पार्टी कार्यालयमा कार्यकर्ताको अनसन, कांग्रेस केन्द्रीय समिति बैठक सभापतिको घरमा – Nepal Press

पार्टी कार्यालयमा कार्यकर्ताको अनसन, कांग्रेस केन्द्रीय समिति बैठक सभापतिको घरमा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सभापति शेरबहादुर देउवाको घरमै बस्ने भएको छ । सानेपामा सुविधासम्पन्न केन्द्रीय कार्यालय भए पनि बुढानिलकण्ठस्थित देउवा निवासमा बैठक बस्न लागेको हो ।

यसअघि प्रधानमन्त्री समेत रहेका सभापति देउवाले पार्टीका आन्तरिक बैठकहरु सरकारी निवास बालुवाटारमा नराख्ने निर्णय गरेका थिए ।

देउवाको सो निर्णयको प्रशंसा भएपनि पार्टीको केन्द्रीय समिति बैठक नै आफ्नो निवासमा गर्नुले सानेमा रहेको कांग्रेसको वीपी स्मृति भवन ओझेलमा परेको छ ।

सानेपामा विभिन्न जिल्लाका नेता कार्यकर्ता क्रियाशील सदस्यता सम्बन्धमा अनसन र धर्नामा रहेकोले बुढानिलकण्ठमा बैठक बस्नुपरेको सभापति निकट नेताहरु बताउँछन् ।

‘सभापतिको इच्छा सानेपामै बैठक गर्ने थियो तर त्यहाँ आन्दोलन जारी रहेकोले तत्कालका लागि बुढानीलकण्ठमै बैठक बस्न लागेको हो । सुरक्षा प्रशासनको सुझावसमेत होला’, देउवानिकट एक नेताले भने ।

दुई बजेपछि बस्ने बैठकमा महाधिवेशन सार्ने विषयमा निर्णय हुने बताइएको छ । केन्द्रीय समिति बैठकअघि सहमति जुटाउन शीर्ष नेताहरु छलफलमा बस्नेछन् ।

याे पनि पढ्नुहाेस्
कांग्रेसमा महाधिवेशन सार्ने सहमति, देउवा भन्छन्- मंसिरमा, पौडेल भन्छन्- असोजमै

यसअघि हिजो बेलुका भदौमै महाधिवेशन सम्भव नभएको निष्कर्षसहित महाधिवेशन सार्न शीर्ष नेताहरु सहमति भएका छन् । सभापति देउवाले कोजाग्रत पूर्णिमा लगत्तै वडा अधिवेशन सुरु गरेर मंसिरमा महाधिवेशन गर्न प्रस्ताव गरेको छ ।

पौडेल पक्षले भने संवैधानिक अवरोध हुनसक्ने भएकोले भदौ २३ भित्रै तल्लो तहको अधिवेशन शुरु गरेर असोजमै महाधिवेशन सक्नुपर्ने अडान राख्दै आएको छ ।

आजको बैठकमा क्रियाशील सदस्यतालाई अन्तिम रुप दिने, निर्वाचन निर्देशिका जारी गर्ने लगायतका विषयमा पनि छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर