एमालेको सूचीमा भएका अजय शाहीलाई लुम्बिनी प्रदेशसभाले स्वतन्त्रमा सार्यो, एमालेको आपत्ति – Nepal Press

एमालेको सूचीमा भएका अजय शाहीलाई लुम्बिनी प्रदेशसभाले स्वतन्त्रमा सार्यो, एमालेको आपत्ति

रुपन्देही । लुम्बिनी प्रदेशसभा सचिवालयले यसअघि सार्वजनिक गरेको पुस्तकमा एमालेको सूचीमा पहिलो नम्बरमा राखिएका सांसद अजय शाहीलाई अहिले स्वतन्त्र सूचीमा राखेपछि एमाले र प्रदेशसभाबीच विवाद शुरु भएको छ ।

प्रदेशसभाले सार्वजनिक गरेको प्रदेशसभा नियमावली तथा सदस्य विवरणमा शाहीको नाम एमाले सांसदहरुको सूचीको पहिलो नम्बरमा छ ।

तर अहिले शाहीलाई प्रदेशसभा सचिवालयले स्वतन्त्र सांसदको सूचीमा राखेपछि एमाले र प्रदेशसभा सचिवालयबीच दूरी बढेको हो ।

‘एमाले शक्तिमा रहँदासम्म एउटा हुने र हटेपछि अर्को हुने कुरा हुँदैन, यो प्रदेशसभाको सत्ता केन्द्रीत राजनीतिबाहेक केही होइन’, एमाले लुम्बिनीका अध्यक्ष तथा सांसद लिला गिरीले भने ।

शाहीलाई नवगठित मन्त्रिपरिषदमा सामेल गरेको भन्दै नेकपा एमालेले प्रदेश प्रमुख अमिक शेरचनविरुद्ध आपत्ति जनाएपछि प्रदेशसभा सचिवालयले दिएको सूचीका आधारमा उनको हैसियत स्वतन्त्र सांसदको रहेको प्रदेश प्रमुख कार्यालयले दावी गरेको छ ।

नवलपरासीबाट सूर्य चिह्न लिएर नेकपा एमालेको सहयोगमा स्वतन्त्र सांसदको रुपमा निर्वाचित सांसद अजय शाही वर्तमान मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा बिनाविभागीय मन्त्री छन् ।

यसअघि प्रदेशसभा सचिवालयले प्रकाशन गरेका पुस्तक तथा प्रकाशनहरुमा उनको दलीय हैसियत नेकपा एमाले उल्लेख रहेपनि अहिले एकाएक शक्ति परिवर्तनपछि फेर्न थालिएको भन्दै एमालेले सभामुख पूर्णबहादुर घर्ती तथा प्रदेशसभा सचिव दुर्लभकुमार पुनको ध्यानाकर्षण गराइसकेको दावी गरेको छ ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शाहीको बिषयमा छापिएको पुस्तकमा प्रिन्ट मिस्टेक भएको दावी गरेका छन् । पुनले भने, शाहीजीको बिषयमा छापिएका कुनै पुस्तकमा स्वतन्त्र समूह छ भने कुनैमा नेकपा एमाले छ, प्रिन्ट मिस्टेक भएको छ । तर यो पुस्तक छापिएको ३ वर्ष भइसक्दा पनि अहिलेसम्म प्रदेशसभाले पुस्तकमा गल्ती छापिएको सूचना कतै गरेको थिएन ।’

पछिल्लोपटक साउन २७ गतेको प्रदेशसभाको विशेष अधिवशेनमा उनी सत्ता पक्षको कुर्चीमा बसेका थिए । त्यो बेला सत्तारुढ दलको रुपमा नेकपा एमाले थियो । शाहीलाई स्वतन्त्र सांसदको रुपमा प्रदेश प्रमुखको कार्यालयमा नाम पठाइएको भन्दै नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले एमाले सांसदलाई सभामुखले जर्वरजस्ती पार्टी परिवर्तन गर्ने र आफूखुसी नामावली फेरबदल गर्ने गरेको भन्दै त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

ढकालले नेपाल प्रेससँग भने’, ‘सभामुखले गलत राजनीतिक अभ्यास मात्रै होइन, गैरसंवैधानिक काम गरिरहनुभएको छ, कहिले कसलाई एमालेविरुद्ध लाग्न भन्नुभएको छ, कहिले कसलाई जवरजस्ती दल परिवर्तन गर्न दवाव दिनुभएको छ, उहाँले आफ्नो पदीय मर्यादा भुल्नुभयो, माओवादीको कार्यकर्ताभन्दा फरक व्यवहार गर्नभएन ।’

प्रदेशसभा सचिवालयका सचिव पुनले अजय शाही एमालेको सूर्य चिह्नबाट निर्वाचित सांसद भएको तर उहाँले आफ्नो व्यक्तिगत विवरणमा स्वतन्त्र सांसदको समूह उल्लेख गरेकोले सोहीअनुसार प्रदेश प्रमुखकोमा पठाइएको दावी गरेका छन् ।

एमालेले सभामुख, प्रदेशसभा सचिव, प्रदेश प्रमुख सबैले एमालेलाई कमजोर बनाउने गैरराजनीतिक खेल शुरु गरेकाले अब यसबारे गम्भीर भएर अगाडि बढ्ने बताएको छ । प्रमुख प्रतिपक्षको सांसदलाई बिनाजानकारी सरकारको मन्त्री बनाएको विषय सामान्य नरहेको पूर्वमन्त्री तथा एमाले सांसद लिला गिरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर