रुपन्देहीमा एमालेका बेग्ला बेग्लै बैठक- सदस्यता नवीकरण साझा एजेण्डा – Nepal Press

रुपन्देहीमा एमालेका बेग्ला बेग्लै बैठक- सदस्यता नवीकरण साझा एजेण्डा

रुपन्देही । रुपन्देहीमा नेकपा एमालेको संस्थापन समूह र नेपाल समूहको अलग-अलग बैठक बसेको छ । संस्थापन पक्षको बैठकबारे सूचना पाएपछि समानान्तर कमिटी बनाएको नेपाल समूहले पनि एउटै दिनमा बैठक आव्हान गरेको हो । संस्थापन पक्षको बैठक रुपन्देहीको मणिग्राममा सम्पन्न भएको छ ।

वैठकले जिल्लामा जारी पार्टी सदस्यता नवीकरण अभियान साउन मसान्तसम्म सम्पन्न गर्ने, भदौ २७ र २८ गते हुने विधान महाधिवेशनका लागि पालिका तथा शाखा तहबाट सुझाव संकलन गर्ने र कार्ययोजना बनाएर आगामी असोज ३ गते वडा कमिटी तथा असोज ९ गते पालिका कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको पार्टी सहसंयोजक तेजेन्द्र केसीले जानकारी दिएका छन् ।

बैठकलाई लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले सम्बोधन गर्दै पार्टी अबका दिनमा सुदृढ र गतिशिलताका साथ अघि बढ्ने बताउँदै पार्टी जीवनमा देखिएका असहजतालाई अवसरको रुपमा उपयोग गरी अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

वैठकमा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज दधिराम न्यौपाने, पार्टीका प्रदेश कमिटी सदस्य तथा भूमि आयोग रुपन्देहीका संयोजक बलबहादुर आचार्य, अखिल नेपाल किसान संघका स्थायी कमिटी सदस्य कविराम अर्याल, जिल्ला सहसंयोजक तेजेन्द्र केसी, जिल्ला सचिवालय सदस्य नरबहादुर थापा, मोहन चापागाई, जिल्ला सदस्यहरु प्रकाश अर्याल, नरबहादुर घर्ति, खेमराज गुरुङ, चोपलाल आचार्यलगायत बोलेका थिए ।

बैठक पार्टीका जिल्ला संयोजक शिवराज सुवेदीको अध्यक्षता र जिल्ला सचिव अनुप बरालको सञ्चालनमा भएको थियो ।

माधव पक्षको मेरिगोल्डमा

नेकपा एमाले रूपन्देही माधव नेपाल समूहको बैठक बुटवलको होटल मेरीगोल्डमा सम्पन्न भएको छ । सो समूहका जिल्ला अध्यक्ष राजु गुरूङको अध्यक्षता र पोलिटव्युरो सदस्य डा. विजय पौडेलको प्रमुख आतिथ्यतामा भएको बैठकमा प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ति, केन्द्रीय सल्लाहकार रामचन्द्र भट्टराई, प्रदेश कमिटी नन्दीकेशर ढकाल, छत्रबहादुर खत्री, बालकृष्ण चापागाईलगायतको सहभागिता रहेको थियो ।

बैठकले पार्टी सदस्यता नवीकरण र पार्टी सदस्य आवेदन भदौ मसान्तसम्म सम्पन्न गर्न मातहत कमिटीलाई निर्देशन गरेको छ । यसैगरी बैठकले जिम्मेवारी विभाजन पनि गरेको छ ।

भदौ १५ भित्र पालिकास्तरमा जबसको कमिटी निर्माण, भदौ मसान्तसम्म शाखा तहको कमिटी गठन, पुनर्गठनअघि बढाउने बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख सिद्धचरण भट्टराईले जनाएका छन् ।

बैठकले पार्टी केन्द्रलाई सुझाव दिँदै २/२ पटक प्रतिनिधि सभा विघटन, नेकपा विभाजन र एमालेभित्र एकता कायम गर्न नसकेकोले पार्टी एकताका लागि नैतिकताका आधारमा अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएको भट्टराईले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर