लुम्बिनीमा अस्थिर राजनीतिको फाइदा उठाउँदै जसपा, छ सांसदलाई पालैपालो मन्त्रालय – Nepal Press

लुम्बिनीमा अस्थिर राजनीतिको फाइदा उठाउँदै जसपा, छ सांसदलाई पालैपालो मन्त्रालय

रुपन्देही । लुम्बिनीमा अस्थिर राजनीतिको फाइदा लिँदै जसपाका सबै सांसद पालैपालो मन्त्री भएका छन् । प्रदेशसभामा दुईतिहाईभन्दा बढी भएको नेकपालाई सर्वोच्चले गराएको विभाजन र त्यसपछि पनि बहुमतमा रहेको एमालेभित्रको आन्तरिक विवादमा खेल्दै जसपाका ६ सांसद पालैपालो मन्त्री बन्नसफल भएका हुन् ।

६ सांसदमध्ये ४ जना यसअघि शंकर पोखरेलको सरकारमा सहभागी थिए भने अहिले पनि ३ सांसद कुलप्रसाद केसीको सरकारमा सहभागी छन् ।

दुवै सरकारमा सहभागी हुन पाउने सांसद हुन् सुमन शर्मा रायमाझी । अघिल्लो सरकारमा नाटकीय ढंगले राज्यमन्त्री बनेकी उनी एक महिनाअघि राजीनामा दिएर पुनः गठबन्धनमा आएकी थिइन् । अहिले उनी विनाविभागीय भएपनि मन्त्री बनेकी छन् ।

उनीसँगै जसपाबाट हराएको सूचना प्रहरीमा परेकी पुर्मती ढेंगा मगर पनि मन्त्री बनेकी छन् । उनलाई पनि विनाविभागीय मै राखिएको छ । उनीहरु सँगै पहिलेदेखि नै उपेन्द्र यादव समूहमा रहेका सहश्रराम यादव असह पनि मन्त्री बनेका छन् ।

वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेललाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएपछि संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसद सन्तोष पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी तथा हस्ताक्षर नगरेकी सांसद कल्पना पाण्डेले एमाले सरकारलाई समर्थन गर्दै आकर्षक मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

पार्टी निर्णयविपरीत एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपाले उनीहरुलाई कारवाही गर्दै संसदबाट पदमुक्त गरेपछि सर्वोच्चबाट थमौती भए पनि पुनः पदमुक्त भएका छन् । यद्यपि अहिले पनि यो विषय अदालतबाट सल्टिएको छैन ।

जसपाका लुम्बिनी प्रदेश महासचिव यज्ञ पोखरेल आफूले नचाहँदा पनि संसदीय राजनीतिको खेलमा परेको स्वीकार गर्दछन् । ‘यो व्यवस्थाप्रति नै असहमति राख्दै जिन्दगीभर राजनीति गरियो, अहिले आफ्नै नेतृत्वमा सरकार अदलबदल, मन्त्री अदलबदलमा जानुपर्ने अवस्था छ’, उनी भन्छन्, ‘यो अस्थिर राजनीतिको संकेत हो, म आफू सन्तुष्ट छैनँ तर नेतृत्वमा रहेपछि जिम्मेवारी त लिनैपर्यो ।’

८७ सांसद रहेको प्रदेशसभामा सत्ता खिचातानीका कारण ७ सांसद घटेर ८० संख्यामा सीमित छ । सरकार टिकाइराख्न र नयाँ बनाउन निर्णायक शक्तिमा रहेको जसपाले दुवै सरकारलाई पूर्णरुपमा प्रयोग गरेको छ ।

अधिवक्ता पदम कार्की अस्थिर राजनीतिको फाइदा दिने समूहले व्यवस्थालाई नै विकृत बनाएको तर्क गर्छन् । ‘यसको शुरुवात गर्ने ठूला भनिएका पार्टीहरु नै हु्न्, केन्द्रको प्रभाव प्रदेशमा परेको हो, यसले राम्रो सन्देश दिएको छैन’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर