कर्णालीमा आधुनिक ब्लड बैंक स्थापना गर्न रेडक्रसले ठाउँ पाएन – Nepal Press

कर्णालीमा आधुनिक ब्लड बैंक स्थापना गर्न रेडक्रसले ठाउँ पाएन

सुर्खेत । कर्णाली प्रदेशका लागि ब्लड बैंक स्थापनाका लागि रेडक्रसले लामो समयदेखि गरेको प्रयास निरर्थक हुँदा आधुनिक संरचनासहितको सुविधा विस्तार गर्न असमर्थ भएको छ ।

कर्णाली प्रदेश अस्पतालले ब्लड बैंकका लागि आवश्यक जग्गा वा ठाउँ उपलब्ध नगराउँदा अत्यावश्यक रगतको व्यवस्था गर्न समस्या भइरहेको छ । प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर आचार्यको वेवास्ताका कारण ब्लड बैंक स्थापनामा विलम्ब भइरहेको आरोप लागेको छ ।

‘प्रदेश अस्पतालको संरचनामा कम्तिमा चारवटा कोठा उपलब्ध गराइदिनुस भनेर हामीले लामो समयदेखि अस्पतालदेखि मुख्यमन्त्रीसम्मलाई अनुरोध गरिरहेका छौं । तर कलैबाट सुनुवाई भएन,’ जिल्ला रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्यले भने । सुर्खेत रेडक्रसले अहिले पनि दैनिक १ सय पिन्ट रगत वितरण गर्दै अँएको छ ।

२०५३ सालमा तत्कालीन जिल्ला अस्पतालको परिषरमा भवन निर्माण गरी ब्लड बैंक स्थापना गरिएको थियो । अस्पताललाई पछि कालागाउँ सारिँदा पुरानो भवनबाट रगत वितरण गर्दा विरामी र आफन्तलाई झन्झट हुने देखियो ।

‘त्यो समयमा सुर्खेतमा जनघनत्व कम थियो । हामीलाई अस्पतालले एक कोठा उपलब्ध गराएको थियो । एक कोठाले अहिले भने धान्न नसकिने अवस्था आएको छ,’ रेडक्रस सभापति आचार्य भन्छन्, ‘हामीले बारम्बार जग्गा देउ, नभए कोठा देउ, हामी स्रोत दाताहरुसँग जुटाएर भएपनि अत्याधुनिक ब्लड बैंक खोल्छौं भनिरहेका छौं ।’

कर्णाली सरकारले ब्लड बैंक स्थापनाका लागि गत आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको थियो । रेडक्रस श्रोतका अनुसार सामाजिक विकस मन्त्रीको निर्देशनसमेत नमानेर प्रदेश अस्पतालका मेसु डा. खड्काले सो रकम फ्रिज गराइदिएका छन् ।

रेडक्रसले रगतको माग उच्च हुन थालेको अवस्थामा प्रविधिमैत्री ब्लड बैंक स्थापना गर्न ढिला भइसकेको बताएको छ । उनले पुरानो भवनमा ब्लड बैंक स्थापना गरेर सञ्चालन गर्दा आम सेवाग्राहीलाई सास्ती हुने भएका कारण अस्पतालमै जग्गा वा कोठाको व्यवस्था मिलाउन माग गरेको बताए ।

अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जग्गा दिने नदिने बारेमा उच्च तहमा कुराकानी भइरहेको बताउँदै त्यसबारेमा आफूलाई जानकारी नभएको बताए ।

सुर्खेत रेडक्रसका सभापति आचार्य कांग्रेस नेता हृदयराम थानी समूहका कार्यकर्ता तथा अस्पतालका मेसु डा. खड्का कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका भाइ रहेकाले दुई समूहबीचको टकारावको असर ब्लड बैंक स्थापनामा परेको टिप्पणी कतिपयले गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर