सचिवालयले नै विवादमा तान्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनलाई – Nepal Press

सचिवालयले नै विवादमा तान्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनलाई

मिडियाका समाचारमा आपत्ति, माओवादी कार्यक्रमको प्रमुख अतिथि

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको सचिवालयले विभिन्न विषयमा जारी गरेको चेतावनीयुक्त विज्ञप्तीले प्रदेश प्रमुखलाई अनावश्यक विवादमा तानेको छ । केही दिनअघि मिडियामा ‘माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका प्रदेश प्रमुख’ भन्ने समाचारमा चेतावनीयुक्त खण्डन प्रकाशन गरेको उनको सचिवालयले एमालेका लुम्बिनी अध्यक्ष लिला गिरीमाथि उस्तै प्रकारको विज्ञप्ती सार्वजनिक गरेपछि चर्चामा आएको छ ।

शुक्रबार आएको विज्ञप्तीले प्रदेश प्रमुख कार्यालय र नेकपा एमालेबीच दोहोरी सुरु भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी २ मन्त्रीहरुको विषयलाई लिएर एमाले र प्रदेश प्रमुखबीच आरोप–प्रत्यारोप चलेको हो ।

कानुन विपरीत आफ्ना सांसदलाई मन्त्रीको सपथ ग्रहण गराएको भन्दै नेकपा एमाले लुम्बिनी प्रदेशले जारी गरेको विज्ञप्तिप्रति प्रदेश प्रमुखको सचिवालयले आपत्ति जनाउँदै खण्डन विज्ञप्ति सार्वजनिक गरेको हो । शुक्रबार प्रदेश प्रमुखको निजी सचिवलयका तर्फबाट नारायणप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा एमाले अध्यक्ष लिला गिरीको नामै तोकेर प्रतिप्रश्न गरिएको छ ।

सचिवालयबाट जारी गरिएको विज्ञप्तिमा एउटा पार्टीका सदस्यलाई अर्को पार्टीमा सामेल गर्ने र पार्टी परिवर्तन गर्ने गरिएका धेरै उदाहरण रहेको भन्दै त्यसतर्फ ध्यान पुर्याउन गिरीलाई आग्रह गरिएको छ । ‘एउटा पार्टीका सदस्यलाई अर्को पार्टीमा सामेल गर्ने र पार्टी परिवर्तन गर्ने गरिएका उदाहरणहरूप्रति पनि लीला गिरीजीको ध्यान नपुगेको हो कि रु’–विज्ञप्तिमा उल्लेख छ ।

पार्टी परिवर्तन गर्ने र नगर्ने विषय निःतान्त राजनीतिक र व्यक्तिहरूको सरोकारको विषयसँग प्रदेश प्रमुखलाई आरोपित गर्नु पूर्वाग्रहको तुच्छ मनोवृत्ति र अति निन्दनीय कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिको अन्तिममा लेखिएको छ– ‘आयन्दा यस प्रकारको तुच्छ आरोप नगर्न पनि सबैमा आग्रह गर्दछु ।’

बिहीबार साँझ गठन गरिएको नयाँ सरकारको मन्त्रीमा आफ्ना सांसद अजय शाहीलाई सपथ ग्रहण गराएको भन्दै एमालेले प्रदेश प्रमुखको भूमिकाप्रति प्रश्न उठाउँदै विज्ञप्ति जारी गरेको थियो । एमालेले नवलपरासीका सांसद शाही सूर्य चिह्नबाट निर्वाचित भएकोले उनलाई चार दलीय गठबन्धनमा सहभागी गराई मन्त्रीको सपथ ग्रहण गराएर प्रदेश प्रमुखले गैरसंवैधानिक र गैरसंसदीय भूमिका निर्वाह गरेको आरोप लगाएको थियो । त्यस्तै, सूर्य चिन्हबाट तत्कालीन नेकपाबाट दाङको उपनिर्वाचनमा निर्वाचित सांसद विमला वलीलाई पनि गठबन्धनमा सहभागी गराइएकोप्रति आपत्ति जनाएको थियो ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तीलाई एमालेले धम्कीपूर्ण पत्रका रुपमा लिएको छ । एमाले लुम्बिनी प्रदेशका सचेतक भूमिश्वर ढकालले विज्ञप्तिमा प्रयोग गरिएको भाषाप्रति आपत्ति जनाए ।
प्रदेश प्रमुखले आफ्नो मर्यादा बिर्सेर उक्त कार्यालयलाई माओवादीको सेल्टर तथा कार्यकता राख्ने ठाउँको रुपमा प्रयोग गरको आरोप उनले लगाए । संविधान, विधि र प्रक्रिया मान्नुको साटो उल्टै धम्कीपूर्ण भाषा प्रयोग गरी विज्ञप्ति जारी गर्नु निन्दनीय भएको उनको भनाइ छ।

कुशल राजनीतिज्ञ, सरल र सादगी नेताका रुपमा मानिएका र प्रदेश प्रमुखजस्तो गरिमामय जिम्मेवारीमा पुनः नियुक्त हुँदै लुम्बिनी आएका अमिक शेरचनको कार्यालयबाट आएको जवाफी विज्ञप्तीले मर्यादा नाघेको एमालेको दावी छ ।

आफ्ना सांसदलाई मन्त्रीको रुपमा सपथ खुवाएको भन्दै नेकपा एमाले लुम्बिनीले जारी गरेको विज्ञप्तीमा अध्यक्ष गिरीकै नाम इंगित गर्दै चेतावनीपूर्ण जस्तो भाषामामा जारी गरिएको विज्ञप्तीले प्रदेश प्रमुखको सादगी, सरलता,बोली भन्दा व्यवहार फरक देखिएको एमालेको ठहर छ ।

प्रदेश कार्यालयलाई माओवादी कार्यालयजस्तो बनाएको विषय सार्वजनिक भएपछि प्रदेश प्रमुख शेरचनले केही दिन अगाडि रिपोर्टर्स क्लब नेपाल लुम्बिनीको वार्षिकोत्सवमा आफू राजनीतिक रुपमा कुनै दलको सदस्य नभएको प्रष्टिकरण दिएका थिए । उनले प्रदेश प्रमुख र नागरिकको हैसियतमा मात्रै रहेको बताएका थिए । ‘म पनि सामान्य नागरिक हो, प्रदेश प्रमुखको जिम्मेवारीमा रहँदा संविधानअनुसार नै मेरो कदम अगाडि बढ्नेछन् । मेरो कुनै दलप्रति समर्थन र पूर्वाग्रह हुँदैन । म पनि सामान्य नागरिक हो, मसँग जो कोहीले जतिबेला पनि भेट्न सक्नु हुन्छ, ढोका खुल्ला छ’ उनले भनेका थिए ।

तर उनको सचिवालयले उनको भनाइ विपरीत हरेक विषयमा खण्डन गर्दै आएको छ । यस्तैगरी साउन २७ गते कपिलवस्तुमा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश प्रमुख शेरचन सहभागी भएपछि पदीय मर्यादा नाघेको प्रष्ट भएको एमाले कपिलवस्तुका नेता भेषराज पाण्डेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर