उपत्यकाका चार अस्पताल र बाहिरका ५० शैया भन्दामाथीका अस्पतालबाट खोप प्रमाणीकरण हुने – Nepal Press

उपत्यकाका चार अस्पताल र बाहिरका ५० शैया भन्दामाथीका अस्पतालबाट खोप प्रमाणीकरण हुने

अनलाईन प्रणालीमाफर्त अपलोड गरिएका कागजात अनलाईनबाटै स्वतः प्रमाणीकरण हुने

काठमाडौं । काठमाडौं उपत्यकामा टेकु अस्पतालका अतिरिक्त पाटन अस्पतालल नेपाल प्रहरी अस्पताल र निजामती अस्पतालबाट र उपत्यका बाहिरका ५० शैया भन्दा माथीका सरकारी अस्पतालबाट समेत खोप प्रमाणीकरण गर्ने व्यवस्था मिलाइएको गृह मन्त्रालयले स्पष्ट पारेको छ । वैदेशिक रोजगारमा जाने युवालाई समेत लक्षित गरी खोप लगाउन थालिएसँगै खोप प्रमाणीकरणको माग अत्याधिक बढ्न गएकाले यस्तो व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उदृत गर्दै गृह मन्त्रालयले एक विज्ञप्तीमार्फत स्पष्ट पारेको हो ।

विगतमा कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाएकालाई वैदेशिक यात्रा प्रयोजनका लागि खोपको प्रमाणीकरण आवश्यक परेको अवस्थामा टेकु अस्पतालबाट प्रमाणीकरण हुँदै आएको थियो । कतिपय देशले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्र मान्यता दिने गरेकाले खोप प्रमाणीकरण आवश्यक पर्ने व्यक्ति स्वयंमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनलाईन प्रणालीमार्फत खोप लगाइएको विवरण प्रविष्ट गरी आवश्यक कागजात अर्थात खोप कार्ड, राहादानी नम्बर, अनलाईन फर्ममा रहेको कबुलियतनामाको नमूना अपलोड गरी क्यूआर कोडसहितको प्रमाणीकरण प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव फणिन्द्रमणी पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

अनलाईन प्रणालीमाफर्त अपलोड गरिएका कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाईनबाटै स्वतः प्रमाणीकरण हुने र यो प्रक्रिया निरन्तर रुपमा चलिरहने भएकाले क्यूआर कोडसहितको प्रमाणपत्र क्रमशः सबैले पाउने व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले यस विषयमा कुनै समस्या भए बरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक झाको मोबाइल नम्बर ९८४३२८४३५२ मा सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर