प्रहरी निरीक्षक वाग्लेको मृत्यु प्रकरणमा अनुसन्धान गर्न सहसचिवको नेतृत्वमा छानबिन समिति गठन – Nepal Press

प्रहरी निरीक्षक वाग्लेको मृत्यु प्रकरणमा अनुसन्धान गर्न सहसचिवको नेतृत्वमा छानबिन समिति गठन

काठमााडौं । पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयमा कार्यरत सहसचिव सुनील खनालको नेतृत्वमा मन्त्रालयले छानबिन समिति गरेको मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

सहसचिव खनालको नेतृत्वमा गठित छानविन समितिलाई १० दिन भित्र स्थलगत रुपमा सत्य तथ्य छानविन गरी प्रतिवेदन पेश गर्न शुक्रबार गृहमन्त्रीस्तरीय बैठकले निर्णय गरेको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव फणिन्द्रमणी पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ । उक्त घटना शंकास्पद भएको भन्दै कांग्रेस सांसद देवेन्द्रराज कँडेलले संसदमा प्रश्न उठाएका थिए । समितिको सदस्यमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरी सदस्य छन् ।

चार दिन अघि साउन २५ गते नवलपरासी पश्चिको बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित ईलाका प्रहरी कार्यालय, बर्दघाट अगाडी पूर्व–पश्चिम राजमार्गमा लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ इन्सपेक्टर वाग्ले गम्भिर घाइते भएका थिए । घाइते वाग्लेलाई उपचारका लागि चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा समान्य उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रुपन्देही पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले इन्सपेक्टर वाग्लेलाई निलम्बन गरेको भोलिपल्टै उनको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । मोबाइल तस्करीको घटनाको अनुसन्धानमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो । मोबाइल तस्करीमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) मुकुन्दराज आचार्यको मिलेमतो रहेको भन्दै सांसद कँडेलले संसदमै आरोप लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर