युवा संघ सुर्खेत कार्यसमितिले पूर्णता पायो – Nepal Press

युवा संघ सुर्खेत कार्यसमितिले पूर्णता पायो

सुर्खेत । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले आफ्नो संगठन सुदृढीकरण अभियान सुरु गरेको छ । केन्द्रमा दुई गुटबीच विवाद जारी रहेको समयमा युवा संघले बुधबार सुर्खेत जिल्ला कमिटीलाई पूर्णता दिएको हो ।

केन्द्रीय सचिवालय सदस्य कमल खड्का ‘जुनी’ को नेतृत्वमा ३५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ। यसमा केहि संख्या मनोनित गर्न बाँकी रहेको युवा संघ सुर्खेतले जनाएको छ ।

नयाँ कमिटिमा कमिटिको वरिष्ठ उपाध्यक्षमा वासुदेव आचार्य, उपाध्यक्षमा विक्रम विक, अमृत बुढाहोमबहादुर रामजाली, समिर शाही र कटक शाही रहेका छन् । यस्तै सचिवमा डम्मर राना नियुक्त भएका छन् ।

युवा संघको सचिवालयमा ३१ सदस्यीय बनाइएको छ भने त्यसकालागि तत्काल १६ सदस्य छनौट भएका छन् भने १५ जनालाई केहि दिनमा नै मनोनित गरिने छ ।

सुर्खेतका सबै स्थानीय तहमा अध्यक्ष र सचिवको जिम्मेवारी पनि युवा संघले तोकिसकेको छ । स्थानीय तहका इन्चार्ज भने सचिवालयको वैठकले तोक्ने अध्यक्ष खड्काले बताए । जिल्ला इन्चार्ज केन्द्रले तोक्ने भएका कारण त्यसकालागि सिफारिस लेखि पठाउने निर्णय गरिएको उनको भनाई थियो ।

उनले युवा संघ सुर्खेत अब कसैकालागि कुरेर नबस्ने प्रतिक्रिया दिए । ‘अब हामी हाम्रो संगठनलाई विस्तार गर्दै अघि बढछौं । युवा संघ केन्द्रको नीति अनुसार हरेक स्थानीय तहमा संगठन विस्तार, सुदृढीकरण र भेलाका कार्यक्रमहरु अघि बढाउँछौं,’ अध्यक्ष खड्काले भने, ‘केन्द्रको संघर्षकै भरमा परेर हामी कुर्ने वाला छैनौं । आउने साथीहरुलाई हामीले समेटेर लिएका छौं ।’

युवा संघ एमालेको सम्पत्ति भएको बताउँदै कसैलाई पनि गुटका आधारमा नहेरी क्षमताका आधारमा जिम्मेवारी दिइने उनको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर