यस्तो बन्दैछ दासढुंगामा मदन–आश्रित स्मृति पार्क (भिडियोसहित) – Nepal Press

यस्तो बन्दैछ दासढुंगामा मदन–आश्रित स्मृति पार्क (भिडियोसहित)

चितवन । दासढुंगा घटनाको सम्झनामा मदन–आश्रित स्मृति पार्क बनाउन विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार गरिएको छ ।

राजनीतिक तीर्थस्थल, राजनीतिक अध्ययन केन्द्र तथा मनोरम पार्क बनाउने गरी करिब ३६ करोड बराबरको गुरुयोजना अन्तिम चरणमा पुगेको छ ।

इको कोड नेपाल, सितारा र फुल ब्राइट जेभीले तयार पारेको गुरुयोजना भदौ पहिलो साता पर्यटन विभागमा पेश हुँदैछ । इको कोड नेपालका प्रवन्ध निर्देशक तथा अर्वान प्लानर कुमार धमलाका अनुसार डिपिआरमाथि सरोकारवालासँग सुझाव संकलन गरिएको छ । ‘३ महिना लगाएर अध्ययन गरेका छौँ, भदौ पहिलो साता रिपोर्ट बुझाइने छ’, उनले भने, ‘१२ विघा क्षेत्रलाई समावेश गरेर गुरुयोजना बनाएका हौं ।’

के–के बन्छन् पार्कमा ?

स्मृति पार्कलाई तीन भागमा बाँडिएको छ । घटनास्थल दासढुंगा नजिकैको पूर्वतर्फको पहाडी क्षेत्रमै अधिकांश पूर्वाधारहरु बन्नेछन् । पार्कमा जीवनी झल्कने, मनोरञ्जनात्मक क्षेत्र र आवाससहितको राजनीतिक अध्ययन केन्द्रहरु हुनेछन् । संग्रहालय, अध्ययन केन्द्र, पिकनिक स्पट, वाटर फाउण्डेसन, गार्डेन, भ्यूडेक, फुडकोर्ट, रकिङ क्लाइमविङ, सुटिङ रेन्ज, आकर्षक झर्ना लगायतका संरचनाहरु पनि बनाइने छ । माथिल्लो भागबाट समथर फाँट, बजार, नदीनाला, हिमशृङ्खला अवलोकन गर्न सकिनेछ ।

पुल तरेर जानुपर्ने तनहुँतर्फको भेगको भित्तामा पूर्णकदका विशाल शालिक राखिनेछ । ‘यो पार्क जीवनी जान्न चाहने वा घुमफिर गर्न चाहने सबैको रोजाईमा पर्नेछ’, मदन–आश्रित स्मृति प्रतिष्ठान दासढुंगा शाखा अध्यक्ष तथा प्रदेश सांसद विजय सुवेदीले भने, ‘डिपिआर नहुँदा पूर्वाधार निर्माणमा ढिलाइ भयो, अब कामले तीव्रता पाउने आशा छ ।’

भिडियो

काठमाडौंमा छलफलपछि गुरुयोजना पेश हुने उनले बताए । उनले त्रिशुलीमा खसेको त्यो बेलाको जीपलाई संग्रहालयमा ल्याउन पहल गरिने बताए ।

चर्चा धेरै, काम थोरै

घटनास्थल र शव फेला परेको स्थान समेटेर एकीकृत विकास परियोजना लागू गर्ने चर्चा निकै चल्यो । जेठ ३ गते वर्सेनि दासढुंगामा मदन र जीवराजलाई सम्झने परम्परा छ । तर, पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न होस् या घटना छानविनमा सरकारले खासै चासो दिएको छैन ।

२०५५ सालतिरै घटनास्थलमा निजी क्षेत्रको लगानीमा करिब ७ लाख खर्चेर अर्धकदको शालिक राखियो, सामान्य पार्कका रुपमा विकास भयो । केही वर्ष यता भने दासढुंगा क्षेत्र चासोमा पर्न थालेको छ । विष्णु पौडेल अर्थमन्त्री भएका बेला स्मृति पार्क बनाउन सहज हुने गरी एक विघा १२ कट्टठा जग्गा सरकारले किन्यो ।

शव भेटिएको क्षेत्र गाजीपुरमा समेत बल्ल केही पूर्वाधार बन्न थालेका छन् । भ्यू टावर, गोलघर, बगैंचा, अर्धकदको शालिक राख्ने काम भएका छन् । ‘दासढुंगादेखि गोलाघाट क्षेत्रको समग्र विकास गर्न स्वायत्त संस्था माग गरेका छौँ’, मदन भण्डारी फाउण्डेसनका सहसचिव तिलक रिमालले भने, ‘चर्चामा धेरै परेपनि पूर्वाधार विकासमा यी क्षेत्र ओझेलमा पर्दै आए ।’ उनले गुरुयोजना र डिपिआरलाई कार्यान्वयनमा तीन तहकै सरकार प्रतिवद्ध बनेमा चितवनको चिनारी विस्तार हुने बताए । फाउण्डेसनले नारायणी एकीकृत विकास परियोजनाका लागि प्रदेश सरकासँग २ वर्षदेखि लबिङ गर्दै आइरहेको छ ।

मदन–आश्रितको मृत्यु रहस्यमै !

तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जीप दुर्घटनामा परेर ज्यान गुमाए । तर, दुर्घटना या हत्या के थियो ? जनताले जान्न चाहेको २८ वर्ष बित्यो । २०५० जेठ ३ गते नारायणगढ–मुग्लिन सडकको दासढुंगा घटना धेरैले सम्झन्छन् ।

त्यो बेला एमालेले षड्यन्त्रपूर्वक हत्याको भएको बतायो । घटना छानविन गर्न बनेका आयोगले समेत वास्तविकता सार्वजनिक गर्न सकेनन् ।

एमालेकै नेतृत्वमा सरकार बने । मन्त्रीहरु बने । सत्तामा पुग्दासमेत छानविन नभएपछि पार्टीनै उदासिन बनेको आरोप लाग्न थाल्यो ।

जनताको बहुदलीय जनवाद प्रतिपादक मदन भण्डारी आदर्श नेताका रुपमा परिचित छन् । आश्रितको शव भोलिपल्टै जीपभित्रै भेटिएको थियो । तर, २ दिनपछि २७ किमि पर गाँजीपुरमा शव फेला परेको थियो । जीपमा सवारी ३ जनामध्ये २ जनाले ज्यान गुमाए । चालक बाँच्न सफल भए । पछि चालक अमर लामाको १० वर्षपछि गोली हानेर हत्या भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *