निषेधाज्ञा उल्लंघन गर्दै चितवनका मेयर–सांसद दलीय भेलामा, पसल बन्द गराउने प्रहरी मुकदर्शक – Nepal Press

निषेधाज्ञा उल्लंघन गर्दै चितवनका मेयर–सांसद दलीय भेलामा, पसल बन्द गराउने प्रहरी मुकदर्शक

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ देखि निरन्तर निषेधाज्ञा अवधि लम्बाइरहेको छ । पछिल्लो पटक साउन २४ गते कोभिड–१९ को डेल्टा भेरियण्टसमेत देखिएको भन्दै साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी छ ।

सवारीसाधनमा जोर–विजोर लागू गरिएको छ । पसलहरु ६ घण्टाका दरले हप्तामा ३ दिनमात्र खुल्ने व्यवस्था गरिएको छ । चोकचोकमा जोर–विजोर पालना नगर्ने सवारीमाथि कारवाही अभिया नै चलाइएको छ । बिहीबार मात्रै ७६ सवारी कारवाहीमा परे । तोकिएको समयबाहेक पसल, होटल, रेष्टुरेण्ट खुलेमा बन्द गराउन चितवन प्रहरी खटिएको छ । तर, भेला, प्रर्दशन रोक्न भने चितवन प्रशासन कमजोर देखिएको छ ।

आज मात्रै सत्तारुढ दल नेकपा माओवादी केन्द्रले भरतपुर–१ र माडी–७ मा वडा भेला गरेको छ । नारायणगढको जेसिस भवनमा भएको भेलामा पार्टी प्रवेश पनि गराइएको थियो । चितवन प्रशासनको आदेशमा भौतिक रुपमा उपस्थित भएर हुने सबै सभा, सम्मेलन, प्रर्दशन,, भेला, सेमिनार, तालिम, जात्रा, महोत्सव लगायतका गतिविधि गर्न नपाइने उल्लेख छ ।

आदेश उल्लंघन गरेमा कानूनबमोजिम कारवाही हुने भनिएको छ । तर, वडा भेलाहरु चलिरहँदा चितवन प्रशासन भने मौन छ । भरतपुर महानगरको वडा नम्बर १ को वडा भेलामा मेयर रेणु दाहाल, वागमती प्रदेश सांसद घनश्याम दाहाल, जिल्ला अध्यक्ष यमबहादुर परियारलगायत सहभागी थिए । हल भरीभराउ थियो ।

वडा नम्बर १ मा ६५ जना अन्य पार्टी छाडेर माओवादी केन्द्र प्रवेश गरेका छन् । उता माडी–७ मा मास्कविनै नेता, कार्यकर्ता सहभागी भएका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

कार्यक्रममा माडीका मेयर ठाकुरप्रसाद ढकाल पनि सहभागी थिए । चितवनका सिडिओले ३ दिन पहिले स्वास्थ्य कार्यालय चितवनले गरेको भर्चुअल पत्रकार सम्मेलनमा भीडभाडजन्य गतिविधि रोक्ने प्रतिवद्धता जनाएका थिए ।

जिम्मेवार पक्षबाटै निषेधाज्ञा उल्लंघन भएको उनले स्वीकारेका थिए । माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियारले सामाजिक दूरी पालना गर्दै भेलाहरु भएको दाबी गरेका छन् । तर, सामाजिक सञ्जालमा राखिएका तस्वीरमा जनस्वास्थ्यका मापदण्डहरु पालना भएको देखिँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर