्दा ६७ प्रतिशत महंगो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर