चितवनमा उकालो लाग्दै कोरोना, २०-२९ उमेर समूह बढी संक्रमित – Nepal Press

चितवनमा उकालो लाग्दै कोरोना, २०-२९ उमेर समूह बढी संक्रमित

चितवन । निषेधाज्ञा खुकुलो बनाएपछि चितवनमा कोभिड–१९को संक्रमण उकालो लागेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार २ महिना ओरालो लागेको संक्रमण असारदेखि फेरि बढेको छ ।

चितवनमा वैशाख १५ देखि असार १४सम्म पूर्ण लकाडाउन थियो । असार १५ देखि लकडाउनलाई खुकुलो पारिएको थियो । पसल, सार्वजनिक सवारी, होटल, रेष्टुरेण्ट सञ्चालनमा केही खुकुलो व्यवस्था थिए ।

‘ओरालो लागेको संक्रमण फेरी बढेको छ’, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले भने, ‘बैशाख भन्दा पनि बढ्ने अवस्था छ, बढ्दो संक्रमणको चेनलाई तोड्नुपर्छ ।’ भर्चुअल रुपमा गरिएको पत्रकार सम्मेलनमा उनले सक्रिय संक्रमितको संख्या बढ्नु चूनौतिपूर्ण भएको बताए ।

२०७६ चैतमा पहिलो पटक २ जना संक्रमित बनेका थिए । सो वर्ष भदौदेखि उकालो लागेको संक्रमण कार्तिकपछि विस्तारै ओरालो लागेको थियो । गत चैतमा १ सय ३४ जना संक्रमितहुँदा ३ जनाले ज्यान गुमाए ।

वैशाखमा संक्रमण उकालो लागेर ४ हजार १ सय ७७ पुगेको थियो । जेठमा ३ हजार ८ सय ८१ जना, असारमा ३ हजार ४२ जना र यो साउनमा ३ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टी भैसकेको छ ।

चितवनमा हालसम्म २२ हजार ६० जनामा संक्रमण देखिएको छ । जसमध्ये २ हजार ३५४ जना आइसोलेसनमा छन् । १ सय ७६ जना अस्पतालमा र २ हजार १ सय ७० जना होमआइसोलेसनमा छन् ।

चितवनमा हालसम्म ३ सय ५० जनाले ज्यान गुमाइसकेका छन् । यस्तै ४ सय ३९ जनाले उपचारका क्रममा चितवनमा ज्यान गुमाएका छन् । कोभिड संक्रमणका कारण हालसम्म चितवनमा ७ सय ८९ जनाले ज्यान गुमाए । अस्पतालमा ज्यान गुमाउने ७ सय ६१ जना मध्ये ३ सय २२ जना चितवनका हुन् । २८ जनाले होमआइसोलेसनमा ज्यान गुमाए ।

यो वर्षमात्रै चितवनका २ सय ३८ जनाले ज्यान गुमाएका छन् । २० महिनाको तथ्यांक केलाउँदा गत कार्तिकमा सबैभन्दा धेरै संक्रमण देखिएको थियो । सो महिना २ हजार १ सय ५८ जना संक्रमित बनेका थिए, ४४ जनाले ज्यान गुमाएका थिए । चितवनमा असार १५ देखि लकडाउन केही खुकुलो पारिएको थियो । उनले पछिल्लो १४ दिनको तथ्यांकलाई आधार मान्दा संक्रमितको संख्या तीव्र गतीले बढेको भन्दै बेलैमा सर्तकता अपनाउन आग्रह गरे ।

२०–२९ उमेर समूह बढी संक्रमित

चितवनको २० महिनाको तथ्यांक केलाउँदा सबैभन्दा धेरै २० देखि २९ वर्ष उमेर समूहमा संक्रमण देखिएको छ । यो उमेर समूहका ५ हजार ६२ जनामा संक्रमण देखिएको छ । सबै उमेर समूहमा पुरुष बढी संक्रमित देखिएपनि ३० देखि ३९ वर्ष उमेर समूहमा भने धेरै संक्रमित महिला छन् । १९ वर्ष कम उमेर समूहमा संक्रमण कम देखिन्छ ।

तर, कम उमेर समूहमा पहिलो चरणकोभन्दा संक्रमण बढेको तिवारीले बताए । बैशाखदेखि साउन २४ सम्म चितवनमा ७४ हजार १ सय ४३ जनाको पिसिआर तथा एण्टीजेन विधिबाट संक्रमण चेकजाँच गरिएको छ ।

२३ प्रतिशतले पाए खोप

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले चितवनका २३ प्रतिशत जनसंख्याले कोभिड–१९ विरुद्धको खोप लगाएको जानकारी दिएका छन् । उनका अनुसार माघ १३ देखि ५ चरणमा हालसम्म १ लाख १९ हजार ९ सय ६० जनाले खोप लगाइसकेका छन् ।

जसमध्ये पूर्ण खोप लगाउने ७८ हजार ३७ जना छन् । दुबै डोज लगाउने कोभिसिल्डका १३ हजार १ सय ७२ जना, भेरोसेलका २७ हजार ५ सय ६ छन् । जोन्सन लगाउने ३७ हजार ३ सय ५९ जना छन् ।

‘चितवनमा करिब ४ लाख ५० हजार जनालाई खोप लगाउने लक्ष्य छ’, उनले भने, ‘अहिलेसम्म २३ प्रतिशतलाई लगाइसक्यौँ, यो देशभरीमै राम्रो तथ्यांक हो ।’

सिडिओ भन्छन्– भीडभाड रोक्छौँ

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कोभिड रोकथाम गर्ने नयाँ रणनीतिबारे छलफल भैरहेको बताए ।

‘अपेक्षा गरेजस्तो नतिजा आएन, नयाँ रणनीतिबारे छलफल गर्दैछौँ’, उनले भने, ‘भीडभाडजन्य गतिविधि रोक्न केही फरक अभ्यास गर्दैछौँ ।’ उनले केही जिम्मेवार पक्षबाटै भीडभाड गरेर कार्यक्रम, विरोधसभा हुने गरेको भन्दै आगामी दिनमा हुन नदिने प्रतिवद्धता जनाए ।

‘जिम्मेवारपक्षबाट भीडभाडजन्य काम भए, तत्काल रोक्ने प्रयास भएपनि भएन’, उनले भने, ‘अब फेरी नहोस् भनेर उहाँहरुसँग छलफल गर्दैछौँ ।’ चितवनमा सोमबारमात्रै एमाले चितवनले सुकुम्बासीको पक्षमा चौविसकोठीमा विरोध प्रर्दशन गरेको थियो ।

यस्तै एमसीसी खारेजी गर्न भन्दै १२ राजनीतिक दलको समर्थनमा जिल्ला समन्वय समितिकै सभाहलमा अन्र्तक्रिया गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *