तालिवानसँग लत्रिँदै अफगान सरकार, थप रक्तपातबिना सत्ता सुम्पने तयारी ! – Nepal Press

तालिवानसँग लत्रिँदै अफगान सरकार, थप रक्तपातबिना सत्ता सुम्पने तयारी !

काठमाडौं । अफगानिस्तानमा तालिवानले कब्जा जमाउँदै गएपछि सरकारले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणको तयारी सुरु भएको छ । देशका अधिकांस महत्वपूर्ण क्षेत्रमा कब्जा जमाइसकेका तालिवानी लडाकु अहिले राजधानी काबुलमा समेत प्रवेश गरिसकेका छन् ।

तालिवानलाई रोक्न सक्ने अवस्था नदेखिएपछि सरकारले वार्ताको पहल गरेको छ । तालिवानले पनि सकभर रक्तपातबिना शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण गर्न चाहेको सन्देश दिएका छन् । काबुलबाट बाहिरिन चाहने कसैलाई पनि अवरोध नगर्ने उक्त विद्रोही संगठनले जनाएको छ ।

तालिवानका एक प्रवक्ताले ट्वीट गर्दै भनेका छन्, ‘संक्रमण प्रक्रियाले पूर्णता नपाउञ्जेलसम्म काबुलको सुरक्षाको जिम्मेवारी अर्को पक्ष (सरकार) सँग छ ।’

त्यसलगत्तै अफगान सरकारले काबुलमा रक्तपात रोक्न तथा शक्ति हस्तान्तरण गर्न वार्ताहरू भइरहेको जानकारी दिएको हो ।

अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवलले तालिवानले आफ्ना लडाकुलाई काबुलबाट पछि हट्न आदेश दिएको भन्दै एउटा संक्रमणकालीन सरकारलाई ‘शान्तिपूर्ण तवरले शक्तिको हस्तान्तरण गर्न’ तयारी भएको बताएका छन् ।

‘अफगानी जनताले सुर्ता गर्नु पर्दैन, शहरमा कुनै आक्रमण हुने छैन र एउटा संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण तवरबाट शक्तिको हस्तान्तरण हुने छ,’ उनले एउटा रेकर्ड गरिएको भाषणमा भनेका छन् ।

यसअघि तालिवानले एउटा अनलाइन विज्ञप्ति जारी गरेको थियो, जसमा उसले आफ्ना लडाकुलाई काबुलको गेटभित्र नपस्न र शहरलाई बलपूर्वक कब्जामा नलिन निर्देशन दिइएको उल्लेख छ ।

‘हस्तान्तरणको प्रक्रिया बिना कुनै हताहति शान्तिपूर्ण तरिकाले हुने सुनिश्चित गर्नका लागि वार्ताहरू हुन गइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

अर्को एउटा विज्ञप्तिमा संगठनले बैंक, व्यापारी तथा उद्योगीका सम्पत्ति, पैसा र संस्थाहरमा लडाकु समूहले कुनै हस्तक्षेप नगर्ने भनेर आश्वस्त तुल्याएका छन् । यद्यपि यस्तो प्रद्धिवद्धताका बाबजुद मानिसहरु आत्तिएर शहरबाट आआफ्नो घरतर्फ पलायन हुने क्रम बढेको छ ।

यसअघि चारैतर्फबाट तालिवानी लडाकु कावुलतर्फ प्रवेश गरिरहेका थिए । तर, माथिल्लो तहको निर्देशनपछि उनीहरु रोकिएको बताइएको छ । त्यसैले अहिलेसम्म देशको राजधानी शहर सरकारकै नियन्त्रणमा छ । अन्यत्र भने तालिवानले कब्जा जमाइसकेका छन् ।

अफगानिस्तानमा जारी संकटसँगै त्यहाँ रहेका विदेशी दूतावासहरू धमाधम खाली गराइएका छन् । अमेरिकाले हेलिकोप्टरमार्फत आफ्नो दूतावासका कर्मचारीहरूलाई रेस्क्यू गरेको थियो ।

तालिवानविरुद्ध अफगान सरकारको कमजोर प्रतिरोधले कूटनीति क्षेत्रलाई पनि अचम्भित तुल्याएको छ । अघिल्लो हप्तामात्रै अमेरिकी जासुसी संयन्त्रले कम्तीमा तीन महिना अफगान सरकारले तालिवानलाई रोक्न सक्ने आँकलन गरेको थियो ।

राष्ट्रपति अस्रफ घानीले शनिबार अन्तर्राष्ट्रिय साझेदार र स्थानीय नेताहरूसँग आफू आपतकालीन परामर्शमा रहेको बताएका थिए । त्यसपश्चात भने उनी मौन बसेका छन् । समाचारहरुमा भने उनले तालिवानी कमाण्डरलाई सत्ता सुम्पने मनस्थिति बनाइसकेको उल्लेख छ ।

राजधानी काबुलमा अहिलेसम्म तालिवानले कुनै आक्रमण नगरे पनि त्यहाँ आतंकको माहोल छ । बाहिरबाट आएर बसिरहेका मानिसहरु आ-आफ्नो घर फर्किने हतारोमा छन् । विमानस्थलमा भीडभाड छ । धेरै मानिसहरू आफ्नो कार यत्तिकै सडकमा छोडेर एयरपोर्टतर्फ दौडिएको पनि समाचारमा उल्लेख छ ।

तालिवानका एक अधिकारीले लडाकुहरूलाई जितको खुशीमा बन्दुक नपड्काउन आदेश दिइएको बताएका छन् । साथै अफगानको सुरक्षा बलसँग सम्बन्धी व्यक्तिहरूलाई सकुशल घर फर्किन दिइने उनको भनाइ छ ।

अस्पताल तथा विमानस्थललाई यथावत सञ्चालन हुन दिइने तथा आपतकालीन आपूर्ति सेवाहरू पनि प्रभावित नहुने उनको भनाइ छ । विदेशी नागरिकलाई उनीहरुले चाहेको खण्डमा देश छोड्न अनुमति दिइने छ । अथवा तालिवानका प्रशासकहरूसमक्ष उनीहरूले आफ्नो उपस्थिति दर्ता गर्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *