पीएसजीमा मेस्सीले ३० नम्बरको जर्सी लगाउने – Nepal Press

पीएसजीमा मेस्सीले ३० नम्बरको जर्सी लगाउने

एजेन्सी । स्पेनी क्लब बार्सिलोनामा रहन असफल भएपछि अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन्सँग कम्तिमा दुई वर्षको सम्झौता गरेका छन् । तेस्रो वर्ष पनि उनले विकल्प प्रयोग गर्न सक्नेछन् ।

जुलाइ १ देखि सम्झौता सकिएका ३४ वर्षीय मेस्सी ला लिगाको आर्थिक नीतिका कारण बार्सिलोनामा रहन असमर्थ भएका थिए । उनले आफ्नो करिअरमा बार्सिलोनाका लागि मात्र खेलेका छन् ।

‘म मेरो करिअरको नयाँ पाटो पेरिसबाट सुरु गर्न उत्साहित छु । यो क्लबको लक्ष्य मेरो उद्देश्यसँग मिलेको छ,’ मेस्सीले भनेका छन्, ‘मलाई थाहा छ यहाँ क्षमतावान खेलाडी र अफिसियलको कमी छैन । उनीहरुसँगै काम गरेर सकारात्मक परिवर्तनका लागि मेरो प्रयास हुनेछ । पेरिसको मैदानमा खेल्नका लागि म हतारिएको छु ।’

पीएसजीका अध्यक्ष नसर अल खेलाइफीले भनेका छन्, ‘मेस्सीले पेरिस सेन्ट जर्मेइनलाई नै रोजेकोमा म धन्य भएको छु । उनी र उनको परिवारलाई पेरिसमा स्वागत छ ।’ उनले मेस्सीको उपस्थितिमा क्लबले इतिहास कायम गर्ने विश्वास व्यक्त गरेका छन् । त्यो भनेको च्याम्पियन्स लिग विजेता हो । पीएजीले अहिलेसम्म हासिल गर्न नसकेको सफलता त्यही हो ।

मेस्सीलाई इतिहासकै सर्वकालीन महान खेलाडीको रुपमा मानिन्छ । १३ वर्षको उमेरमा बार्सिलोना अनुबन्ध भएयता उनले त्यहाँबाट सबै उपलब्धी हासिल गरेका छन् । उनेल ७७८ खेलमा कीर्तिमानी ६७२ गोल गरेका छन् । क्लबका लागि ३५ वटा उपाधि जितेका छन् र कीर्तिमानी ६ पल्ट बेलोन डी’ओरको अवार्ड पाएका छन् ।

यो सिजन फ्रि ट्रान्सफरबाट पीएसजी अनुबन्ध हुने उनी चौथा खेलाडी हुन् । यसअघि नेदरल्याण्ड्सका मिडफिल्डर जर्जिनियो विज्नाल्डम, स्पेनका डिफेण्डर सर्जियो रामोस र इटलीका गोलरक्षक जियानलुगी डोन्नारुम्मा आबद्ध भएका छन् । मोरक्कोका डिफेण्डर अचरफ हाकिमीलाई पनि पीसएजीले इन्टर मिलानबाट यही सिजन किनेको छ ।

मेस्सीले ३० नम्बरको जर्सी लगाउनेछन् । बार्सिलोनामा रहँदा उनले अधिकांश समय १० नम्बर जर्सी लगाएका थिए । पीएसजीमा १० नम्बरको जर्सी ब्राजिलियन सुपरस्टार नेइमारले प्रयोग गरेका छन् । पीएसजीमा इतिहासकै महंगा खेलाडीद्वय नेइमार र केलियन एम्बाप्पेसँगै अग्रपंक्तिमा मेस्सीको स्थान रहनेछ ।

मेस्सीलाई बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी छ । सायद उनले शनिबार स्टार्सवर्गसँगको खेलबाट फ्रेन्च लिग र पीएसजीका लागि डेब्यू गर्नेछन् ।


प्रतिक्रिया

One thought on “पीएसजीमा मेस्सीले ३० नम्बरको जर्सी लगाउने

Leave a Reply to nepali xori Cancel reply

Your email address will not be published. Required fields are marked *