प्रदेश १ मा आएको ९६ हजार कोरोना खोप खोइ ? – Nepal Press

प्रदेश १ मा आएको ९६ हजार कोरोना खोप खोइ ?

विराटनगर । सुनसरीको दुहवी ८ का लंकबहादुर तिवारीले गएको फागुनमा कोभिसिल्डको पहिलो डोज खोप लगाए । ७२ वर्षीय तिवारी दोस्रो डोज खोप लगाउन पाउने आशामा पटक-पटक दुहवीका खोप केन्द्रमा धाए । तर, उनले दोस्रो डोज खोप लाउन पाएनन् । दोस्रो मात्रा आइनपुगेको भन्दै आफू फर्किएको उनले बताए ।

तिवारीजस्तै अहिले प्रदेशमा कोभिसिल्डको पहिलो डोज लगाएका २ लाख ५६ हजार ३ सय ९१ जना ज्येष्ठ नागरिक र फ्रन्टलाइनर दोस्रो डोजको प्रतीक्षामा छन् ।

उनीहरूमध्ये धेरैले पहिलो डोज लगाएको १७ हप्ता हुन लाग्यो । तर, दोस्रो डोज पाउने मिति भन्ने टुंगो छैन ।

कोरोना संक्रमण तीव्र बनिरहँदा प्रदेशमा आएको कोभिसिल्डको ९६ हजार ८ सय ९९ डोज खोप कहाँ गयो भन्ने तथ्यांकमा देखिँदैन ।

प्रदेश १ मा २०७७ माघ २२ गते ९ हजार ६ सय भायल कोभिसिल्डको खोप आएको थियो । फागुन १४ गते ३३ हजार ३ सय भायल र वैशाख ३ गते ३ हजार भायल कोभिसिल्ड प्रदेशमा भित्रिएको देखिन्छ ।

सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांकलाई आधार मान्दा ४५ हजार ९ सय भायल कोभिसिल्ड प्राप्त भएको छ । एक भायलमा १० डोज हुन्छ । यसरी हेर्दा प्रदेशमा १ मा ४ लाख ५९ हजार डोज कोभिसिल्ड भ्याक्सिन आएको छ ।

सामाजिक विकास मन्त्री उषाकला राईको सचिवालयले दिएको तथ्यांक अनुसार प्रदेशमा ३ लाख ९ हजार २ सय ४६ जनाले कोभिडसिल्ड खोप लगाएका छन् । पहिलो र दोस्रो दुवै डोज भने ५२ हजार ८ सय ५५ जनाले मात्र लगाएका छन् ।

यसरी हेर्दा प्रदेशमा कोभिड शिल्डको ३ लाख ६२ हजार १ सय १ डोज खोप खर्च भएको छ ।

मन्त्रालयले दिएको तथ्यांक अनुसार आएको खोप ४ लाख ५९ हजारबाट ३ लाख ६२ हजार १ सय १ डोज खोप घटाउँदा ९६ हजार ८ सय ९९ डोज स्टक देखिन्छ ।

तर, सो खोप मन्त्रालयमा नहुँदा खोप कहाँ गयो भन्ने प्रश्न उब्जिएको छ ।

मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखाले भने शुरूमा आएको खोप प्रदेश २ तिर पनि गएकाले तथ्यांकमा नदेखिएको हुनसक्ने जवाफ दिएको छ । ‘शुरूमा आएको कोभिशिल्डको खोप सिरहा र सप्तरी पनि गएको थियो । तर, यसै भन्न सकिन्न ‘, एक अधिकारीले भने ।

सदनमा मन्त्रीको टालटुले जवाफ

प्रदेश १ को आठौं तथा बजेट अधिवेशनको २४ औं बैठकमा सामाजिक विकास मन्त्री राईले प्रदेशसभा सदस्यहरूले खोपको सन्दर्भमा उठाएको जिज्ञासामा टालटुले जवाफ दिएकी छन् ।

राईले भनिन्, ‘प्रदेश १ मा पहिलोपटक कोभिसिल्डको खोप २०७७ फागुन २ गते आएको हो ।’ सो मितिमा ३९ हजार ३ सय १७ भायल खोप आएको थियो । यसमा ३ लाख ९३ हजार १ सय ७० डोज खोप भएको उनले बताइन् ।

उनले सदनमा ३ लाख ६२ हजार एक सय एक जनाले खोप लगाएको तथ्यांक प्रस्तुत गरिन् तर थप खोप कहिले र कुन मितिमा आयो भन्ने तथ्यांक सार्वजनिक गरिनन् ।

सामाजिक विकास मन्त्री राईका अनुसार २ लाख ५६ हजार ३ सय ९१ जना दोस्रो डोज खोप लगाउन बाँकी छन् । मन्त्री राईले कोभिडिसल्ड लगाएकाहरूलाई दोस्रो डोजका लागि एस्ट्राजेनेकाको तयारी भइरहेको जानकारी दिइन् ।

भेरोसेलको सिंगल डोज !

मन्त्री राईले प्रदेशसभाको वैठकमा भेरोसेलको २ खाले खोप आएको बताइन् । उनका अनुसार भेरोसेलकै सिंगल डोज र डबल डोज आएको छ ।

प्रदेशसभामा राईले भनिन्, ‘भेरोसेल खोप २ प्रकारका छन् सिंगल र डबल डोज वाला । पहिलो चरणमा १ लाख ७८ हजार २ सय भायलल सिंगल डोजको आएको छ ।’

तर भेरोसेलको सिंगल डोज खोप नै नभएको र नआएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता बताउँछन् ।

उनले भने, ‘कसले के भन्यो मलाई थाहा भएन तर भेरोसेलको खोप २ पटक नै लगाउनु पर्छ ।’

मन्त्री राईका अनुसार भेरोसेल दोस्रो चरणको भ्याक्सिन साउन ११ मा आएको थियो । दोस्रो चरणमा १ लाख ६९ हजार ९सय ६० भाईल खोप आएको मन्त्री राईले प्रदेश सभामा बताइन् ।

आएको मध्ये ३ लाख २८ हजार ३ सय २७ जनाले भेरोसेलन लगाएको उनको भनाइ छ । ६६ हजार ३ सय ३९ जनाले भेरोसेलको दोस्रो डोज लगाउन बाँकी छ ।

प्रदेश १ मा साउन ११ गते ४८ हजार भायल जोनसोन एण्ड जोनसोन आएको प्रदेशसभामा जानकारी गराइएको छ । उनले जसबाट २ लाख ४० हजार डोज खोप प्राप्त भएको जानकारी दिइन् ।

यसरी आएका खोपहरू सीधै जिल्लाहरूलाई तोकेर जाने गरेकोले थियो । डीसीसीएमसीमार्फत पालिकामा जाने गरेको मन्त्री राईले बताईन् ।

मन्त्रालयको तथ्यांकमा भेरोसेल

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ मा भेरोसेल खोप जेष्ठ २२ गतेदेखि आएको छ । सो दिन १ लाख ४५ हजार ८ सय डोज आएको देखिन्छ ।

त्यस्तै असार १६ गते ३२ हजार ४ सय डोज खोप आएको छ । त्यस्तै साउन ८ गते १ लाख ६९ हजार ९ सय ६० भायल खोप आएको देखिन्छ ।

आएकोमध्ये ३ लाख २८ हजार ३ सय २३ जनाले पहिलो डोज लगाएका छन् । ६६ हजार ३ सय ३९ जनाले दोस्रो डोज पनि लगाएको मन्त्रालयले जनाएको छ ।

जोनसोन एण्ड जोनसोनको ४८ हजार भायल खोप आएकोमा ६० हजार ९ सय ३ जनाले लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर