गीत समीक्षाः प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’ – Nepal Press

गीत समीक्षाः प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’

प्रकाश सपुतबारे संगीत बजारमा दुईवटा विश्वास स्थापित छन् । पहिलो, उनका हरेक गीत फरक र अनि विशेष हुन्छन् । दोस्रो, उनको नयाँ गीत रिलिज भएपछि ट्रेन्डिङको शीर्षस्थानमा आउनैपर्छ ।

प्रकाशको पछिल्लो सिर्जना ‘कुरा बुझ्नु पर्च’ ले पनि आम संगीतप्रेमीको यस्तो विश्वासलाई मर्न दिएन । एक हप्ताभित्रै ३० लाखभन्दा बढी भ्यूजसहित यो गीत अहिले नेपालमा युट्यूव ट्रेन्डिङको नम्बर एकमा विराजमान छ । साथै, प्रकाशबाट उनका फ्यानहरूले फेरि एकपटक फरक स्वाद र मिठास पाएका छन् ।

आम नेपाली गीत-संगीतको मौजुदा स्तरसँग तुलना गर्दा ‘कुरा बुज्नु पर्च’ लाई अब्बल श्रेणीमा राख्न सकिन्छ । यद्यपि, प्रकाशले संगीत क्षेत्रमा आफ्नै जुन स्टान्डर्ड बनाएका छन्, त्यसका आधारमा चाहिँ यो गीत औसत मात्र हो । योभन्दा उत्कृष्ट गीतहरू उनले विगतमा दिइसकेका छन् । गीत कर्णप्रिय छ, तर ‘बोलमाया’, ‘बदला वरिलै’ ‘यो देश मेरो पनि होइन र ?’ जस्तो विशिष्ट चाहिँ छैन ।

यो गीतमा प्रकाशले आवाज दिएका छैनन् । गीतको शब्द, संगीत र भिडियो अवधारणा एवं निर्देशन उनको हो । भिडियोको अन्त्यमा एक झलक उनी देखिएका छन् ।

चकलेटी स्वरका धनी गायिकाद्वय शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वरमा यो गीत सजिएको छ । उनीहरू दुवैको आवाज खुलेको छ र गीतलाई सुट पनि गरेको छ । दुई गायिकाहरूको स्वरको प्याट्रन उस्तै भएकाले श्रोताले सहजै छुट्याउन सक्दैनन् ।

रचनाको कुरा गर्दा, जनमानसले सहजै टिप्ने र गुन्गुनाउने शब्दमाला निर्माण गर्नु प्रकाशको विशेषता हो । उनी गह्रुंगा खालका सन्देश पनि सरल र ठेट शैलीमा सम्प्रेषण गर्न सक्छन् । यो गीतका शब्दमा पनि उनको त्यही क्षमता प्रकट भएको छ ।

गीत मनोरञ्जनात्मक मात्रै नभएर सन्देशमुलक पनि छ । प्रकाशले गीत र भिडियोमार्फत फरक तरिकाले महिला सशक्तीकरणको वकालत गर्न खोजेका छन्। तर, यसनिम्ति पर्याप्त विषयवस्तु भने उनले पेस गरेका छैनन् । सम्भवतः गीतलाई धेरै गह्रुंगो बनाउन नखोजेको हुन सक्छ । धन-सम्पत्ति भएको भन्दा माया गर्ने श्रीमान् चाहिन्छ भन्ने मुख्य भाव बोकेको छ गीतले ।

गीतका शब्दमा प्रकाशले अझै बढी होमवर्क गर्न सक्थे । जस्तो कि, ‘बुढो उठोस् चिया पकावस् भनोस् उठ डियर’ भन्ने पंतिले विवाहपछि बिहान ढिलोसम्म सुत्नु नै युवतीहरूको ‘अल्टिमेट’ चाहना हो त भन्ने प्रश्न उब्जाउँछ । ‘श्रीमान्‌ले रक्सी खाँदा आफूलाई पनि चखाओस्’ भन्ने पंतिले पनि महिला-पुरुष समान हुन् भन्ने भावलाई प्रतिबिम्बत गर्दैन ।

भिडियो पनि अब्बल

संगीतमामात्रै नभएर भिडियोमा पनि प्रकाशले आफ्नो सिर्जनशीलताको भरपुर प्रयोग गरेका छन् । गीतको भिडियोमा कथा भन्ने शैलीलाई यसमा पनि उनले निरन्तरता दिएका छन् ।

कतिपय त्रुटीहरू नभएका होइनन् । जस्तो कि यो गाउँका युवतीहरूको कथा हो कि सहरका भन्नेमा विरोधाभास देखिन्छ । आँचलले आफूलाई आँखा झिम्क्याउने केटाको सुरुवाल तानिदिएको दृष्य रमाइलो त छ, तर अर्थपूर्ण छैन ।

यस्तै, आफूलाई माग्न आउने केटालाई आँचलले प्रदीप खड्काको तस्वीर देखाउनु र थप्पड हानेर हिँड्नुको कारण खुल्दैन । बरु अन्तिममा मिन्स भएकी गर्लफ्रेन्डका लागि व्वाइफ्रेन्डले प्याड ल्याइदिएको दृष्यले धेरै युवतीलाई मन पर्न सक्छ ।

आँचल शर्मा र स्वस्तिमा खड्काको चटपटे जोडी भिडियोमा खुब जमेको छ । जवानीले भरिएका चञ्चल र आत्मविश्वासी युवतीको भूमिका उनीहरू खुलेका छन् । डान्समा पनि उनीहरूको ट्युनिङ मिलेको छ ।

समग्रमा प्रकाश सपुतले अर्को एउटा लोकप्रिय सिर्जना पस्केका छन् । आगामी केही दिनसम्म यो गीतका भाकाहरू टीकटकमा छाउने त छन् नै अब आउने तिजमा पनि यो गीतले राम्रै वर्चश्व कायम गर्ने आशा राख्न सकिन्छ ।


प्रतिक्रिया

One thought on “गीत समीक्षाः प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’

Leave a Reply

Your email address will not be published. Required fields are marked *